ताजा अपडेट »

कांग्रेस बैठकमा उठ्यो एमालेसँग गठबन्धनको प्रस्ताव !

शुक्रबार, ११ चैत्र २०७८, २२ : ४८
2 Shares

काठमाडौं ।  शुक्रबारबाट सुरु सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी गठबन्धनको कुरा उठेको छ । 

सात मध्ये पाँच प्रदेशका कांग्रेस प्रमुखहरुले स्थानीय चुनावमा गठबन्धनको पक्षमा धारणा राख्दा केही केन्द्रीय नेताहरुले भने विपक्षी नेकपा एमालेसँगको गठबन्धनको विषय उठाएका हुन् । 

केन्द्रीय स्तरबाट गठबन्धन गर्न नहुने धारणा राख्ने कतिपय नेताहरुले स्थानीय स्तरमा गठबन्धन गर्दा एमालेसँग गर्न आवश्यक रहेको बताएका हुन् । 

उनीहरुले आवश्यकता अनुसार एमालेसँग पनि गठबन्धन गर्नुपर्ने प्रस्ताव राखेको बैठकमा सहभागी एक नेताले बताए । 

कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले कर्णालीका कतिपय स्थानीय तहमा एमालेसँग गठबन्धन गर्न आवश्यक रहेको बताएका थिए । माओवादीविरुद्ध एमालेको साथ आवश्यक रहेको उनले बैठकमा बताएका थिए । 

अहिले कम्युनिस्ट पार्टीमा विभाजन आएको बेलामा एक्लै चुनाव लड्न उपयुक्त भए पनि कतिपय स्थानमा माओवादीविरुद्ध एमालेसँग मिल्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो । 

त्यस्तै  केन्द्रीय सदस्य मुक्ताकुमारी यादवले पनि कतिपय स्थानीय तहमा जित हात पार्नका लागि एमालेसँगको गठबन्धन आवश्यक रहेको बताइन् । स्थानीय स्तरको राजनीतिक अवस्थालाई ध्यान दिएर चुनावी गठबन्धन गर्नु पर्ने उनको भनाइ थियो ।   सिन्धुलीमा स्थानीय तहको निर्वाचनमा जित हात पार्न एमालेसँग गठबन्धन गर्न आवश्यक रहेको उनको भनाइ थियो । 

आजको बैठकमा बोल्ने धेरै जसोले केन्द्रबाट गठबन्धनको निर्णय गर्न उपयुक्त नभएको धारणा राखेका थिए । तर देउवाले भने एक्लै लड्दा चुनावी नतिजा आफ्नो पक्षमा पार्ने चुनौती रहेको बताएका थिए । 

कांग्रेको बैठक आइतबार पनि बस्ने छ । 

कांग्रेसमा हालको सत्ता गठबन्धनलाई चुनावसम्म निरन्तरता दिने वा नदिने भन्नेमा दुई लाइन देखिएको छ । नेता शेखर कोइराला पक्ष गठबन्धनको विपक्षमा रहेको छ र उसले केन्द्रबाट गठबन्धनको निर्णय गर्न नमिल्ने बताएको छ । उता देउवा भने गठबन्धनमा जोड दिइरहेका छन् । -न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।