ताजा अपडेट »

दाङको घोराही–तुलसीपुर चारलेन सडकका ३ सय मजदुरले पाएनन् ज्याला

मंगलबार, ०८ चैत्र २०७८, २० : ०२
14 Shares

दाङ ।  दाङको घोराही–तुलसीपुर चारलेन सडकमा काम गरेका मजदुरहरूले पारिश्रमिक नपाएको बताएका छन् । 

घोराही–तुलसीपुरको २८ किलोमिटर चार लेन सडकको ठेक्का लिएको अष्ट भैरव निर्माण सेवा कम्पनीमा काम गरेका ३०० मजदुरले दुई वर्षदेखि ज्याला नपाएको बताएका हुन् । निर्माणको काम रोकेर ठेकेदार भागे पछि मजदुरहरूले ज्यान नपाएको बताएका छन् । 

तुलसीपुर–१८ का मजदुर तकमान घर्तीले ठेकेदार सम्पर्कविहीन भएपछि आफूले कामबापत पाउनुपर्ने ज्याला अहिलेसम्म नपाएको सुनाए । दुई वर्षयता उनीहरू ठेकेदार खोज्दै प्रहरी–प्रशासन धाइरहेको भए पसिन समस्या समाधान नभएको उनको भनाई छ । उनले २०७६ सालको पुसदेखि फागुनसम्म काम गरेबापत ४३ हजार ज्याला आफूले अहिलेसम्म नपाएको बताए । 

अष्ट भैरव निर्माण सेवा कम्पनीमा चार लेन सडक निर्माणको काम गरेका ३०० बढी मजदुरले २४ हजारदेखि ४५ हजारसम्म ज्याला पाउन बाँकी रहेका बताए । दुई वर्षदेखि ठेकेदार सम्पर्कविहीन हुने र पटक–पटक झुलाउँदै आएको पीडित श्रमिकले बताएका छन् । ज्याला नपाएको गुनासो लिएर प्रहरी पुग्दा पनि सुनुवाइ नभएको उनीहरूले बताएका छन् । 

गुनासो सुनुवाइ नभएपछि २८ बढी मजदुरले सामूहिक रूपमा ठेकेदार अनुप पाण्डेविरुद्ध प्रहरीमा ठगी मुद्दा दर्ता गर्ने तयारी गरेको बकाएका छन् । आफूले काम गरेवाफतको ज्याला पाउनुपर्ने मजदुरको माग छ । 

यसअघि, चार लेन सडक निर्माणको जिम्मा लिएको अष्ट भैरव निर्माण कम्पनीका अनुप पाण्डेविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा गरी विभिन्न संघसंस्था र कम्पनी गरी १७ वटा ठगीको उजुरी परेको छ । उनी अहिले प्रहरी हिरासतमा रहेका छन् । 

घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी पाण्डेले आफूसँग १ करोड ४४ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि पाण्डे ११ दिनअघि पक्राउ परी हाल प्रहरी हिरासतमा छन् ।

चार लेन सडक निर्माण गर्नेक्रममा आफ्नो सवारी साधन प्रयोग गरी भाडाबापतको रकम एक करोड ४४ लाख १७ हजार ७७६ रुपैयाँ नदिएपछि व्यवसायी बस्नेतले पाण्डेविरुद्ध उजुरी दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।