ताजा अपडेट »

बाढीबाट पश्चिम नवलपरासीको सदरमुकाम बचाउन नागरिक अभियान चलाइने

बुधबार, १९ माघ २०७८, १७ : २१
6 Shares

परासी। पश्चिम नवलपरासीको सदरमुकाम परासी क्षेत्रमा वर्षेनी हुने डुवान समस्याको दीगो समाधानका लागि नागरिक स्तरबाट दबाब अभियान सञ्चालन गरिने भएको छ ।

गत भदौ १० गते राति आएको विनाशकारी बाढीका कारण सदरमुकाम परासी क्षेत्र जलमग्न भई ठूलो जनधनको क्षति भएको थियो तर ६ महीना वितिसक्दा पनि बाढीबाट हुने क्षति न्यूनीकरण र दीगो समाधानका लागि सरकारीस्तरबाट कुनै पहल नभएपछि सदरमुकाम क्षेत्रका नागरिक अगुवाले दबाबमुलक अभियान सञ्चालन गर्ने निर्णयमा पुगेका हुन् ।

अभियान सञ्चालन गर्न आज परासी सदरमुकाम क्षेत्रमा क्रियाशील नागरिक अगुवा तथा संघ संस्थाका प्रतिनिधिहरुको प्रतिनिधिमूलक भेलाले बाढीबाट सदरमुकाम बचाऔँ नागरिक अभियान गठन गरेर अघि बढ्ने निर्णय गरेको छ । भेलाले उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य रामजी ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा सामुदायिक रेडियो परासीका प्रबन्धक निर्देशक मेघराज गौतम सचिव , पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा, नेपाल बार एसोसियसनका पूर्व जिल्ला अध्यक्ष बाबुराम खड्का, नागरिक समाजका अध्यक्ष कैलाश ठाकुर, नेपाल रेडक्रस सासाईटीका जिल्ला सभापति राजेन्द्र अग्रहरी, रोटरी क्लव अफ नवलपरासीका अध्यक्ष सुमन गोपाल आचार्य, नेपाल गण्डक नहर सिँचाई प्रणालीका अध्यक्ष हैदर अलि मोमिन, रामग्राम जेसीजका अध्यक्ष अनिल कुमार उपाध्याय लगायत सदस्य रहेका छन्।

समितिले सदरमुकाम क्षेत्रमा बाढी पस्नुको कारण, यसको जोखिम तथा समाधानको उपायका बारेमा अध्ययन गरी आगामी दिनमा हुन सक्ने क्षति न्यूनीकरणका लागि तीनै तहका सरकारको ध्यानाकर्षण गराउने र बाढी समस्याको दीगो समाधानका लागि आवश्यक सहजीकरण गर्ने समितिका संयोजक ज्ञवालीले जानकारी दिए ।

भेलामा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले झरही खोला परासीको सहुवाटीकरबाट कटान गर्दै पसेका कारण परासी बजार डुबानमा परेको बताउँदै उक्त स्थानमा तटबन्ध गर्न प्रदेश सरकारबाट रु एक करोड बजेट विनियोजन भएको जानकारी दिए । उनले बाढी समस्या समाधान गर्न आफू लागिपरेको बताउँदै पाल्हीनन्दन क्षेत्रमा नदीको सफाइ र तटबन्ध गर्न थप रु दुई करोड विनियोजनका लागि पहल गरिरहेको बताए ।

गत भदौमा आएको बाढीका कारण जिल्लामा चार जनाको ज्यान गएको थियो भने परासी क्षेत्रका पसल व्यवसाय, सरकारी तथा गैरसरकारी कार्यालय तथा अधिकांश घरहरु डुबानमा पर्दा करोडौँको क्षति भएको थियो । सरकारी तथा गैरसरकारी निकायबाट तत्कालका लागि केही राहत वितरण गर्ने कार्य भएपनि वर्षेनी हुने डुबान समस्याको दीगो समाधानका लागि पहल नभएपछि सदरमुकाम क्षेत्रका नागरिकहरु बाढी समस्या समाधानका लागि अग्रसर भएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।