ताजा अपडेट »

विवाह गर्न गएका पुरुषलाई बलात्कारको आरोप, युवती जेल चलान

बुधबार, १६ चैत्र २०७८, २२ : १४
4 Shares

अछाम । बलात्कारको झुटो आरोप लगाउने कमलबजार नगरपालिकाका एक युवतीलाई अदालतले जेल चलानको फैसला सुनाएको छ । 

कमलबजार नगरपालिकाकी १९ वर्षीया युवतीलाई साढे तीनवर्षको जेल सजाय तोकिएको हो । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलासले सो फैसला गरेको थियो ।

बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय नन्दराम खनाललाई सफाइ दिएर अदालतले युवतीलाई कारागार पठाउने फैसला गरेको हो ।

युवकले तत्काल विवाह नगर्ने भनेपछिआवेगमा युवतीले बलात्कारको उजुरी दिएर फसाउन खोजेको बताइएको छ । तर, झुटो आरोप लगाएको पुष्टि भएपछि युवतीलाई अदालतले कैद फैसला गरेको बताइएको छ ।

ती युवतीले नन्दरामले माघ १५ गते राति आफ्नै घरमा बलात्कार गरेको भन्दै माघ १७ गते प्रहरीमा उजुरी दिएकी थिइन् । नन्दराम ती युवतीलाई विवाहका लागि माग्न गएका थिए ।

झुटा मुद्दामा फसाउने प्रयत्न गरेवापत मुलुकी फौजलारी कार्यविधि संहिता २०७४ दफा २१९ अनुसार तीन वर्ष छ महिना कैद हुने ठहर गरेको छ । नन्दरामलाई प्रहरीले कमलबजार नगरपालिका–६ गैरीटाँड बजारबाट माघ १८ गते पक्राउ गरेको थियो ।-कल्पना बोहरा/न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।