ताजा अपडेट »

सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा

विहीबार, १३ माघ २०७८, १६ : ०८
30 Shares

भैरहवा । मुलुककै पहिलो बिशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगी र बिशेष आर्थिक क्षेत्र प्राधिकरण बिच विवाद चुलिदै गए पछि अहिले अदालतसम्म पुगेको छ । उद्योगीले सेजले भने अनुसारको सुविधा उपलब्ध नगराएको गुनासो गर्दै आएका छन् भने सेजको कानून उद्योगले पालन नगरेपछि मुलुककै पहिलो सेजमा विवाद चुलिदै गएको छ ।

विवादमा पनि अन्य उद्योग भन्दा शक्ति मिनरल्स अगाडी देखिएको छ । सेजले आफ्नो उत्पादन बाहिर जान नदिएको बताउदै उच्च अदालतमा मुद्दा समेत दायर गरेको छ । सेजले मंसिर १५ गते उद्योगलाई पत्र लेख्दै शक्ति मिनरल्सका उत्पादनहरु स्थानीय बजारमा बिक्रि बितरण गर्न रोक लगाएको थियो । सेजका ईन्जिनियर जिवन पौडेलले शक्ति मिनरल्स प्रालीलाई लेखेको पत्रमा सेज ऐनको बर्खिलाप हुने गरि बिक्री बितरण गर्दै आएकोले त्यसलाई रोक्न निर्देशन गरिएको थियो ।

बिशेष आर्थिक क्षेत्र (पहिलो शंशोधन) ऐन, २०७५ को दफा ६ मा शशोधिन ऐन सार्वजनिक गरेको छ । जसमा “सेजमा स्थापना भएको उद्योगबाट उत्पादन भएको कम्तिमा ६० प्रतिशत वस्तु वा सेवा निर्यात गर्नु पर्ने” भनेर स्पष्ट रुपमा उल्लेख गरेको छ । तर शक्ति मिनरल्सले उत्पादन गरेको लाईमस्टोन ग्रीट, पाउडर लगायत मात्र हैन यसबाट निसिक्ने बाई प्रोडक्टसहरु प्राय सबै आन्तरिक बजारमा बिक्रि बितरण गर्ने गरेको छ ।

सेजमा अहिले शक्ति मिनरल्स बाहेक ब्रिलियन्ट लाईटनिङ ईण्डष्ट्रिज प्राली, विस्तार ग्लोबल प्राली, पञ्चकन्या एसएस एक्सपोर्ट, एस पोलिमर्सले उत्पादन सुरु गरेका छन् । सेज ऐनमा उद्योगले स्थापना भएको एक बर्ष सम्म आन्तरिक बजारमा बिक्री गर्ने सुविधा दिएको छ । शक्ति मिनरल्स, ब्रिलियन्ट लाईटनिङ ईण्डष्ट्रिज प्राली, विस्तार ग्लोबल प्राली बाहेक अन्य उद्योगहरु अहिले सोही अवधिमा रहेका छन् ।
सेजले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक बर्ष २०७६/०७७ मा ब्रिलियन्ट लाईटले ५८ दशमलव ७३ प्रतिशत, विस्तार ग्लोबलले सत प्रतिशत निर्यात गर्दा शक्ति मिनरल्सले २३ दशमलव ८४ प्रतिशत मात्र निर्यात गरेको थियो । आन्तरिक बजारमा शक्तिको खपत ७६ दशमलव १६ प्रतिशत रहेको थियो । ऐन अनुसार ४० प्रतिशत भन्दा बढी आन्तरिक बजारमा बिक्री गर्न पाईदैन ।

सेजको कम्प्युटर अपरेटर निरा भट्टराईका अनुसार आर्थिक बर्ष २०७७/०७८ मा ब्रिलियन्ट लाईटले २३ दशमलव ८९ प्रतिशत निर्यात र ७६ दशमलव ११ प्रतिशत आन्तरिक बजारमा खपत गरेको थियो । यस्तै विस्तार ग्लोबलले ९८ दशमलव ६२ प्रतिशत निर्यात र १ दशमलव ३८ मात्र आन्तरिक बजारमा खपत गरेको थियो । यसै बर्ष देखी उत्पादन सुरु गरेको पन्चकन्याले पनि १ दशमलव ८३ प्रतिशत निर्यात गरि ९८ दशमलव १३ प्रतिशत आन्तरिक खपत गरेका थिए । यता शक्ति मिनरल्सले २ दशमलव ५६ प्रतिशत मात्र निर्यात गरि ९७ दशमलव ४४ आन्तरिक बजारमा खपत गरेको छ ।

यस्तै चालु आर्थिक बर्षको पुस मसान्त सम्म ब्रिलियन्ट लाईटले ४७ दशमलव ९० प्रतिशत निर्यात गरि ५२ दशमलव १० प्रतिशत आन्तरिक बजारमा खपत गरेको छ । बिस्तार ग्लोबलले ८७ दशमलव ०१ प्रतिशत निर्यात गरि १२ दशमलव ९९ प्रतिशत नेपालमै बिक्रि गरेको छ भने पन्चकन्याले ० दशमलव ८८ प्रतिशत निर्यात गरि ९९ दशमलव १२ प्रतिशत आन्तरिक बजारमा खपत गरेको छ । यता शक्ति मिनरल्सले ११ दशमलव ५१ प्रतिशत निर्यात गरि ८८ दशमलव ४९ प्रतिशत आन्तरिक बजारमा खपत गरेको छ ।

सेज ऐन अनुसार निर्यात नगरेपछि सेज प्राधिकरणले पत्राचार गरि ऐन अनुसार ६० प्रतिशत बिदेश निर्यात गर्ने आधार सहित कार्ययोजना पेश गर्न निर्देशन गरेको थियो । सेजको पत्र पाए लगत्तै शक्ति मिनरल्स प्रालीले उच्च अदालत तुलसीपुर, बुटवल ईजलाशमा उत्प्रेषण, परमादेशको मुद्दा हालेको थियो । मंसिर २१ गते उच्च अदालतका न्यायधिश शिवराज अधिकारीको एकल ईजालासले मंसिर १५ गतेको पत्र सुविधा र सन्तुलनको दृष्टिकोणले निवेदन पत्रको टुङ्गो नलागे सम्म कार्यान्वयन नगर्नु/ नगराउनु, यथास्थितिमा राख्नु भनि आदेश दिएको छ । त्यस पछि अहिले सम्म शक्ति मिनरल्स यथास्थितिमै सञ्चालनमा रहेको छ ।

शक्ति मिनरल्सका प्रोजेक्ट म्यानेजर दिपक झाले सेजको उदासिनताको कारण अपेक्षित निर्यात गर्न नसकेको आरोप लगाए । “एकद्वार प्रणाली” लागु गर्ने भनेको सेजमा केही सुविधा नभएको उनको आरोप छ । “कर्मचारीहरु १०देखी ५ बजे सम्म मात्र भन्दै अन्य समय मूल गेट नै थुनेर बस्ने गरेका छन् ।” झाले आरोप लगाए “सेजमा भन्सार राख्ने भनिए पनि अहिले सम्म राखिएको छैन, भैरहवा भन्सारबाट गाडी पास हुनै ३ दिन भन्दा बढी समय लाग्छ ।”

६० प्रतिशत निर्यात गरेन भनेर सेजले मंसिर १४ गते एक्कासी गाडी रोकेको र १५ गते मात्र आफुहरुलाई पत्र दिएको उनले गुनासो गरे । अहिले कोभिडको कारणले खोजे जति निर्यात गर्न नसकिएको उनको भनाई छ । “हाम्रो उत्पादन भनेको कम लागतको हो यस कारण ढुवानी गर्ने साधन नै पाईन्न । भारतबाट गाडी ल्याउन खोज्दा उनिहरु झण्झटिलो रहेको भन्दै नेपाल आउनै मान्दैनन् ।” झाले भने झाले सेजमा भनिएका अन्य सुविधा पानी, बिद्युत, सडकबत्ती लगायतको सुविधा समेत उपलब्ध नरहेको आरोप लगाए ।

झाले सेजमा सुविधा नभएको र भन्सार प्रक्रिया झण्झटिलो रहेको आरोप लगाईरहदा अन्य उद्योगहरुले भने अहिले सेजको अवश्था राम्रो रहेको प्रतिक्रिया दिएका छन् । विस्तार ग्लोबल प्रालीका ब्यवस्थापक रुपक गर्गले सेजले पछिल्लो समय धेरै सुविधा उपलब्ध गराएको बताए । “बत्ती, पानी लगायतको प्रयाप्त ब्यवस्था गरेको छ, यस अघि रहेको झाडीहरु पनि फाँडेको छ ।” गर्गले भने “भन्सारमा पनि सेजबाट आएको थाहा पाए पछि राम्रो रेस्पोन्स पाएर फास्ट ट्रयाकमै काम भएको छ ।”

बिशेष सुविधा सहित मुलुकमै पहिलो सेजको रुपमा स्थापना भए पनि आशतित कार्य नगर्दा अहिले सेज प्रति उद्योगीहरुको चासो घट्दै गई रहेको छ । आधारभूत आवश्यकता एवम सेजले परिकल्पना गरेको एकद्धार प्रणाली लगायतको सेवा दिन नसकेको कारण उद्योगीहरु सेजमा उद्योग स्थापना गर्न हच्किरहेका छन् । यस बिषयमा सेजका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टसंग प्रतिक्रिया लिन खोज्दा उनि सम्पर्कमा आएनन् । हाल काठमाण्डौमा रहेका भट्टले फोन उठाएनन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।