ताजा अपडेट »

रुपन्देही सुपर लिग : उपाधि भिडन्तमा बुद्ध र मेलवर्न

विहीबार, १० चैत्र २०७८, १४ : १५
4 Shares

भैरहवा । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगको उपाधिका लागि बुद्ध क्रिकेट क्लब र मेलवर्न क्रिकेट क्लब (एमसीसी)बीच प्रतिस्पर्धा हुने पक्का भएको छ । बिहीबार सम्पन्न सुपर फोरको अन्तिम खेलमा बुद्ध क्रिकेट क्लबले लुम्बिनी खुकुरी क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । बुद्धसँग लुम्बिनी खुकुरी पराजित भएसँगै नेटरनरेटका आधारमा मेलवर्न फाइनल पुगेको छ । अब उपाधिका लागि मेलवर्न र बुद्धबीच शनिबार प्रतिस्पर्धा हुनेछ ।

बिहीबारको खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ४६ रनको योगफल बनाएको थियो । उसका लागि धिरज शाहीले ११ र दुर्गेश गुप्ताले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बुद्धका रुपेश कुर्मीले ७ दशमलव ५ ओभर बलिङ गर्दै २ मेर्डन राखेर १३ रन खर्चेर भने ६ विकेट लिए । उनी म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे । यस्तै, विपिन खत्रीले ९ ओभरमा ४ मेर्डन राख्दै २० रन खर्चेर ४ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको बुद्धले १० दशमलव १ ओभरमा ४ विकेटको नोक्सानीमा ५१ रन बनाउँदै जित निकाल्यो । उसको जितमा रुपेश कुर्मीले नटआउट ११ र विपिन रावलले नटआउट १० रन बनाए । बलिङमा लुम्बिनी खुकुरीका शाहव आलमले २ तथा धिरज शाही र अजयकुमार चौहानले समान १–१ विकेट लिए ।

रुपन्देही क्रिकेट संघको आयोजनामा संचालित लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५–५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।