ताजा अपडेट »

प्रदेश एकमा अन्तर्घात गर्नेहरुलाई एमालेले कारबाही गर्ने

विहीबार, १३ माघ २०७८, २० : ३०
6 Shares

काठमाडौं ।  नेकपा एमाले प्रदेश एकले राष्ट्रिय सभा निर्वाचनका क्रममा अन्तरघात गर्नेहरुमाथि छानबिन गरी दोषीमाथि कारबाही गर्ने चेतावनी दिएको छ । 

प्रदेश नम्बर १ अध्यक्ष तुलसी न्यौपानेले विहीबार एक विज्ञप्ति जारी गर्दै पार्टी भित्रका कतिपय अवसरवादी र अराजक पात्रहरुले राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा समेत अवान्छित हर्कत गरेको पाइएको उल्लेख गरिएको छ । 

'पार्टी भित्रका कतिपय अवसरवादी र अराजक पात्रहरुले यो राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा समेत अवान्छित हर्कत गरेको पाइएको छ । पार्टी निर्णय र हित विरुद्धमा चालिएका त्यस्ता अन्तरघाती कदमको वस्तुनिष्ठ छानबिन गरी दोषी उपर कडा कार्यवाहि गर्न हाम्रो पार्टी नेकपा एमाले कृतसंकल्पित छ' न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

बुधबार सम्पन्न निर्वाचनमा प्रदेश एकबाट एमालेका उमेद्वार सोनाम गेल्जेन शेर्पा विजयी भएका थिए भने अर्का उम्मेदवार गुरु बराल पराजित भएका थिए । उनी आफ्नै पार्टीका दुई सांसदको मत नपाउँदा पराजित भएको बताइएको छ ।

शेर्पालाई बधाई दिँदै विज्ञप्तिमा पाँच दलीय गठबन्धनविरुद्धको जीतमा सहयोग गर्नेहरुमा शुभकामना दिइएको छ । 

'ईतिहासका बेग्ला बेग्लै कालखण्डहरुमा अनेकौ षडयन्त्र, घात-प्रतिघात र प्रतिकुलताहरुलाई पराजित गर्दै नेपाली जनताको न्यानो माया, सद्भाव र भरोसाको मजवुत जगमा नेकपा (एमाले) खडा छ' विज्ञप्तिमा भनिएको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।