ताजा अपडेट »

रुपन्देहीका साढे २ लाख बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

शनिबार, १९ चैत्र २०७८, १७ : ३७
18 Shares

बुटवल । टाइफाइड रोग विरुद्ध यही चैत २२ गतेदेखि देशभर खोप अभियान सञ्चालन हुने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुको लागि खोप अभियान सञ्चालन हुने भएको हो ।

यसैबीच रुपन्देहीमा चैत २२ गतेदेखि २७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए । जिल्लामा २ लाख ६६ हजार ५१८ बालबालिकाहरु रहेका छन् । उनीहरुका लागि ९६६ खोपकेन्द्रबाट अभियान सञ्चालन गरिने भएको हो । उक्त अभियान सञ्चालनका लागि १ हजार ३३३ स्वास्थ्यकर्मी, ९६६ शिक्षक, ९६६ शिक्षिका, १५८ जना सुपरिवेक्षक, ११ जना जिल्ला सुपरिवेक्षक तथा ६ वटा सहयोग संघसंस्था रहेका छन् ।

बालबालिका लक्षित खोप अभियान भएका कारण अधिकांश खोप कन्द्रहरु विद्यालयमा सञ्चालन गरिने छ भने अपाई पर्ने तथा अन्यत्र खोप केन्द्र भएका ठाउँमा सोही अनुसार खोप अभियान सञ्चालन गरिने खोप अधिकृत शर्माले जानकारी दिए ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीका अनुसार लुम्बिनी प्रदेशका अन्य जिल्लाहरु कपिलवस्तु र नवलपारसीमा चैत २२ गतेदेखि तथा दाङ, बाँके र बर्दिया, पाल्पा र रोल्पामा चैत २३ गतेदेखि खोप अभियान सञ्चालन हुने छ । यसैगरी रुकुम पूर्व, अर्घाखाँची र प्यूठानमा चैत २५ गतेदेखि खोप अभियान सञ्चालन हुने छ । देशभर चैत २२ गतेदेखि खोप अभियान सञ्चालन गर्ने भनिए पनि विद्यार्थीहरुको वार्षिक परीक्षा सञ्चालन भइरहेका कारण सम्बन्धित जिल्लाहरुको सहजता अनुसार फरक–फरक मितिमा अभियान सञ्चालन गरिने भएको निर्देशक चौधरीले जानकारी दिए ।

दिसा मिसिएको, दुषित पानी तथा खानाका कारण लाग्ने टाइफाइड रोगबाट बच्नका लागि नेपालमा पहिलो पटक खोप सञ्चालन गर्न लागिएको हो । भारतको वायोलोजिकल ई. लिमिटेडले उत्पादन गरेको यो खोपसँगै बालबालिकाहरुमा टाइफाइड हुने सम्भावना ९६ दशमलव ९५ प्रतिशतले कमी हुने विश्व स्वास्थ्यसंगठनको अनुसन्धानले देखाएको छ । नेपालमा टाइफाइड विरुद्धको खोप पहिलो पटक प्रयोगमा ल्याउन लागिएका कारण जनताहरुलाई यस बारे जानकारी गराउने काम भैरहेको निर्देशक चौधरीले बताए ।

यसैगरी खोप अभियान सञ्चालन गर्दा सम्भावित दुर्घटनालाई मध्यनजर गरी प्रत्येक खोप केन्द्रका प्रमुख, स्वास्थ्य केन्द्रका प्रमुखलाई आवश्यक तयारीमा राख्नुका साथै सम्बन्धित जिल्ला तथा प्रादेशिक अस्पतालहरुमा विशेषज्ञहरुको टोली तयारी अवस्थामा रहेको उनले बताए । टाइफाइडका कारण अन्य उमेर समूहभन्दा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरु धेरै प्रभावित भएका कारण सोही अनुसार खोप अभियान सञ्चालन गर्न लागिएको उनले बताए ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार हरेक एक लाख संक्रमित मध्ये १० हजार ६२ जनाको मृत्यु हुने गरेको छ भने बालबालिकाहरुको हकमा यो दर अझ बढी रहेको छ । बालबालिकाहरुमा संक्रमणको सम्भावना समेत ११ गुण बढी हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ । हरेक १५ महिनामा लगाइने खोपले टाइफाड संक्रमण कम गर्न सक्ने विज्ञहरुको भनाई रहेको छ ।

उच्च ज्वरो आउने, रातो हुने, पसिना आउने, टाउको/जीउ दुख्ने, जिब्रोमा हल्का सेतो देखिने, शरिरमा विविरा आउने लगायतका लक्षणहरु यस रोगमा पाइने गर्दछ । विश्वमा हरेक वर्ष २ लाख जन संख्या टाइफाइडको संक्रमणमा पर्ने गरेका छन् भने १ लाख ६१ हजारको उक्त रोगका कारण मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसैगरी नेपालमा पहिलो ५ वर्षको तथ्याङ्क अनुसार सो अवधिमा ४ लाख ५० हजार संक्रमित हुने गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।