May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

गाउँ छाडेर तराई बसाइँ सर्दै

378

माघ १९,

प्रदेशको राजधानी कैलाली तोकिएकाले यहाँका क्षेत्रीयस्तरका कार्यालय कैलालीमा सरेपछि गाउँमा भएको पुख्र्यौली सम्पत्ति बेचेर स्थानीयवासी घरबास खोज्न कैलाली अर्थात् राजधानी भएको ठाउँमा सर्न थालेको स्थानीयवासी बताउँछन् ।

यहाँका दुई नगरपालिका तथा सात गाउँपालिकामा दिनहुँजसो बसाइँसराइका लागि आवेदन दिनेको सङ्ख्या बढ्न थालेको जोरायल गाउँपालिका–५ गड्सेराका वडासचिव शेरबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “डोटी र कैलालीमा जमीन नभएका त कमै होलान् तर पछिल्लो समय त एकाएक स्थानीयवासी डोटी छाडेर कैलालीका लागि बसाइँसराइको सिफारिश माग्न आउनेको भीड बढेको छ ।” राजधानी कैलाली तोकिएसँगै डोटीमा जग्गा जमीन बिक्री वितरणमा पनि कमी आएको जिल्ला मालपोत कार्यालयले जनाएको छ ।

डोटी राजधानी नभएपछि रोजगारी पनि नपाइने भ्रमका कारण स्थानीयवासी बसाइँसराइ गर्न थालेको कतिपयको बुझाइ छ । मालपोत कार्यालयका अनुसार जिल्लामा पहिले ९क्षेत्रीय सदरमुकाम० रहँदा कम्तिमा पनि आठदेखि १० सम्म दैनिक जग्गा रजिष्ट्रेशन हुने गरेकामा अहिले हप्तामा एक÷दुई मात्रै रजिष्ट्रेशन हुने गरेका छन् । कैलाली बसाइँसराइसँगै पुरानो क्षेत्रीय सदरमुकाम दीपायलमा घर जग्गा भएकाहरुले आफ्ना घर जग्गा बिक्रीका लागि सूचना टाँस्न थालेका छन् ।

स्थानीयवासी बसाइँसराइसँगै यहाँका गाउँ दिनानुदिन पातलिँदै गएको बडीकेदार गाउँपालिकाका हर्कबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “राजधानीको विषयभन्दा पनि तराईतिर बसाइँसराइ गर्नेहरुको फेसनजस्तै भएको छ, गाउँमा सामान्य रकम भएका व्यक्ति पनि अहिले तराई जान थालेपछि गाउँ प्रायः शून्य हुनथालेको छ ।” निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले तराईमा सेवासुविधा भएको र राजधानी पनि त्यतै भएकाले मान्छेको बसाइँसराइ पनि तराईतिर बढी हुने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कानूनी रूपमा व्यक्तिको बसाइँसराइ रोक्न मिल्दैन, राजधानी पनि कैलालीमै भयो, मान्छेलाई शिक्षा, स्वाथ्य र रोजगारी अति नै आवश्यक चिज हो, त्यो सम्पूर्ण सुविधा डोटीमा दिन सके यहाँको बसाइँसराइ आफँै रोकिन्छ ।” डोटीलगायत यहाँका अन्य पहाडी जिल्लाबाट पछिल्लो समय भइरहेको अत्यधिक बसाइँसराइले यो क्षेत्रमा विकाससमेत हुन नसकिरहेको जिल्लाका आरडीकन्स्ट्रक्सन प्रमुख रमेशबहादुर खडायतले बताउनुभयो । उहाँले भन्नुभयो, “विकासको साटो मानिस लहलहैमा लागेर तराई झर्न थालेकाले गाउँ सुनसान हँुदैछ, मान्छे नभएको गाउँमा कसरी विकास हुन्छ ।” जिल्लाका नागरिक तराईतिर बसाइँ सर्न थालेपछि यहाँको जनसङ्ख्यामा पनि कम हुँदै गएको तर यसबारे सरोकारवालाहरूले चासो नदिएको कआइसिंह गाउँपालिका–५ का जयराज जोशीले बताउनुभयो । (रासस)

पछिल्लो अपडेट