ताजा अपडेट »

गौतमबुद्ध विमानस्थलमा बाैद्ध धर्मावलम्बी बाहुल्य देशबाट उडानकाे चासाे, धार्मिक पर्यटक बढ्ने

सोमबार, १४ चैत्र २०७८, १७ : १७
4 Shares

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि नेपालमा धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुनसक्ने देखिएको छ । बौद्धधर्म मान्ने देशहरुबाट उक्त विमानस्थलमा सिधा उडान गर्ने चासो बढेसँगै लुम्बिनी क्षेत्रमा धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने व्यवसायीहरुले जनाएका छन् ।

हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं र नेपाल भारत सीमा सुनौली नाका हुँदै लुम्विनी क्षेत्रका लागि धार्मिक पर्यटक नेपाल प्रवेश हुँदै आएको थियो । तर सिङ्गापुर, मलेसिया, थाइल्याल्ड, श्रीलङ्का, माल्दिभ्स, बर्मालगायतका देशबाट विमानस्थलमा सिधा उडान गर्ने इच्छा देखाएसँगै पर्यटकको सङ्ख्यामा वृद्धि हुने भएको पर्यटन व्यवसायी टीकाराम गुरुङले बताए। हिजोको अवस्थाभन्दा जहाजको सिधा उडानपछि बौद्धधर्मावलम्बी रहेको देश र अन्य देशबाट गरी ३० प्रतिशतभन्दा बढीले पर्यटकको सङ्ख्यामा वृद्धि हुनसक्ने उनले बताए ।

कोरोना भाइरस ९कोभिड–१९० महामारीले प्रभावित बनेको पर्यटन क्षेत्रसँगै धार्मिक पर्यटन क्षेत्रमा पनि प्रभाव पारेको छ । अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२२ जनवरीमा गत वर्षको तुलनामा धार्मिक पर्यटक दोब्बरले कमी आएको छ । लुम्बिनीको दर्शनमा आउने बुद्ध धर्मावलम्बी रहेको देशबाट गतवर्षको जनवरीमा दुई हजार १६७ रहे पनि यस वर्षको जनवरीमा भने एक हजार २२७ जना मात्र आगमन भएको छ ।

हाल कुवेतको जजिरा एयरलाइन्सले गौतमबुद्ध विमान स्थलमा उडान गर्न अनुमति माग गरेको र बाँकी वायुसेवा कम्पनीहरु अध्ययनको क्रममा रहेकाले सार्क मुलुक र एसियाली मुलुकबाट उडानका प्रस्तावहरु आउने तयारी भएको बुझिएको नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिए । उडान सेवा विस्तारसँगै पर्यटन प्रवर्धन हुने तर होटल लगायतका अन्य व्यवस्थापनमा समेत राज्यले तयारी शुरु गर्नु जरुरी भएको उहाँको सुझाव छ । हाल लुम्बिनी क्षेत्रमा भारतीय पर्यटक, तेस्रो मुलुकका पर्यटक र धार्मिक पर्यटक आउने गरेका छन् ।
यता लुम्बिनी क्षेत्रमा १४६ वटा होटल रहेको र पाँच हजार पर्यटक अटाउन सक्ने क्षमता रहेको होटल एसोसिएसन नेपाल भैरहवा शाखाका अध्यक्ष सिपी श्रेष्ठले जानकारी दिए । पर्यटन प्रवर्धनसँगै होटल एसोसिएसनले दुई वर्षभित्र तीन हजार पाँच सय कोठा विस्तार गरी सात हजार पर्यटक अटाउने गरी तयारी शुरु गरेको समेत उनले जानकारी दिए । सरकारले विमानस्थल निर्माणसँगै थप सार्क मुलुक र अन्य देशमा सिधा उडानका लागि पहल गरी प्रवर्धनात्मक काम अघि बढाउनुपर्ने उनको सुझाव छ ।
अध्यागमन विभागको तथ्याङ्क अनुसार पछिल्लो दुई वर्ष यता लुम्बिनी क्षेत्रको दर्शनमा आउने धार्मिक पर्यटक आगमन न्यून छ । सन् २०२२ जनवरीमा गत वर्षको तुलनामा दोब्बरले पर्यटकको सङ्ख्या वृद्धि भए पनि धार्मिक पर्यटकको सङ्ख्या भने वृद्धि हुनसकेको थिएन । मुख्य गरी बुद्धजन्मस्थल लुम्विनी आउने भूटान, श्रीलङ्का, म्यानमार, जापन, मलेसिया, सिङ्गापुर, ताइवान, साउथकोरिया, थाङल्याण्ड लगायतका देशबाट आउने पर्यटकको सङ्ख्या करिब शून्य जस्तै भएको तथ्याङ्कले देखाएको छ । प्रभावकारी प्रचारप्रसारको अभाव र आकर्षक प्याकेजका कार्यक्रम गर्न नसक्दा ती देशबाट पर्यटकको आगमन हुन नसकेको पर्यटन व्यवसायी वाङछु शेर्पाले बताए तर सिधा उडान शुचारु भएसँगै पर्यटक सङ्ख्यामा वृद्धि हुन सक्ने उनी बताउँछन्। लुम्बिनी क्षेत्रमा पर्यटक आगमनका लागि प्रशस्त सम्भावना रहेकाले प्रभावकारी कार्यक्रमहरु ल्याउनुपर्ने उनको सुझाव छ ।

वार्षिक रुपमा धार्मिक तीर्थालु पर्यटक आगमनमा कमी आएपछि लुम्बिनी विकास कोषले ट्राभल मार्ट सञ्चालन लगायतका प्रचारप्रसारका कार्यक्रमलाई तीव्रता दिएको कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए । कोभिड सङ्क्रमणमा कमी आएसँगै कोषले पनि नयाँ योजना तय गरेर पर्यटक आगमनलाई सुधार गर्ने तयारीमा जुटेको शाक्यले बताउनुभयो । बुद्धधर्म मान्ने सार्क राष्ट्र अन्तर्गत रहेका देश र एसियाका देशबाट एक प्रतिशतसम्म पनि पर्यटक आगमन हुनसकेको छैन । तथ्याङ्क अनुसार भारत पछि अमेरिका र बेलायतबाट नेपाल आउने पर्यटकको सङ्ख्या बढी छ ।-छेटु शेर्पा /गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।