ताजा अपडेट »

ल्होसार मनाउन सार्वजनिक बिदा

शुक्रबार, १८ माघ २०७५, १२ : ०६
6 Shares

माघ १८,

सिन्धुली । तामाङ समुदायले मनाउने सोनाम ल्होसारमा सिन्धुलीका तीन गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिकाले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिएका हुन् ।

हरिहरपुरगढीमा ६४ प्रतिशत तामाङ समुदायको बसोबास रहेकाले यही माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिएको गाउँपालिकाका उपाध्यक्ष अनिताकुमारी राईले जानकारी दिनुभयो । गाउँपालिकाले माझी समुदायले मनाउने लदी पर्वका अवसरमा पनि फागुन २१ गते र राई समुदायले मनाउने पर्वका दिन पनि सार्वजनिक बिदा दिने उहाँले बताउनुभयो ।

माझी र राई समुदायले मनाउने पर्वका दिन अहिले नै बिदा दिने निर्णय नगरिएको र पछि निर्णय गरेर बिदा दिइने बताउनुभयो ।

यस्तै मरिण गाउँपालिकाले पनि सोनाम ल्होसारमा दुई दिन सार्वजनिक बिदा दिएको छ । गाउँ कार्यपालिकाको माघ १४ गते बसेको बैठकले सोनाम ल्होसारमा माघ २१ गतेदेखि २३ गतेसम्म सार्वजनिक बिदा दिएको अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो ।

यसैबीच मरिण गाउँपालिकामा माझी समुदायको पनि धेरै बसोबास रहेकाले माझी समुदायको सांस्कृतिक पर्व लदी पूजाका दिन आगामी फागुन २१ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यस्तै घ्याङलेख गाउँपालिकाले पनि तीन दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाभरि माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिएको छ । गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकामा ९० प्रतिशत तामाङ समुदायको बसोबास रहेकाले महान् पर्व सोनाम ल्होसारमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष जगत् भोलनले जानकारी दिनुभयो ।

सिन्धुलीको दुधौली नगरपालिका, फिक्कल गाउँपालिकाले भने सोनाम ल्होसार बनाउन छुट्टै सार्वजनिक बिदा नदिने बताएका छन् । कमलामाई नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकाले भने छलफलपछि सार्वजनिक बिदा दिने भएका छन् ।

नेपाल तामाङ घेदुङ सिन्धुलीका अध्यक्ष गम्भीरसिंह मोक्तानले तामाङ समुदायले मनाउने सोनाम ल्होसारमा बिदा दिन कमलामाई नगरपालिकालगायत स्थानीय सरकारसँग माग गरिएको बताउनुभयो । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।