ताजा अपडेट »

संघीयताबाट प्राप्त उपलब्धिको रक्षासँगै सही कार्यान्वयनमा जोड

शनिबार, ०५ चैत्र २०७८, १८ : २१
4 Shares

बुटवल । संघीयताबाट प्राप्त उपलब्धिको रक्षा गर्दै यसको सही कार्यान्वयन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । मुलुक संघीय प्रणालीमा गइसकेपछि यसको पक्ष र विपक्षमा बहस हुने गरेको भन्दै उनीहरुले राजनीति सही दिशामा अघि नबढ्दा संघीयताबारे नकारात्मक टिप्पणीहरु हुने गरेको उल्लेख गरे । आर्थिक अनुसन्धान केन्द्रको आयोजना र समृद्धि सरोकार केन्द्रको सहआयोजनामा शनिबार बुटवलमा भएको “संघीयताः प्राप्त उपलव्धि र चुनौती” विषयक अन्तरक्रियामा सरोकारवालाले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले संघीयता मुलुकको लागि आवश्यक हुँदाहुँदै पनि यसको कार्यान्वयन ठिक ढंगले हुन नसकेको बताए । मुलुक संघीयतामा गएको पाँच वर्ष पूरा भएको र यो अवधिमा नियम कानुन बनाउनमै समय बितेको भन्दै उनले अव भने यसको ठोस कार्यान्वयन गर्नुपर्ने धारणा राखे । “विभिन्न क्षेत्रमा महिला सहभागिता, लक्षित वर्गको लागि छुट्टिने बजेट जस्ता विषय संघीयताका उपलव्धि हुन्, राजनीतिक दल ठिक हुने हो भने संघीयता ठिक दिशामा अघि बढ्छ”–उनले भने । उनले अहिलेको आर्थिक अवस्था ६ महिनासम्म कायम रहेमा औषधि समेत किन्न नसक्ने अवस्थामा नेपाल पुग्ने बताउँदै संघीयताकै कारणले गाउँ-गाउँमा वाणिज्य बैंकको शाखा विस्तार भएको बताए ।

संविधानसभाका सदस्य नेत्र पन्थीले जनआन्दोलन, सशस्त्र युद्ध र मधेस आन्दोलनको जगमा संघीयता आएकोले यसको विकल्प खोज्न नहुने र खोजिएमा देश विखण्डनमा पुग्ने भएकोले यसका नराम्रा कुराको न्यूनीकरण गर्दै जानुपर्ने बताए । पत्रकार बालकृष्ण चापागाईंले मोफसल बाहिरबाट संघीयताको समीक्षा सुरुवात भएकोले यसलाई देशव्यापी बनाउन र प्राप्त उपलब्धिलाई संस्थागत गर्न मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने समय आएको बताए । कार्यक्रममा एमालेका किसन ज्ञवाली, नेपाली काँग्रेसका प्रेम पौडेल, नेकपा माओवादी केन्द्रकी मन्जु भुसाल लगायतले पनि संघीयताका बारेमा आ-आफ्नो धारणा राखेका थिए ।

संघीयताबारे विभिन्न कोणबाट बहस भैरहेकाले यसको कार्यान्वयनको अवस्थाबारे सरोकारवालाहरुको ध्यानाकर्षण गर्न कार्यक्रम गरिएको आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुसालले बताए । कार्यक्रमको समीक्षा लेखक क्रृषि आजादले गरेका थिए भने अन्तरक्रियामा गणेश घिमिरे, जीवन परियारलगायतले पनि बोलेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।