ताजा अपडेट »

रुपन्देहीको देवदहमा मूर्तिकला कार्यशाला, २५ जना मूर्तिकार सहभागी हुने

सोमबार, ०७ चैत्र २०७८, २२ : ०४
6 Shares

बुटवल । रुपन्देहीको देवदह नगरपालिका स्थित स्मृति वन वाटिकामा दोस्रो देवदह राष्ट्रिय मूर्तिकला कार्यशाला–२०७८ हुने भएको छ । मंगलबारदेखि सुरु हुने कार्यशशाला बारे सोमबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको उपभोक्ता संस्थाका संयोजक टंक पोखरेलले बताए ।

देवदह नगरपालिका, लुम्बिनी विकास कोष, लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा सञ्चालन हुने कार्यशालामा देशभरका २५ जना मूर्तिकारहरुले ढुङ्गामा शान्ति, बुद्घसँग सम्बन्धित मूर्तिहरु निर्माण गर्ने उनले बताए ।

पत्रकार सम्मेलनमा देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्रीले बुद्घ मावली देवदहलाई पर्यटकिय नगरको रुपमा विकास गराउने लक्ष्य रहेको बताउँदै पर्यटन प्रवद्र्घनका लागि पूर्वाधार तयार गर्न लागिएको जनाए । उनले अहिले पूर्वाधारमा गरिएको लगानीलाई उद्योगको लगानीसँग तुलना गर्दै यसबाट प्रतिफल आउन केही समय लाग्ने उनको तर्क गरे । नगरमा धेरै योजनाहरुको डिपिआर बनाएर ३ तहकै सरकारसँग सहकार्य गरि लगानी गरिने उनले बताए। बुद्घ मावली क्षेत्रको रुपमा रहेको देवदहका पुरातात्त्विक क्षेत्रहरुको उत्खनन्, प्रचार–प्रसारको काम निरन्तर जारी रहेको उनले बताए ।

ड्रिम देवदहका संयोजक सिद्धिचरण भट्टराईले स्मृति सामुदायिक वनका उपभोक्ताहरुलाई आर्थिक विकासमा टेवा पुग्ने गरि पर्यटकिय क्षेत्र निर्माणको काम भैरहेको बताए । स्मृति पार्क नाम दिएर यसको सौन्दर्यिकरण गर्ने अभियानमा लागेको उनले बताए ।

पत्रकार सम्मेलनमा नगरपालिकाकी उपप्रमुख विद्यादेवी गुरुङ, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ याम बहादुर थापाले कला र कलाकारको सम्मान हुने गरि कार्यक्रम गरिदा यसबाट पर्यटकिय स्थलको समेत आकर्षण बढ्ने बताए ।

कार्यक्रममा सहसंयोजक तथा स्मृति सामुदायिक उपभोक्ता समुहका अध्यक्ष भरत कुमार गुरुङले पार्कमा हालसम्म करिब १ करोड रुपैया बढी खर्च भएको बताए । करिब ५ विगाहा क्षेत्रफलमा फैलिएको पार्कमा पुर्वाधार निर्माण अन्तरगत सडक निर्माण, पिकनिक सेड, तारबार तथा सरसफाईका काम भएको छन् । कार्यशाला चैत ८ देखि २२ गतेसम्म सञ्चालन हुने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।