ताजा अपडेट »

कांग्रेस बैठक : नेताहरु गठबन्धनको विपक्षमा

शुक्रबार, ११ चैत्र २०७८, १९ : २९
4 Shares

काठमाडौं ।  सत्ताको नेतृत्व गरिररहेको दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक काठमाडौंमा सुरु भएको छ । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सुरु भएको कांग्रेस बैठकलाई चासो पूर्वक हेरिएको छ । 

चुनावमा गठबन्धन गरेर जानु पर्ने र त्यसको बिरोध गर्नेहरुको दुई समूह कांग्रेसमा भएका कारण केन्द्रीय समिति बैठकलाई चासोका रुपमा हेरिएको छ । 

सभापति एवं गठबन्धनबाट प्रधानमन्त्री छानिएका शेरबहादुर देउवाले गठबन्धनको पक्षमा वकालत गरिरहँदा शेखर कोइराला पक्षले भने गठबन्धनको बिरोध गरिरहेको छ । 

केन्द्रबाट स्थानीय चुनावमा गठबन्धन गर्ने निर्णय लाद्न नहुने पक्षमा रहेको छ । 

आजको बैठकमा प्रदेश सभापतिहरूले आफ्ना धारणा राख्ने क्रम सुरु भएको छ । यस क्रममा अधिकांश नेताहरुले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे धारणा राखेका छन् । 

गठबन्धनको पक्षमा बोल्नहरुले पनि केन्द्रबाट नभइ स्थानीय स्तरबाट गठबन्धन गर्नु पर्ने धारणा राखेका छन् । 

बैठकमा धारणा राख्दै गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गठबन्धन गर्न नहुनेमा जोड दिएका थिए । उनले गठबन्धन गर्दै जाँदा कांग्रेसले कांग्रेमा भोट हाल्ने अवस्था कतिपय ठाउँमा नबन्ने बताउँदै पार्टी कमजोर हुने बताएका थिए । 

कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले गठबन्धन गर्न नहुने धारणा राखे । उनले अन्य पार्टीले भने अनुसार गठबन्धन गर्दा कांग्रेस आगामी दिनमा थप कमजोर हुने बताएका थिए । 

नेता बलबहादुर केसीले चुनावमा गठबन्धन गर्नुअघि पार्टीभित्र एकता कायम राख्नुपर्ने बताए । उनले पार्टीमा एकता कायम नगर्ने अनि बाहिर गठबन्धन गर्न खोज्दै हिँड्ने गर्न नहुने बताएका थिए । त्यस्तै नेता नैनसिंह महरले पनि गठबन्धन गर्न खोज्दा बगलीमा रहेको पनि खस्ने डर हुने बताएका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।