ताजा अपडेट »

नेवा देय दबु लुम्बिनीको दोस्रो सम्मेलन, दलीय राजनितिभन्दा संगठनलाई प्राथमिकता दिन जोड

शनिबार, ०५ चैत्र २०७८, १८ : ३९
6 Shares

बुटवल । नेवा देय दबु लुम्बिनी प्रदेश दोस्रो सम्मेलन शनिबार बुटवलमा सम्पन्न भएको छ । दबुका केन्द्रीय अध्यक्ष नरेश ताम्राकारले सम्मेलनको उद्घाटन गर्दै नेवार जातीमा भएको विविधिता नै एकतामा बाध्ने सुत्र भएको दाबी गरे ।

आफूहरुको संस्था कुनै राजनितिक दलको भातृ संगठन नभएको दाबी गर्दै नेवार संस्कार, संस्कृति, परम्परा जर्गेना गर्दै दलीय नेतृत्वमा पुग्ने बाटोका रुपमा संस्थालाई स्वीकार्न सकिने उनको तर्क छ । केन्द्रिय नेतृत्वमा रहँदासम्म दलीय राजनितिमा क्रियाशिल नरहने विधिगत ब्यवस्था गरिएको भन्दै संगठनलाई गैरराजनीतिक बनाउने अभियानको शुरुवात आफूले गरेको दाबी समेत गरे । संगठनका कुनै पनि नेताले आफ्नो राजनीतिक पार्टीको बिचारलाई नेवा संगठनभित्र देखाउन नहुने सुझाव दिए । ‘नेवारहरु चन्दा दिने र झण्डा बोक्नेमा सिमित हुन हुँदैन, अब टिकट लिने गरि अगाडि बढ्नुपर्छ ।’-उनले भने । दलीय राजनितिमा क्रियाशिल नहुनु भन्नु पंचायतकालिन संस्कृतिकाे झल्को दिने भन्दै यसलाई चिरेर अघि बढ्नुपर्ने उनले बताए । देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवारहरु आफ्नो भाषा, संस्कृति विर्सिएको अवस्थामा भेटिएको भन्दै उनले विस्थापित भएका नेवारहरुको अवस्था दयनीय भएको बताए ।

‘तपाईको मेरो, हामी सबैको नेवा देय देबु’ नारासहित अभियान थालेको भन्दै उनले हामी नेवार हौ भन्ने भावना विकास गर्नसके यसबाट एकतामा बाधिने दाबी गरे । भाषा, संस्कृति, कलाको संरक्षण पहिलो अभियान हो त्योसंगै सामाजिक हितमा अघि बढाउनुपर्ने उनको सुझाव छ । नेपाली संस्कृति विश्वसामु चिनाउने नेवार समुदाय आफ्नो अधिकारबाट बन्चिति भएको बताउँदै देशभरका नेवारहरुलाई संगठित गरि एउटा गौरवपूर्ण अभियान पूरा हुन लागेको बताए । राहत कोष स्थापना गरेर पीडा र समस्यामा परेका नेवारहरुको हितमा लगाउने गरि अघि बढ्ने तथा देशभरमा १३ लाख नेवारहरुबाट थोरैथोरै रकम संकलन गरि अक्षयकोष खडा गरि संस्कृति जर्गेनाका अभियानमा खर्च गर्ने तयारी रहेको उनले बताए । व्यापार ब्यवसायसंग समाज रुपान्तरणमा अगुवाई गर्ने नेवार समुदाय पछिपरेको उनले दुखेसो गरे ।

कार्यक्रममा पत्रकार शरण कर्माचार्यले नेवार बाहुल्यता भएका शहरहरुमा समेत नेवार अन्य जातिको शासनमा चेपिएर बस्नुपरेको भन्दै नेवार समुदायहरुले धेरै कमीकमजोरीहरु सुधार गर्न सुझाव दिए । आफ्नै जातिहरु अगाडि बढेको देख्न नसक्नु, राजनिति रुपमा समेत अन्यजातिबाट कजिने पात्र बन्नु, नेवार भाषा, सामाजिक संस्थामा नेतृत्व लिने यसको प्रयोग दलीय राजनिति गर्नेहरुले उठाउने जस्ता कमजोरी देखिएको उनले बताए । परम्परागत रुपमा गुठीको आधारमा संस्थाको नेतृत्व लिने ब्यवस्था विधानमा गरिनु सबैभन्दा उपयुक्त हुने सुझाव दिए । नेवारी संस्कार, संस्कृतिको जगेर्ना गर्ने संस्थामा दलीय राजनिति हाबि हुँदा मुलमर्ममा अघि बढ्न नसकिएको बताए ।

कार्यक्रममा संस्कृतविद विजयगोबिन्द श्रेष्ठ, प्रदेश अध्यक्ष रोशनमान श्रेष्ठ, पुर्व महासचिव पवित्र बज्राचार्य, केन्द्रीय सदस्य त्रिरत्न लाल शाक्य, महेन्द्र लिगल, प्रदेशका सचिव टीका श्रेष्ठ, पाल्पा अध्यक्ष मानध्वज श्रेष्ठ, बाँके अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, रुपन्देही उद्योग वाणिज्य संघमा अध्यक्ष उज्जल कसजु, रुपन्देही अध्यक्ष रुद्र श्रेष्ठले नेवार समुदायको संगठनमा जोड्दा स्थानीयस्तरबाट समेट्नुपर्ने सुझाव दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।