ताजा अपडेट »

होली मनाउने क्रममा झडप: २ राउण्ड गोली चल्यो, तीन एम्बुलेन्समा क्षति

शनिबार, ०५ चैत्र २०७८, १३ : ४६
2 Shares

काठमाडौँ । रौतहटको कटहरीया नगरपालिका–९ डुमरिया गाउँमा होली मनाउने क्रममा दुई पक्षबिच झडप भएको छ। शुक्रबार राति भएको झडप नियन्त्रणका लागि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।

झडपका क्रममा दुई पक्षबिच ढुङ्गा हानाहान भएको र घाइतेलाई उद्धार गर्न गएका तीन वटा एम्बुलेन्समा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ। होली खेल्दै गर्दा बाबा डिस्टिलरीका सञ्चालक ओम प्रकाश जयसवाल र कट हरिया–९ डुमरियाका वडा अध्यक्ष रामाज्ञा यादव पक्षबिच भएको दोहोरो झडपमा दुवै पक्षका गरी तीन जना घाइते भएका छन् ।

घाइतेमध्ये वडा अध्यक्ष यादवका भतिज राजकुमार यादवको टाउकोमा गहिरो चोट लागेको र उनकै पक्षका महबुब मिंयाको अनुहारमा गहिरो चोट लागेको छ। उनीहरूलाई थप उपचारको लागि राति नै एम्बुलेन्सबाट वीरगन्ज पठाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

त्यसैगरी, जयसवाल पक्षका घाइते जटाशंकर साहको गरुडास्थित एउटा निजी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले वडा अध्यक्ष रामाज्ञा यादव सहित ५ जना लाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।