ताजा अपडेट »

शहरबाट गाउँ फर्केर भैँसी पालन, लैना मात्रै ११ वटा

शुक्रबार, २१ माघ २०७८, १२ : ४६
4 Shares

गुल्मी । कोरोना संक्रमणको पहिलो लहरदेखि नै गाउँ छाडेर शहरमा उकुस–मुकुस बनेर बसेका मानिसहरु धमाधम गाउँमै फर्किन थालेका छन् । ती मध्येका एक हुन् धुर्कोट गाउँपालिका– ६ साविक धुर्कोटरजस्थल गाविसको सिस्तुङ्गका मेघनाथ अर्याल । जो कोरियाको बैदेशिक रोजगार पछि ३० बर्षसम्म स-परिवार बुटवलको शहरमा बस्दै आएका थिए ।

कोरोना संक्रमणको पहिलो लहरमा जब रुपन्देहीमा लकडाउन गरियो तब अर्यालय परिवार गाउँ फर्किए । लकडाउनको खाली समयमा अर्यालले गाउँ मै बस्ने योजना बनाए । सोही अनुरुप झण्डै एक करोड खर्चेर गाउँ मै दुई तले आकर्षक र सुविधा सम्पन्न पक्की घर बनाए ।त्यति नै खर्चेर बिशाल पक्की भैँसी गोठ निर्माण गरे । घर गोठ सम्पन्न भई सके पछि भारतको हरियाणमा पुगेर एक राँगोसहित उन्नत जातका १४ वटा भैसी किनेर ल्याए । ढुवानी सहित प्रति भैसी २ लाखका दरले खरिद गरेर ल्याएका अर्यालको गोठमा अहिले सानो ठुला गरि २१ वटा भैसी छन् ।

त्यस मध्ये लैना भैसी मात्रै ११ वटा छन् । ती भैसीबाट दैनिक ६५ लिटर दुध उत्पादन गरि उनले छिमेकी चौरासी, फुलबारी बजार, सिमलटारी र सदरमुकाम तम्घास सम्मको बजारमा पुराउने गरेका छन् ।‘बुटवल शहरमा छँदा बिहानै उठेर मर्निङ्ग वाक नगरि हुन्नथ्यो,-झिसमिसेमा उठेर भैसीहरुलाई कुँडोफाँडो गर्दै गरेका अर्यालले भने –‘यहाँ त के को मर्निङ्ग वाक ? भैसी गोठकै कामले पसिना कडाउँछ ।’ भैँसी गोठको गोवर–सोत्तर सके पछि अर्याल भान्छा कोठामा फर्किएर मई पार्ने काममा लाग्छन् । उनले दुधका अलवा घिउ पनि बेच्न थालेका छन् । भविश्यमा दुधबाट बन्ने सबै परिकार त्यही उत्पादन गर्ने उनले लक्ष्य लिएका छन् ।

गोठमा ५ जना कामदार राखेका छन् । उनीहरुले ११ वटा भैसी दुहेर सक्छन् । अर्यायले आफ्नो चिल्लो कारको डिकीमा राखेर डेरी सम्म दुध पुराउन जान्छन् । ५ जना मध्ये श्रीमान श्रीमति रहेकालाई २४ हजार मासिक तलव दिन्छन् । एक जनालाई मासिक १८ हजार र पार्ट टाईम गर्ने दुई जनालाई मासिक १० हजारका दरले तलव दिएर राखेका छन् । अर्यालको घर र भैसी गोठको बिचमा बिसाल फाँट छ । उनले त्यस फाँटमा सय मुरी धान फलाउँछन् । त्यही खेतको पराल तीन वटा टौवामा राखेर भैसीलाई खुवाउने गर्छन् । अर्याल कृषि तथा पशुपन्छि बहुउद्देश्यीय फार्म दर्ता गरेर उनले पक्की गोठको दोश्रो तलामा कुखरा पालन र बाख्रा पालन गर्ने उद्देश्य पनि लिएका छन् ।

उनले त्यस तलाका कोठाहरु मध्ये केहि कोठाहरुलाई अट्याच बाथरुम सहितको सुविधा सम्पन्न बनाई रिर्सोट समेत सञ्चालन गर्ने सोच बनाएका छन् । घरै अगाडी छल्दीखोलाको सुस्साहट, स्विमिङ्ग मुल सहितको सुन्दर बगैचा, रातको समयमा रंङ्गिविरङ्गी झिलिमिली बत्ति सहितको कम्पाउण्डमा अवस्थित उनको दुई तले पक्की घर बहिर जति सुन्दर देखिन्छ भित्र त्यति नै सुविधा सम्पन्न र अकार्षक सजावट छ ।

भित्ता र भुँईमा पुरै काठ बिच्छाईएको छ । भान्छा कोठा गाउँघरे मौलिकतामा आधारित बेग्लै छ । त्यसको कोखमा कृषि सामग्री राख्ने बेग्लै स्टोर र अकर्षक मन्दिर बनाईएको छ । बगैचामा विभिन्न प्रकारका वनस्पति र फुलफुलका वोटहरुले हराभरा छ । घर कम्पाण्डको पछाडी तर्फको बगैचामा दुवो रोपिएको छ भने अगाडी तर्फको बिशाल आँगनमा मार्वल बिच्छाईएको छ । उनले त्यो खेत कोरियाबाट फर्किए पछि साढे आठ लाखमा किनेको बताए । २०६५ सालमा किनिएको त्यस खेत आफु बिगतमा बुटवल बसे पनि अरुलाई गर्न निदई आफैले गर्दै आएको उनले सुनाए । एक छोरा, एक छोरी मध्ये छुटाउन नमिल्ने भएकोले छोरालाई बुटवल मै पढाई रहेका छन् भने छोरीलाई बुटवलको स्कुल छुटाएर गाउँकै स्कुलमा पढाएका छन् ।

श्रीमति तारा अर्याल भन्छिन् -‘शहरको बसाई भन्दा यहाँ कैयौं गुना आनन्द मिलेको छ । उनीहरुले विहान बेलुकाको खाजा दहि मईसँग गहुँ र कोदोको रोटी खाने गरेका बताउँछन् । धेरै जसो आटो ( च्याँखला) र सागको तरकारी मन पर्ने र पासिलो पनि हुने अर्याल दम्पत्ती बताउँछन् ।

तरकारी देखि सबै खाले उत्पादन घर मै हुने गरको छ । विहानीको चिया बगैचाको कुर्चि टेवुलमा बसेर छल्दी खोलाको सुस्साहट संगै पिउने गर्दछन् । अर्याल दम्पत्तीको पौरख हेर्न सर्वसाधरण देखि जनप्रतिनिधी र कर्मचारीहरु आई रहन्छन् । उनको पौरख हेर्न पुगेका धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेले अर्याललाई उदाहरणिय ब्यक्तिको संज्ञा दिए ।‘उहाँले गाउँबाट बाहिरनेलाई ठुलो सन्देश दिनु भएको छ, गर्न सके गाउँमै सबैथोक छ र गाउँनै स्वर्ग हो भन्ने उदाहरण दिनु हुने उहाँलाई गाउँपालिकाले पनि सक्दो सहयोग गर्ने छ’-पोखरेलले भने ।

खसी कुखराको मासु उनिहरुले बाहिरबाट किन्दैनन्, घर मै पालेका छन् र बरु छिमेकीहरु एनिहरुकोमा खशी बोका ढलाउन आउँछन् । ‘साँच्ची भन्नु पर्दा हामीलाई कोभिडको महामारीले नै गाउँ फर्काएको हो, गाउँमा जस्तो आनन्द र स्वास्थ्य वद्र्धक खानपिन शहरमा हुँदो रहन छ, अर्यालले भने–‘जब कुनै चोट लाग्दा स्वतः हे आमा.. हे बाबा.. भनिन्छ ठिक त्यस्तै शहरमा उकुस मुकुस हुँदा गाउँको माटो सम्झीने रहेछ ।’

उनले कृषि र पुशुपन्छि पालनलाई ठुलै उद्योगका रुपमा बिकास गरेर बिदेश जान चाहने मनहरुलाई गाउँमै खिच्ने उद्देश्य लिएको बताउँछन् । उनि भन्छन्–‘ यस गाउँका युवाहरु विदेश नजानुहोस्, आउनुहोस् मिलेर कृषि पशुपालन गरौं , लगानी गर्न सक्नु हुन्न भने रोजगारीको ग्यारेन्टी म दिन्छु, बिदेशमा गर्ने दुख मेहनत यहि गर्नुस्, विदेशमा हुने कमाई यहि गाउँमा हुने छ ।’

उनले पिता पुर्खाले प्रयोग गर्ने गरेका मधुस (सन्दुक ) ठेका– ठेकी, पुराना घैटा, मटिया, माना पाथी लगायतका परम्परागत घरयासी सामग्री संग्रालयका रुपमा सजाएर राखेका छन् । चिसो मौसम भएकोले राती अवेर सम्म भैसी गोठमा बसेर दाउँरा बालेर न्यानो दिन बस्ने गर्दछन् । उनका लागि त्यो गोठ बाल्यपनको गोठ बिर्साई दिने बनेको छ ।

उनको घरमा शहरमा भन्दा कुनै कुराको कमी छैन् । ईन्टरनेट, बिशिष्ट प्रकारका फर्निचर, अट्याच बाथरुम सहितको कोठाहरु, बैठक हल सहितको आलिशान महल, त्यसको कोखमा बिशाल भैसी गोठ र त्यसको कोखैमा रातो चिल्लो कार देखेर मानिसहरु चकित पर्ने गरेका छन् । गत १२ बर्ष देखि कतारबाट फर्केका उनका छिमेकी चौरासीका रामप्रसाद रेग्मी भन्छन्–‘ मेघनाथ दाईले शहरतिर घर जग्गा किन्न खोजेका हामी जस्ता विदेश आवत जावत गर्ने युवाहरुलाई लोभ्याई दिनु भएको छ, हामी उहाँको पौरख हेर्न, सिक्न आई रहन्छौं ।’

उनले ‘सुन फल्छन नि साईलो दाई…भन्ने बोलको गित स्मरण गर्दै भने -‘हो साँच्ची गर्न सके गाउँकै माटोमा सुन फल्दो रहेछ । त्यसको ज्वालन्त उदाहरण मेघनाथ दाईकोमा देख्न सकिन्छ ।’

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार