ताजा अपडेट »

४ हजार सैन्य पदका लागि दरखास्त खुल्यो, खुलामै २०९८ सिट

विहीबार, १७ चैत्र २०७८, ०८ : ३६

काठमाडौं । जंगी अड्डाले ठूलो संख्यामा सैन्य पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

जंगीअड्डा भर्ना छनोट निर्देशनालयले बिहीबार सार्वजनिक सूचना जारी गरेर सैन्य पदको ४ हजार सिटका लागि दरखास्त आह्वान गरेको हो ।

खुलातर्फ २ हजार ९८ सिट छ भने समावेशीतर्फ महिला, आदिवासी/जनजाती, मधेसी, दलित र पिछडिएको क्षेत्रलाई छुट्टै कोटा छ । जसअनुसार  महिलामा ३५८, आदिवासी/जनजातीमा ५७२, मधेसीमा ५०५, दलितमा २७२ र पिछडिएको क्षेत्रका लागि ८५ सिट कायम गरिएकाे छ ।

त्यस्तै, ४ हजारमध्ये ११० सिट सैनिकका सन्ततिका लागि सुरक्षित गरिएको छ । कर्तव्य पालनको सिलसिलमा अशक्त/मृत्यु भएका नेपाली सैनिकका सन्ततिले उक्त कोटामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

कक्षा ८ उत्तीर्ण भएका तथा १८ वर्ष पूरा गरी २२ वर्ष ननाघेका (बहालवाला उम्मेदवारको हकमा २६ वर्ष ननाघेका) उम्मेदवारले १६ वैशाखभित्र दरखास्त दिनुपर्नेछ । दोब्बर दस्तुर तिरेर २३ वैशाखसम्म दरखास्त दिन सकिने व्यवस्था कायम गरिएको छ ।

सैन्य पदका लागि शारिरीक योग्यता पनि कायम छ । पुरुषको हकमा उचाइ न्यूनतम ५ फिट ३ इन्च हुनुपर्नेछ भने छाती नफुलाइ ३२ र फुलाउँदा ३४ इन्च हुनुपर्नेछ । त्यस्तै, तौल कम्तीमा ५० केजी हुनुपर्नेछ ।

महिलाको हकमा उचाइ ५ फिट कायम गरिएको छ भने तौल न्यूनतम ४० केजी हुनुपर्ने छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।