ताजा अपडेट »

यी हुन् एमालेको पहिलो स्थायी कमिटी बैठकका निर्णयहरू

आइतबार, १३ चैत्र २०७८, १८ : ०३
2 Shares

काठमाडौं । नेकपा एमालेको १०औंं महाधिवेशनपछि पहिलो पटक स्थायी कमिटी बैठक बसेको छ । आइतबार बसेको बैठकले यसअघि केन्द्रीय कमिटीले गरेको ११ वटा निर्णयमध्ये तीनवटा कार्यान्वयन गर्ने निर्णय गरेको छ । 

प्रतिबद्धता पत्र कार्यान्वयनका लागि यहि १६ चैतमा हाईब्रिट भर्चुअल मिटिङ बस्ने निर्णय गरेको छ । उक्त बैठकमा केन्द्रमा भौतिक रूपमा सहभागी हुन्छन्, प्रदेश, जिल्ला र पालिकास्तरमा भने भर्चुअल रूपमा बैठकमा सहभागी हुनेछन् । 

प्रदेश तथा जिल्ला कमिटीले तोकेको सबै पालिकाका इन्चार्ज र अध्यक्षहरू, पार्टीले जितेका पालिकाका प्रमुख र उपप्रमुखहरू तथा अध्यक्ष र उपाध्यक्षहरू, प्रदेश र जिल्ला कमिटीका पदाधिकारीहरू, मस्यौदा तयारीमा संलग्न हुने जिल्ला, पालिका तथा प्रदेशको तर्फबाट तोकिएका विज्ञहरू र स्थायी कमिटीका सदस्यहरू भर्चुअल रूपमा बैठकमा सहभागी हुनेछन् । 

त्यस्तै सचिवालयका सदस्यहरू, मस्यौदा कमिटीका सदस्यहरू, अर्थ तथा योजना विभागका प्रमुख, परराष्ट्र मामलाका प्रमुख र कानुन विभागका प्रमुख उपस्थित हुनेछन् । उक्त बैठकबाट प्रतिबद्धता पत्रको मस्यौदाको पहिलो फर्माट बनाउने काम सम्पन्न हुनेछ । त्यस्तै दोस्रो निर्णयमा केन्द्रीय घोषणापत्रको मस्यौदामा स्थायी कमिटीका सदस्यहरूले २० चैतसम्ममा आफ्नो लिखित सुझाव पेस गर्नुपर्नेछ । 

वित्त तथा आर्थिक व्यवस्थापन विभागद्वारा प्रस्तुत गरिएको आर्थिक विनियमलाई स्थायी कमिटीको सुझाव २० चैतभित्र उपलब्ध गराउने निर्णयसमेत गरिएको छ । केन्द्रीय घोषणापत्रको अन्तिम तयारी गर्ने निर्णयसमेत बैठकले गरेको छ । 

त्यस्तै अन्य समसामयिक प्रस्तावसमेत स्थायी कमिटी बैठकले पास गरेको छ । निर्वाचन केन्द्रित प्रतिबद्धतापत्रमा आफ्नो सुझाव दिनको लागिसमेत सार्वजनिक रुपमा आह्वान गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।