ताजा अपडेट »

तिलोत्तमा प्रिमियर लिग : उपाधि पक्का गर्ने दाउमा मणिग्राम किङ्स, हिडन र भिएक्सएलले दिए साथ

सोमबार, १४ चैत्र २०७८, १२ : ३१
30 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा यही चैत्र १७ गतेदेखि आयोजना हुने चौथो संस्करणको सर्वोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगका लागि सहभागी हुने समूहहरुले तयारीलाई तिब्रता दिएका छन् । यसै बीच गत संस्करणको उपविजेता मणिग्राम किङ्सले यस सिजनमा उपाधि हात पार्ने लक्ष्यसहित तयारी थालिरहेको टिमका सञ्चालक कृष्ण भुसालले बताएका छन् ।

टिमको तयारी स्वरुप प्रायोजकहरुसँग समन्वय गर्ने खेलाडीहरुलाई बन्दसत्रमा सहभागी गराउने लगायतका तयारीहरु भैरहेको भुसालले बताए । मुख्य प्रायोजकको रुपमा रहेको हिडन प्यालेशले टिमलाई यसपटक साथ दिने भएको छ । गत वर्षको प्रदर्शन र यस पटक टिममा भएको परिवर्तन र सम्भावनालाई देखेर नै मणिग्राम किंसलाई लगानी गर्त तयार भएको प्यालेशका निर्देशक आभुषण खनालले बताए । सम्पूर्ण खेलाडीहरुलाई खान बस्न लगायत अन्य फाइनान्सियल सपोर्ट समेत गर्दै आएको हिडनले यो वर्षको प्रदर्शन आफूहरुले अपेक्षा गरे अनुसार नै हुने दाबी गरेका छन् ।

टिममा को–स्पोन्सरका रुपमा रहेको भिएक्सएल माइग्रेशन एण्ड एजुकेशन कन्सल्टेन्टका इन्टरनेशनल हेड भरत तिमिल्सिनाले राष्ट्रिय टोलीमा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीहरुको उल्लेख्य सहभागीता देखिएकाले टिमले सुखद नतिजा निकाल्ने बताए । सम्भावनालाई देखेर नै आफूहरुले लगानी गर्न तयार भएको उल्लेख गरे ।

लुम्बिनी प्रदेशका क्याप्टेन कृष्ण कार्कीले नेतृत्व गरेको मणिग्राम किंसमा राष्ट्रिय क्रिकेट टोलीमा हालै मात्र डेब्यु गरेका देव खनाल, यसअघि नै राष्ट्रिय टोलिमा सहभागी भएका अनिल शाह लगायतका युवा खेलाडीहरु रहेका छन् । केही दिन अघि राष्ट्रिय टोलीमा डेब्यु गरेका खनालले हालै काठमाण्डौंमा सम्पन्न पपुवा न्युगिनी र नेपाल बीचको एक दिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छन् । पपुवान्युगिनीसँग भएको २ खेल मध्ये पहिलोमा शुन्य अंकमै रहेका उनले दोस्रो खेलमा भने आफूलाई सुधार गर्दै उत्कृष्ट ब्याटिङ प्रस्तुत गरेका थिए । उक्त खेलमा उनले ८६ बलको सामना गर्दै ७२ रनको योगदान गर्न सफल भएका थिए । देव र अनिल टिमका लागि भरपर्दो ब्याट्सम्यानका रुपमा लिइएको क्याप्टेज कृष्ण कार्कीले बताए ।

यसैगरी टिममा सहभागी अलराउण्डर खेलाडीहरु लुम्बिनी प्रदेशका उप कप्तान समेत रहेका सौरब खनाल, अनिल खरेल, अमर सिं राउटेला, इसान पाण्डे र प्रज्वल शाहीले टिमलाई जिताउनका लागि महत्वपूर्ण योगदान गर्न सक्ने उनले बताए । टिममा ब्याटिङका साथै बलिङ पक्ष पनि उत्कृष्ट नै रहेको क्याप्टेन कृष्ण बताउँछन् । भरपर्दो बलरका रुपमा रहेका विष्णु कटेरिया, यमबहादुर क्षेत्री र कृष्ण पराजुलीले विपक्षीलाई राम्रैसँग विट सक्ने उनको अपेक्षा छ । पछिल्लो क्रममा रहेका मौसम ढकाल, लक्ष्मण कुमाल, निर्मल गुरुङको खेल पनि राम्रो रहेका कारण थप जितको आशा रहेको उनले बताए । टिमलाई श्री गौराङ्ग इजिवे ट्रायल सेन्टर मणिग्राम र एसियन होटेल भैरहवाको समेत साथ रहेको छ ।

प्रतियोगिता स्थानीय तथा राष्ट्रिय टिममा सहभागी खेलाडीहरु बीचको बलियो संयोजना भएका कारण उपाधि लक्ष्य हासिल गर्न सहज हुने टिमका म्यानेजर विष्णु भुसालले बताउँछिन् । ‘लुम्बिनी प्रदेशका क्याप्टेन र उप क्याप्टेनहरु नै आफ्नो टोलीमा भएका कारण उनीहरुले यस क्षेत्रका सबै खेलाडीहरुको विशेषतालाई नजिकबाट जानकार छन् ।’-भुसालले भनिन् ‘विपक्षी खेलाडीहरुको विशेषतालाई हेरर रणनीति बनाउन हामीलाई सहज हुने छ । त्यसको भरपुर फाइदा लिने प्रयासमा हामी हुने छौं ।’ मणिग्राम किंसप्रति दर्शकहरुको पनि उत्तिकै साथ रहेका कारण खेलाडीलाई थप हौसला मिल्ने उनले बताइन् ।

प्रतियाेगिता बारे जानकारी गराउन आयाेजित पत्रकार सम्मेलन

कोरोना महामारीका कारण गत फागुन ८ गतेदेखि शुरु गर्ने भनिएको टिपिएल प्रतियोगिता स्थगित भई चैत्र १७ गतेबाट सुरु हुन लागेको हो । लिगमा लुम्बिनी प्रदेशका ८ वटा क्लबहरु बीच प्रतिस्पर्धा हुने आयोजक तिलोत्तमा क्रिकेट विकास समितिले जनाएको छ । तिलोत्तमा नगरपालिकाको संरक्षकत्व तथा सर्वोत्तम सिमेन्टको मुख्य प्रयोजनमा हुने प्रतियोगिताको उपाधि विजेताले नगद ४ लाख, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेता टिम नगद २ लाख, शिल्ड, प्रमाणपत्रबाट पुरस्कृत हुने छ ।

तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष दिपक भुर्तेलले स्थानीय खेलाडीहरुको पहिचान र प्रोत्साहनमा सहयोग गर्ने अपेक्षासहित लिग सञ्चालन हुँदे आएको बताउँछन् । प्रतियोगितामा म्यान अफ दी सिरिजलाई २० हजार रुपैयाँ नगद र कप, उत्कृष्ट ब्याट्समेन, बलरलाई जनही १० हजार रुपैयाँ, इमर्जिङ प्लेयरलाई ५ हजार रुपैयाँ तथा टिम फेयर प्ले अवार्ड नगद ४० हजार रुपैया प्रदान गरिने भएको छ । साथै प्रत्येक खेलमा म्यान अफ दी म्याचलाई १ हजार ५ सय रुपैया र कपबाट पुरस्कृत हुने छन् ।

राष्ट्रिय तथा स्थानीय खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा प्रत्येक टिमले अक्सनबाट ५ जनासम्म राष्ट्रिय खेलाडी सहभागी गराउन पाने छन् भने एक जना अनिवार्य रुपमा स्थानीय स्तरका, कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई सहभागी गराउनु पर्ने नियम छ ।
तिलोत्तमास्थित नवजिवन खेलमैदानमा हुने प्रतियोगितामा मणिग्राम किङ्स सहित ज्ञानोदय गोल्ड, रोयल शंकरनगर, जोभी वारियर्स, भैरहवा सुपर ११, भैरहवा बुल्स, बुटवल होराइजन, आरसी भैरहवा गरि ८ टिम उपाधि भिडन्तमा हुने छन् । गत संस्करणमा ज्ञानोदय गोल्डले उपाधि हात पारेकाे थियाे ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।