ताजा अपडेट »

मृतकका परिवारलाई साढे चार लाख बीमा रकम

विहीबार, १३ माघ २०७८, १५ : २३

गुल्मी । गुल्मीमा केहि महिना अघि भएको सवारी दुर्घटनामा परि मृत्यु भएका मानिसहरुका परिवारलाई प्रति परिवार साढे चार लाखका दरले विहिवार बीमा रकम हस्तान्तरण गरिएको छ ।

गत असोज २८ गते राती रेसुङ्गा नगरपालिका १० र ११ को बिचमा पर्ने रिडी तम्घास सडक खण्डको पाँचराते भन्ने स्थानमा लु १ ज ४४९० नम्वरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो । त्यस दुर्घटनमा परि मुसिकोट नगरपालिका –२ जलजलेका ७२ बर्षीय क्षेत्रबहादुर थापा, सोही स्थानकी ४२ बर्षीया राधिका थापा र मुसिकोट–३ चुँदरीगाउँकी १९ बर्षीया संगिता सुनारसहित ३ जनाको मृत्यु भएको हो ।

मृतक मध्ये राधिका थापाका श्रीमान चिन्ताबहादुर थापा यति बेला गम्भीर बिरामी परि बुटवल स्थित अस्पतालमा भर्ना भएकोले गुल्मी यातायात मार्फत पाउने बीमा रकम लिन आउन सकेका छैनन् । मृतक थापा र सुनारका परिवारहरु बिहिवार जिल्ला प्रशासन कार्यालयमा आई साढे चार लाखका दरले बीमा रकम बुझेर लगेका छन् । मृतक संगिता सुनारका बाबु मानबहादुर सुनार र मृतक क्षेत्रबहादुर थापाकी श्रीमति हरिकला थापालाई प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद पौड्यालले मृत्यु घटना प्रति दुःख ब्यक्त गर्दै साढे चार÷चार लाखको चेक हस्तान्तरण गरेका थिए ।

गुल्मी यातायात ब्यवसायि संघका कार्यालय प्रमुख डोलबहादुर थापाले एक जना मृतकले ५ लाखका दरले पाउनु पर्नेमा ५० हजार रुपैयाँ उति बेलै किरिया खर्च उपलब्ध गराईएको र साढे चार लाख रकम प्रति मृतकका परिवारलाई हस्तान्तरण गर्न लागिएको बताए । त्यस जिपका चालक जलजले कै कमल थापा र काठमाण्डौं थापाथली स्थित शिखर ईन्सुरेन्स कम्पनी लिमिटेड मार्फत उक्त बीमा रकम आएको कुँवरले बताए ।

उनले बीमा रकम निकासीका लागि संघले ताकेता गरेर अन्य दुर्घटनामा भन्दा छिटो पीडित परिवारलाई उपलब्ध गराउन सकिएको बताए । कार्यालय प्रमुख कुँवरले अब त्यस दुर्घटनाका घाईतेहरुको उपचार खर्च उपलब्ध गराउने पहल सुरु भई रहेको जानकारी दिए ।

त्यस दुर्घटनामा एक जना सामन्य सहित ६ जना घाईते भएका थिए । तिहारको लक्ष्मी पुजाको साँझ भएको त्यस दुर्घटनाले जलजले र चुँदरीगाउँ शोकाकुल बनेको थियो । बिरामी परेका बाबु मानबहादुरलाई उपचार गराई बचाउन भनि बुटवल लगेर फर्किएकी छोरी संगिताको तिहारमा शव घर आई पुगेको थियो । घटना स्थल सदरमुकाम तम्घासको मुखैमा थियो । पाँचराते आई पुग्दा संगिता लगायतले फोन गरेर आई पुग्यो घर अब भनेर आफन्तहरुलाई फोन गरिरहेको बेला एक्कासी ज्यान गुमाएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।