ताजा अपडेट »

गठबन्धन दलले गरे गाउँपालिका बन्द

शुक्रबार, ११ चैत्र २०७८, १९ : ०१
8 Shares

खोटाङ ।  खोटाङको जन्तेढुंगा गाउँपालिकामा कांग्रेस नेतामाथि आक्रमण भएको विरोधमा गठबन्धन दलले एकदिने बन्द गरेको छ । बुधबार राती ९ बजे जन्तेढुंगा गाउँपालिकाको केन्द्र चिसापानी बजारको एक होटेलमा एमाले सम्बद्ध कार्यकर्ताले कांग्रेस नेता देवराज बस्नेतमाथि आक्रमण गरेको विरोधमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले शुक्रबार गाउँपालिका बन्द गरेको हो । 

नेता बस्नेतमाथि सांघातिक आक्रमणको विरोधमा गाउँपालिकाका स्वास्थ्य संस्था बाहेकका सम्पूर्ण कार्यालय, व्यापार–व्यवसाय, संघसंस्था एक दिनका लागि बन्द गरिएको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए । आक्रमणको विरोधमा गठबन्धन दलले चिसापानीबजारमा संयुक्त विरोधसभा गरेको छ । 

एमाले सम्बद्ध युवाले नियोजित रूपमा एक सडक योजनाको कमिसन माग्दै राजनीतिक विषयमा विवाद निकालेर बस्नेतमाथि बोतल प्रहार गरेर सख्त घाइते बनाएको कांग्रेसले दाबी गरेको छ । बोतल प्रहारबाट निधारमाथि सात टाँका लागेका बस्नेतको हाल न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । एमाले सम्बद्ध चासुम राई, मिलन राई लगायतले बस्नेतमाथि आक्रमण गरेको सभापति विष्टले बताए । 

जन्तेढुंगामा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष एमालेबाट निर्वाचित छन् । पाँच वर्षको अवधिमा एमालेले गरेको निरंकुशता, ज्यादती र सांघातिक आक्रमणका विरुद्ध बन्द आव्हान गरिएको गठबन्धन दलको भनाई छ । 

एमाले जन्तेढुंगा गाउँपालिका कमिटी अध्यक्ष यामकुमार राईले भने जाँडरक्सी खानेक्रममा केही व्यक्ति बीचको विवादलाई राजनीतिक रंग दिएर एमालेको नाम जोडेर बदनाम गरेको बताए ।

गाउँपालिकाको प्रशासनिक भवन, चिसापानी ट्रस हाटबजार, वडा कार्यालय काहुलेको भवन उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रममा अवरोध पुर्‍याउनका लागि गठबन्धन दलले बन्द आव्हान गरेको एमालेले दाबी गरेको छ । यद्यपि, बन्दकैबीचमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले गाउँपालिकाको एक तले भवन भवन, चिसापानी हाटबजार, वडा कार्यालय काहुलेको भवन उद्घाटन तथा एमाले पालिका कमिटीको मदन स्मृति भवन शिलान्यास गरेका छन् । 

गठबन्धन दलले भने गाउँपालिकाको भवन निर्माणको काम सम्पन्न नहुँदै उद्घाटन गरिएको भन्दै विरोध जनाएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।