ताजा अपडेट »

राष्ट्रपतिको कार्यक्रम कांग्रेसी जनप्रतिनिधिद्वारा बहिष्कार

सोमबार, १४ चैत्र २०७८, १५ : ०३
4 Shares

पाेखरा । पाेखरा महानगरपालिकाले आयाेजना गरेकाे न्यायिक समितिकाे राष्ट्रिय सम्मेलनलाई पोखराका कांग्रेस जनप्रतिनिधिले बहिष्कार गरेका छन् । कार्यक्रमका लागि आफूहरुसँग समन्वय नगरेको र चुनावको बेला ‘स्वार्थपुर्ण’ तरिकाले कार्यक्रम गरिएको भन्दै उनीहरूले बहिष्कार गरेका हुन् ।

पोखरा महानगर वडा नम्बर ९ का कांग्रेसबाट विजयी वडाध्यक्ष रामराज लामिछानेले सम्मेलन पहिल्यै गर्नुपर्ने भए पनि हाल आएर स्वार्थ पूर्तिका लागि आयोजना गरिएको आरोप लगाए ।

कांग्रेस जनप्रतिनिधिको दलको नेतासमेत रहेका उनले भने, ‘न्यायिक समितिमा समेत कांग्रेसलाई सहभागी गरिएको छैन । त्यसमाथि अहिले गरिएको कार्यक्रमका लागि गठन गरिएका समितिमा पनि सहभागी गराइएको छैन ।’

न्यायिक सम्मेलन एमालेको चुनावी ‘फण्डा’मात्र भएको आरोप लगाउँदै उनले अगाडि भने, ‘यो कार्यक्रम पहिल्यै हुनुपर्थ्यो । अहिले आएर गरिनु चुनावी फण्डामात्र हो ।’

पोखरा महानगरमा कांग्रेसका ११ वडाध्यक्षसहित कुल ४७ जनप्रतिनिधि छन् । सम्मेलनमा न्यायिक समितिको घोषणापत्रसमेत जारी गर्ने तयारी छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।