ताजा अपडेट »

गठबन्धन एक राजनीतिक फन्दा

मंगलबार, ०८ चैत्र २०७८, २२ : ३१
4 Shares

हो निश्चयपनि गठबन्धनको निरन्तरता प्रजातन्त्रको लागि फन्दा साबित हुने चरणमा मुलुकको राजनीति प्रवेश गर्दैछ।समय परिस्थितिनुसार गठबन्धन राजनीतिको प्रक्रियागत आवश्यकता हुन सक्छ।तर राजनीतिक प्रणालीगत संकट समाधान भइसक्दा पनि त्यस्ले निरन्तरता पाई राख्यो भने त्यस अवस्थामा त्यो गठबन्धन प्रजातन्त्रको लागि राजनीतिक फन्दा हुनेछ।

संसद पुनर्स्थापना र सरकार गठनको लागि तत्काल गठबन्धन आवश्यक थियो।संसद पुनर्स्थापना भयो।गठबन्धन सरकार पनि बन्यो र गाईजात्रे छाता ओढे्र घस्रीपस्री अहिले सम्म चल्दैछ।फेरिपनि निर्वाचनको लागि गठबन्धनको निरन्तरताको कुरो उठाउनु उठाइरहनुको राजनीतिक औचित्य र आवश्यकता के हो किन हो जनमस्तिष्कमा सवाल उठीरहेको छ।

माओवादी (केन्द्र) र एकीकृत समाजवादी एक्लाएक्ली ऐमालेसंग भिड्न कता कता हच्किरहेको झिसमिस दृश्य देखिन्छ।रामायणमा तत्कालको किष्किन्धा देशका वानरराज वालिको उल्लेख छ।वालि संग जुघ्न जो कोही सामुन्ने देखापरेमा त्यसको आधा बल वालिले खिंचेर लिन्छ र सहज परास्त गरिदिन्छन्।

त्यसैले त वालि र सुग्रीव लाई प्रत्यक्ष भिडाएर भगवान रामचन्द्रले लुकेर बाण प्रहार गरि वालिको वध गरेका थिए।यस्तै अवस्था प्रचण्ड र माधवको छ।ओली संग तिनीहरू त्राहित्राहि छन्।त्यसैले त देउवालाइ अघि सारेर प्रचण्ड र माधव ओलीसंग भिड्न चाहान्छन्। प्रचण्डले राजनीतिक ब्लाकमेलको शैलीमा भनिसके“ कांग्रेसले लखेटन थाले भने त परिस्थिति के हुन्छ भन्न सकिदैन् ”।

नेपाली कांग्रेस पनि ऐमालेसँग एक्लै भिड्न नसकेकै हो त रु जनता माझ प्रश्न उठिरहेको छ । जनचासो बढ्दो छ। कतै यस्तो जनचासो निर्वाचनको दौरान नेपाली कांग्रेसलाई फलामको चिउरा साबित हुने त होइन ? नेताहरूले जतिसुकै उच्च स्वरमा निरन्तर एमसीसीको वकालत गरिरहेतापनि एमसीसी विरूध्दको जनचासो मत्थर भइसकेको अवस्था छैन ।

प्रचण्ड र माधवले एमसीसी बाट उन्मुक्ति पाउन सक्छन्।तर नेपाली कांग्रेसले उन्मुक्ति पाउन सक्दैन् किनकी प्रचण्डले एमसीसीको सम्बन्धमा “ बाध्यता र परिबन्द ,गठबन्धन सरकार र शान्तिप्रक्रिया माथी नै प्रश्न उठने देखियको ,व्याख्यात्मक घोषणा असन्तोष जनाउने माध्यम मात्र भएको , संविधान र लोकतन्त्रको उपलब्धि नै धरापमा पर्ने अवस्था भएकोले ” इत्यादि वाक्यको प्रयोग गरेर आफु बंकर भित्र सुरक्षित रहने रणनीति तय गरिसक्यो।

वि.सं.२०७४ स्थानीय निर्वाचनमा कतिपय क्षेत्रहरूमा माओवादी (केन्द्र) संग गठबन्धन गर्दा माओवादीले के कति शक्ति संचय गर्यो र नेपाली कांग्रेसले के कति सहन पर्यो त्यो आँकडा नेताहरूलाइ हेक्का हुनु पर्ने हो।गठबन्धनको कारण प्रतिशतको आधारमा उम्मेदवार खडा गर्नुपर्ने हुंदा कांग्रेसले आफ्नो गौरव र सामर्थ्य प्रदर्शन गर्ने अवस्था नरहने र मुलुकको राजनीतिमा कांग्रेस एक्लो सशक्त भनेर स्थापित इतिहास माथी प्रश्न चिन्ह लाग्ने भयो।

पुनः सत्तासीन हुने र गत निर्वाचनमा गुमेको राजनीतिक कैरियर सुदृढ गर्नमा केही नेताहरूको व्यक्तिगत स्वार्थ अवश्य पूर्ति होला तर समग्रमा जनता माझ आफ्नो राजनीतिक साख गुम्ने र जनविश्वास तथा Mass Based Party को धरातल कोल्याप्स हुने चान्सेस अत्यधिक रहनेछ। पार्टी भित्र गठबन्धनको विरोधमा रहेका नेताहरूको आवाजलाई बेवास्ता गरेर गोहीसंग हातेमालो गर्दै चुनावी समुन्द्रमा पौडिन थाल्यो भने रामराम भन्न मात्र बाँकी रहनेछ।

प्रजातन्त्रको स्थायित्व, सुदृढीकरण र सशक्तिकरण होइन के गर्दा कोसंग कुन क्षेत्रमा मिलेर जाँदा आफ्नो पार्टीलार्इ बढी सिट हासिल हुन्छ सोही आधारमा गठबन्धन गर्ने नेताहरूको ध्येय रहेको छ। यस्तो ध्येयले पार्टीलाई निश्चयनै फाईदा हुनेछ।तर प्रजातन्त्र राजनीतिक छलकपटको जालोमा हराउनेछ। र, वर्तमान गठबन्धनको प्रवृत्तिले प्रजातन्त्र कम्युनिष्टकरणतर्फ धकेलिँदै जानेछ।प्रजातन्त्रको धार बदलिदै जानेछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।