ताजा अपडेट »

लुम्बिनी प्रादेशिक अस्पतालको असुरक्षित पार्किङ, दिन दहाडै हराउँछन् सेवाग्राहीका सवारी साधन

आइतबार, १६ माघ २०७८, २० : ३८
6 Shares

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्ष प्रवेशगर्ने गेटको नजिकै लेखिएको छ ‘बिरामीसँग भएका गरगहना, मोबाइल तथा पैसा बिरामीको आफन्तले जिम्मा लिनुहोला । अन्यथा हराएमा वा चोरी भएमा अस्पताल प्रशासन जवाफदेही हुने छैन ।’ यहाँ लेखिएका यी वाक्यले अस्पताल भित्र प्रवेश गर्नुअघि नै सेवाग्राहीलाई सचेत बनाएको हुन्छ ।

यस्तै आसयसहितको सूचना अस्पताल प्रशासनले मूख्य गेटअघिको पार्किङ स्थलमा पनि लेख्नु पर्ने देखिएको छ । अस्पतालमा आउने सेवाग्राहीहरुका सवारीसाधन पार्किङ स्थल असुरक्षित देखिएको छ । दिनदहाँडै पार्किङस्थलबाट सवारी साधन कसरी गायव हुन्छ, यहाँका सुरक्षा निकाय वा अस्पताल प्रशासनलाई जानकारी नै हुँदैन । अस्पतालले सेवाग्राहीहरुका लागि सुरक्षित पार्किङस्थलको व्यवस्था गर्न नसक्दा लाखौ मूल्यका सवारी साधन गायव भइरहेका छन् ।

यही माघ ३ गते रुपन्देही देवदहका कुलविर घर्तीले उपचारका लागि आमालाई लिएर अस्पतालमा आएका थिए । आमालाई मोटरसाइकलमा लिएर आएका उनले अस्पतालअगाडिको सडक छेउमा मोटरसाइकल पार्किङ गरी अस्पताल प्रवेश गरे । अस्पताल प्रशासनले नै सेवाग्राहीका कुनै पनि सवारीका साधन अस्पताल गेट भित्र पार्किङ गर्न नदिने भएपछि उनले पनि अन्य सेवाग्राहीले जस्तै आफ्नो लु ३६ प ५५७९ नम्बरको एनएस मोटरसाइकल सडक छेउमा छाडेका थिए ।

दिउँसोको करिब १ बजे आमालाई लिएर अस्पताल भित्र छिरेका उनीहरु करिब साढे दुई घण्टाको उपचार प्रक्रियापछि अस्पताल बाहिर निस्किए । आमाको उपचार गरेर हतार–हतार बाहिर निस्किएका उनीहरुलाई घरमा समयमै पुग्न सके अन्य काम पनि गर्नुपर्ने चटारो थियो । हतार–हतार पार्किङस्थलतिर लागेका कुलविरले आफ्नो मोटरसाइकल त्यहाँ नदेखेपछि कसैले अन्यत्र सारेका छन् कि भनेर यताउता हेर्न थाले । चारैतिर नजर घुमाउँदा पनि आफ्नो मोटरसाइकल नदेखेपछि उनी झस्किए । उनको मोटरसाइकल अरु कसैले चोरेर टाप कसिसकेको थियो । तर, उनलाई विश्वास भने थिएन, व्यस्त बजारबाट यसरी दिनदहाडै चोरी हुन्छ भनेर ।

मोटरसाइकल चोरी भएको थाहा पाएपछि तत्कालै लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलमा उजुरी दर्ता गरेका उनले हालसम्म पनि मोटरसाइकल पाएका छैनन् । प्रहरीले चोर पत्ता लगाउन सकेको छैन । यो घटना कुलविरलाई मात्र होइन अन्य सेवाग्राहीलाई पनि हुने गरेको छ । लुम्बिनी प्रदेशको गौरवको आयोजनाका रुपमा काम भइरहेको अस्पताल अघिबाटै यसरी सेवाग्राहीको सवारीसाधन गायव हुनु लज्जास्पदनै हो ।

दैनिक एक हजार बढी सेवाग्राही आउने लुम्बिनी प्रादेशिक अस्पतालको आफ्नै पार्किङस्थल नहुँदा सडक छेउँमा यसैगरी जोखिम मोलेर सेवाग्राहीहरुले सवारी पार्किङ गर्नुपर्ने समस्या रहेको छ । पछिल्लो ५ महिनाको अवधिमा अस्पताल अघिको पार्किङ स्थलबाट मात्रै ७ वटा सवारी हराएको प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कमा उल्लेख भएअनुसार गएको पौष महिनामा उक्त पार्किङ स्थलबाट २ वटा मोटरसाइकल हराएका छन् ।

गत पौष ६ गते बिहान करिब ९ बजेको समयमा अस्पताल अघिको पार्किङस्थलबाट लु ३० प ३६२५ नम्बरको मोटरसाइकल हराएको भन्दै ट्राफिक प्रहरी कार्यालय बुटवलमा उजुरी परेको छ । त्यसको ठिक ३ दिनपछि पौष ६ पुनः अर्को मोटरसाइकल सोही ठाउँबाट हराएको उजुरी परेको छ । लु ४५ प ६७६४ नम्बरको उक्त मोटरसाइकल पनि विहान करिब साढे १० बजेको समयमा हराएको उजुरीमा उल्लेख छ । यसैगरी कार्तिकको ८ गते सोही ठाउँबाट लु ६१ प ९८९४ नम्बरको बजाज पल्सर मोटरसाइकल गायव भएको थियो । उक्त पार्किङस्थलबाट कार्तिक महिनामा २ वटा तथा भदौ महिनामा एक मोटरसाइकल हराएको उजुरी ट्राफिक प्रहरी कार्यालयमा रहेको छ । यसरी हराएका मोटरसाइकलहरु अधिकांश दिनको समयमा नै हुने गरेका छन् ।

अस्पतालले सेवाग्राहीका सवारी साधनका लागि व्यवस्थित पार्किङस्थल बनाउन नसक्दा तथा सुरक्षा व्यवस्था गर्न नसक्दा चोरीका घटनाहरु घट्ने गरेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठकबहादुर केसीका अनुसार त्यस क्षेत्रमा सीसीटिभी क्यामेरा तथा सुरक्षाको प्रबन्ध हुन नसक्दा घटना अनुसन्धानमा समेत समस्या हुने गरेको छ । अस्पताल प्रशासनले पार्किङ क्षेत्रमा सीसीटिभी जडान वा सुरक्षा व्यवसस्थासहित स–शुल्क भएपनि पार्किङलाई व्यवस्थि गराउन सके राम्रो हुने उनको सुझाव रहेको छ ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढाकालले अस्पतालमा आउने सेवाग्राहीका लागि पार्किङको व्यवस्था गर्न नसकिएको स्वीकार गरे । अस्पतालभित्र गुरुयोजना अन्तरगतका काम भइरहेको तथा यसअघि पार्किङस्थल रहेको ठाउँमा कोभिड महामारीपछि सेवा विस्तार गर्न संरचना तयार पारिएको उल्लेख गरे । अस्पताल बाहिर रहेको सडकमा अवस्थित पार्किङस्थल आफ्नो अधिकारक्षेत्र भित्र नपर्ने भएकोहुँदा त्यहाँका समस्या बारे आफूहरुलाई जानकारी नहुने उनले बताए ।

पार्किङ समस्या बारे ट्राफिक प्रहरी तथा सुरक्षा निकायहरुसँग छलफल हुने गरे पनि अस्पतालले छुट्टै पार्किङस्थल बनाउन नसकेको कुरालाई उनले स्वीकार गरेका छन् । अस्पताल अगाडि हुने पार्किङ स्थलको सुरक्षा जिम्मेवारी समेत आफ्नो नभएको उनले उल्लेख गरे । यसरी दैनिक रुपमा सेवा लिन आउने सेवाग्राहीको समस्याका रुपमा रहेको पार्किङलाई तत्कालिन रुपमा भएपनि व्यवस्थापन गर्न नसक्नु अस्पताल प्रशासनको कमजोरी रहेको सेवाग्राहीले बताउने गरेका छन् ।

अस्पताल अगाडि सेवाग्राही तथा व्यवसायीहरुले सवारीका साधन पार्किङ गर्दा यहाँको ट्राफिक व्यवस्थापन समेत भद्रगोल देखिने गरेको छ । सडक विस्तारको काम समेत भइरहेको यहाँ दैनिक रुपमा सयौंको संख्यामा सवारी साधान पार्किङ हुने गर्दछन् । यसका कारण ट्राफिक जाम तथा पैदलयात्रीहरुले समेत सास्ती खेप्न परिरहेको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।