ताजा अपडेट »

गण्डकी विश्वविद्यालय आफैले प्राविधिक औजार बनाउने, आविष्कार केन्द्रसँग सम्झौता

आइतबार, २० चैत्र २०७८, १२ : ४६
6 Shares

पोखरा । गण्डकी विश्वविद्यालयले इनोभेसन सेन्टर सन्चालन गर्ने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेर उपकरण र औजार उत्पादनको तयारी थालेको हो । यसका लागि आविष्कार केन्द्रसँग सम्झौता गरिसकेकाे छ । विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

केही समयभित्रै ६ थरीका औजार उत्पादन गर्न लागेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका राजिष्ट्रार डा. कैलाश तिमिल्सीनाका अनुसार इनोभेसन सेन्टरको भवन निर्माण भैसकेको छ । ‘साढे दुई करोडका सामान ल्याइसक्यौं । धेरै औजार खरिद प्रक्रियामा छन्,’ उनले भने, ‘हाम्रो जोड आविष्कारमा हो । पढाईसँगै प्रविधिसँग हिडाउने विश्वविद्यालयको प्रयास छ ।’ ७० वटा औजार खरिद प्रक्रियामा रहेको उनले बताए ।

गण्डकी आफैले बिजुलीबाट बाल्ने चुलो, अलैंची सुकाउने उपकरण, हाइब्रिड ह्याचिङ मेसिन, धान झाँट्ने मेसिन, कोदो झार्ने र छुट्याउने मेसिन उत्पादन गर्न लागिएको छ । प्रदेशको आवश्यकता अनुसारका उपकरण निर्माण गर्न लागिएको उनले बताए । गण्डकी विश्वविद्यालयले कोदोको रक्सी ब्राण्डिङ गर्ने तयारी साथ अनुसन्धान गरिरहेको छ ।

अहिले विश्वविद्यालयबाट नेपालमै पहिलो पटक स्पोर्टस म्यानेजमेण्टसहित, फार्मेसी र आइटीको पढाई सुरु भएको छ । बीबीए र बीएएलएलबीको कार्यक्रम सुरु गर्न लागिएको कुलपति गुरुङले बताए । नेपालमै पहिलो पटक प्रदेश सरकारले विश्वविद्यालय सन्चालन गरेको हो । छिटै मेडिकल कलेज सन्चालनमा ल्याउन लागिएको गुरुङको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।