ताजा अपडेट »

‘नेपाली रेडियोहरू लोकतन्त्रको जीवन मार्ग’

बुधबार, ०९ चैत्र २०७८, २१ : ०१
8 Shares

नेपालगञ्ज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाली रेडियोहरू लोकतन्त्रको जीवन मार्ग भएको बताएका छन् । उनले नेपालगञ्जमा बुधबार सामुदायिक रेडियो प्रसारक संघको १६औं वार्षिक साधारणसभा एवम् सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

मन्त्री बडुले नेपाली रेडियोले संविधान रक्षा र संवैधानिक सर्वोच्चता रेडियो प्रसारणको लक्ष्य बनाउनु पर्ने कुरामा जोड दिँदै रेडियोको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

उनले लोकतन्त्र र परिवर्तनलाई संस्थागत गर्ने सवालमा रेडियोहरूको भूमिका अहम् भए पनि अव मानिसहरूको जीवनस्तर उकास्ने र सम्बृद्धिलाई जोड्ने गरी आफ्ना प्रसारण सामग्री उत्पादन गर्नुपर्ने सुझाव दिए ।

 नेपालमा २०६२÷६३ को जनआन्दोलनपछि रेडियो अभियानले नयाँ गति लिएको भन्दै मन्त्री बडुले रेडियोहरूको नवीकरण शुल्क छुट, रोयल्टीमा ५० प्रतिशत छुट, विद्युत् महसुलमा छुट लगायतका काम सरकारले गरेको उनको दाबी छ ।

सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल, नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अशोक कोइराला, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो सम्मेलन १० गतेसम्म सञ्चालन हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।