ताजा अपडेट »

आइतबारदेखि उपसचिवको समायोजन

विहीबार, १७ माघ २०७५, १७ : १०
8 Shares

माघ १७,

काठमाण्डौं । सरकारले आइतबारदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा उपसचिव तहका कर्मचारीलाई समायोजन गर्ने भएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका उपसचिव तहका कर्मचारीलाई आइतबारदेखि समायोजनको पत्र दिइने बताए।

फाराम भर्दा प्रयोग गरेको इमेल र राहदानीको आधारमा मन्त्रालयको वेबसाइटबाट आफैँले नै समायोजनको पत्र प्रिन्ट गरिने उनले बताए। ‘अहिले उपसचिवको समायोजनको पत्र तयार हुँदैछ”, अधिकारीले भने, ‘आइतबारदेखि उपसचिवले आफ्नो समायोजनको पत्र आफैं मन्त्रालयको वेबसाइटमा गएर प्रिन्ट गरेर बुझ्ने छन्।”

करीब दुई हजार उपसचिव तीनै तहमा समायोजन हुँदैछन्। यसअघि सरकारले पहिलो चरणमा सचिवलाई समायोजन गरिसकेको छ भने सहसचिवको समायोजनको लागि स्वीकृत गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा पत्र पठाइएको छ।सरकारले तीनै तहमा समायोजनका गर्नका लागि गत पुस ११ गतेदेखि माघ २ गतेसम्म अनलाइन फाराम भर्न समयसीमा तोकेको थियो। उपसचिवको समायोजन सकिएपछि शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीलाई समायोजन गरिने अधिकारीले बताए।

सरकारले आगामी फागुन ३ गतेसम्म अनलाइन आवेदनको आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ।सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।