ताजा अपडेट »

बुटवलमा जारी १६औँ मनमोहन स्मृति फुटबल : आजदेखि सेमिफाइनलका खेल

शुक्रबार, १८ चैत्र २०७८, ०९ : ०३
2 Shares

बुटवल । बुटवलमा जारी १६औँ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता-२०७८ मा सेमीफाइनल खेल खेल्न अन्तिम चार टिमको टुंगो लागेको छ । बिहीबार भएको अन्तिम क्वाटरफाइनलमा वडा नम्बर ८ ले वडा नम्बर १९ माथि १-० गोल अन्तरको जित निकालेको हो ।

बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा सिद्धेश्वर खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा वडा नम्बर ८ को जितमा मनोज गुरुङले खेलको १२औँ मिनेटमा एक मात्र गोल गरेका थिए । खेलमा वडा नम्बर १९ का सरोज गलामी म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको उपाधि विजेताले नगद ६० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष सुदर्शन खाम्चाले बताए । युवालाई खेलमार्फत भातृत्व विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरेको प्रचारप्रसार संयोजक गणेश बोहराले बताए ।

शुक्रबार पहिलो सेमीफाइनल खेल वडा नम्बर ११ र १७ का बीचमा हुने छ भने शनिबार दोस्रो सेमीफाइनलमा वडा नम्बर ८ ले वडा नम्बर ७ को सामना गर्ने उनले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।