माघ १८,
काठमाण्डौं।। सेवा शुल्क नउठाउने रेष्टुरेन्ट एण्ड बार एसोशियसन (रेवान) को निर्णयका विरोधमा मजदुर संगठनहरुले आगामी मंगलबार( माघ २२) बाट देशभरका रेष्टुरेन्टहरुमा हड्ताल गर्ने घोषणा गरेका छन् । होटल क्षेत्रका प्रमुख तीन मजदुर संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै देशभरका रेष्टुरेन्टहरुमा हड्तालको घोषणा गरेका हुन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का दुई मजदूर संगठनहरु नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेक्ष्टुरेन्ट मजदुर यूनियन(नेस्वहोमयू), अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघ र नेपाली काँग्रेसको नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघले संयुक्त विज्ञप्ति जारी गर्दै मंगलबारदेखि हड्ताल सुरु गर्ने बताएका हुन् ।
यसअघि माघ १४ गते रेवानले १० प्रतिशत सेवा शुल्क नउठाउने घोषणा गरेको थियो । जसका विरुद्ध मजदूर संगठनहरुले चरणबद्ध आन्दोलन थालेका छन् ।
नेस्वहोमयूका महासचिव लक्ष्मण तिवारीले सेवा शुल्क नउठाउने रेवानको निर्णयविरुद्ध आइतबार देशभर कोणसभा गर्ने तयारी गरिएको बताए । उनले रेवानको निर्णयले यसअघि भएको सम्झौता र श्रम ऐन, २०७४ मा सामूहिक सौदाबाजीसम्बन्धी व्यवस्था उल्लंघन गरेको पनि बताए । मजदुरहरुले खाइपाई आएको सेवा, सुविधा घटाउने गरी गरिएको जुनसुकै कार्यको प्रतिकार गर्ने उनले चेतावनी दिएका छन् ।
प्रतिक्रिया