ताजा अपडेट »

डा: गोविन्द केसीले तोडे अनसन

शुक्रबार, १८ माघ २०७५, १४ : ५३
2 Shares

माघ १८,

काठमाडौं । डा. गोविन्द केसीले अनसन तोडेका छन् । चिकित्सा शिक्षा विधेयक पारित गराउनुपर्ने माग राख्दैं आमरण अनसनमा बसेका डा. केसीले अनसन तोडेका हुन् ।

नागरिक अगुवा, विभिन्न राजनीतिक दलका आग्रहमा डा. केसीले अनसन तोडेका हुन् । केसीले शुक्रबार आज बेलुका ७ बजे त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलमा पत्रकार सम्मेलन गरेर अनसन तोडेका हुन् । अनसन तोड्दैं डा. केसीले सरकारपनि जिम्मेवार बन्ने आशा रहेको बताए ।

चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि अब फरक रुपमा लडिरहने प्रतिवद्धता जनाए । चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनसन तोडेको उनको भनाई छ ।

अनसन तोड्दै गर्दा डा. केसीले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीमा संस्थागत र व्यक्तिगत इमान र विश्वसनीयता नभएको बताए ।केसीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिए ।

आफूसँग १५ औं अनसनका क्रममा भएको सहमति पालना गरी चिकित्सा शिक्षा विधेयक पारित गर्न माग गर्दै अनसन बसे पनि सरकारले अनसनको बेवास्ता गर्दै संसदमा विधेयक पेश गरेको थियो । हाल चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेको छ ।

केसीलाई पछिल्लो समय अनसन तोड्न चौतर्फी दबाव परेको थियो । पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्च स्तरीय कार्यदलका अध्यक्ष केदारभक्ता माथेमालगायतले अनसन तोड्न केसीलाई छुट्टाछुट्टै रुपमा आग्रह गरेका थिए ।

चौतर्फी दवाव आएपछि केसीले २४ औं दिनमा अनसन तोडेका हुन् । उनी १६ औं पटकको अनसन बस्न इलाम गएको थिए । त्यहाँबाट उनलाई केहीदिनमै काठमाडौं ल्याइएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।