ताजा अपडेट »

‘जौ खोलाको पानी थोर्गेलीले खानी,यति राम्रो गाउँ छाडी कहाँ जानी’

शनिबार, १९ चैत्र २०७८, ११ : २१
6 Shares


गुल्मी । बुढापाका हरु थोर्गा गाउँमा पानीको दुःख सम्झेर लामो सास फेर्छन् । तिनै थोर्गेली जनतालाई आधुनिक धारोको पानी खुवाउने यो क्षेत्रकै सामाजिक व्यक्तित्व रुपमा पहिलो व्यक्ति गोकर्ण राज शास्त्री र पछिल्लो चरणमा एक घर एक धाराको अवधारणा सहित घरघरमा पानी पुर्याउनेमा एमाले नेता तथा लुम्बिनी प्रदेश सांसद कमल राज श्रेष्ठको योगदानलाई सम्झिनै पर्ने हुन्छ ।

‘विक्रम सम्वत २०२२ साल अघि थोर्गा गाउँको पानी टंकीदेखि च्यूरेकसम्म पानीको सार्है दुःख थियो । गाउँका पँधेरा हरुमा बिहानै देखि गाग्री बोकेर पानी लिन जाने पँधेर्नीको भिड हुन्थ्यो । बस्तुभाउका लागि त गाउँका बीच–बीचमा वर्षाको पानी संलने पोखरी थिए। तर, मान्छेका लागि त पँधेरै सहारा थियो ।पानीको सार्है दुःख थियो । बाबै बिहानै पँधेरो, साँझै पँधेरो ।’ रुरुक्षेत्र ३ गौतमटोलका ज्ञानराज गौतमले भने

विक्रम सम्वत २०२२ देखि काम शुरु गरेर २०२५ सालमा यस क्षेत्रका सांसद समेत रहेका गोकर्ण राज शास्त्रीको पहलमा खानेपानी आएपछि थोर्गेली जनतामा खुशकिो बहार आयो । पानी आएपछि थोर्गेलीहरुका लागि ठूलो उत्सव बन्यो । बलेटक्सारदेखि तलको मुलको पानीलाई करिब पाँच किलोमिटर वर पानीटँकीमा ल्याईयो र थोर्गा गाउँको कमेरडाँडादेखि कालथापेसम्म करिब डेढ दर्जन धारा जडान भए ।धारामा पालो लगाएर पानी भर्न थालियो । यो थोर्गामा विकासको एउटा पहिलो पाइलो थियो र यसको श्रेय गोकर्ण राज शास्त्रीलाई छ ।

लामो समय थोर्गेली जनताहरुले यहि पानीको प्रयोग गरे । पछि च्यूरेक क्षेत्रमा जनैढुँगा खानेपानी योजना फिनिडाले सन्चालन गरेपछि उपल्लो पानी थानपती र च्यूरेकको बोर्डर स्यालपोखरीसम्म आयो । समय बग्दै जाँदा पानीलिन गाउँका धारासम्म पुग्न पनि अप्ठेरो हुनथाल्यो र एकघर एकधाराको अवधारणा आयो ।

पछिल्लो चरणमा क्षेत्रका अभिभावक समेत रहेका सांसद कमल राज श्रेष्ठको विशेष निकाशा भएको रकमबाट यो आयोजना द्रुत गतिमा अगाडि मात्र बढेन सम्पन्न समेत उनकै अभिभावत्वमा भएर यतिबेला थोर्गेली जनताको घर–घरमा धारा खसेका छन् ।

जौखोलाको शिर जनैढुँगाबाट मरुङसम्म डवल लिफ्टिङबाट मरुङमा एकलाख लिटर , कोटमा २ लाख लिटर र माझ गाउँमा एकलाख लिटरका टँकी निर्माण गरि थोर्गा खानेपानी आयोजनाले थोर्गा गाउँमा चारसय घरमा एकघर एकधाराको माध्यमबाट दुईलाख लिटर पानी बितरण गरेको खानेपानीका प्राविधिक कर्मचारी मधु घिमिरेले बताए ।

पुनः लुम्बिनी प्रदेश विशेषाधिकार समितिका सभापति समेत रहेका प्रदेश सांसद कमल राज श्रेष्ठले व्यवस्था गर्नु भएको करिब चालिस लाखको लागतमा रुरुक्षेत्र ३ को चाउकेमा फिल्टरिङ सिस्टम जडान गरि स्वच्छ खानेपानी वितरण भइरहेको छ । अत्याधुनिक मोबाइल प्रणालीबाट सन्चालन हुँदै आएको यो आयोजनामा तीन जना कर्मचारी कार्यरत छन् ।

हरेक घरबाट मासिक तीन सयका दरले पानीको शुल्क संकलन गरिएपनि महङ्गो प्रणाली भएकै कारण विद्युत र अन्य सञ्चालन लागत धान्न गार्हो देखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।