ताजा अपडेट »

महाधिवेशनको तयारीमा फोरम र राजपा

शुक्रबार, १८ माघ २०७५, ०५ : ०३
20 Shares


माघ १८,

काठमाडौँ । सङ्घीय समाजवादी फोरम (ससफो) नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल महाधिवेशन तयारीमा जुटेका छन् । जनकपुरमा हुने दुवै पार्टीको पहिलो महाधिवेशनले एकताका लागि मार्ग खोल्ने दावी नेताहरुको छ । राजपा नेपालको बैशाख ७, ८ र ९ गते र संजफो नेपालको बैशाख २८, २९ र ३० गतेका लागि महाधिवेशन मिति तय गरिएको छ । 


विक्रम सम्वत् २०६४ मा फोरम नेपाल निर्वाचन आयोगमा पार्टीको रूपमा दर्ता भएको थियो । २०७२ सालमा अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टी र खस आर्य समाजवादी पार्टीसँग फोरम नेपालको एकीकरण भई सङ्घीय समाजवादी फोरम नेपाल गठन भएको थियो । 


एकीकरण भएको पाँच वर्षपछि संसफो नेपालले एकताको महाधिवेशन गर्न लागेको हो । पार्टीका महासचिव रामसहाय यादवका अनुसार, महाविधेशनको तयारीका लागि पाँच वटा समिति र ११ वटा उपसमिति गठन गरिएको छ । माघ २५ गतेसम्म सदस्यता वितरण तथा नवीकरण गरिने जनाइएको छ । फागुन २५ गतेसम्म वडादेखि प्रदेश समितिलगायत सबै तहका अधिवेशन सम्पन्न गरिसक्नुपर्ने महासचिव यादवले जानकारी दिनुभयो । 


त्यस्तै, मधेशवादी विभिन्न छवटा दल मिलेर राजपा नेपाल गठन भएको हो । जुन दलहरू २०६० सालपछि स्थापना भएका हुन् । महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा), राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्रराय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी, शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) र अनिल झा नेतृत्वको सङ्घीय सद्भावना पार्टी मिलेर २०७४ बैशाख ७ गते राजपा नेपाल गठन भएको हो । 


पार्टी गठन भएको एक वर्षभित्र महाधिवेशन गर्ने विधानमा उल्लेख थियो तर तयारी नपुगेको कारण देखाउँदै पुनः एक वर्षको म्याद थपिएको थियो । र, सोही म्यादभित्र बैशाखमा महाधिवेशन गर्न लागेको पार्टीका महासचिव मनिष सुमनले जानकारी दिनुभयो । राजपा नेपालको सङ्गठन २९ वटा जिल्लामा फैलिएको जनाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।