ताजा अपडेट »

लुम्बिनीमा राष्ट्रियसभा निर्वाचनकाे तयारी पूरा

मंगलबार, ११ माघ २०७८, १८ : ४३
12 Shares

दाङ । भोली हुने राष्ट्रियसभा निर्वाचनको लुम्बिनीमा तयारी पूरा भएको छ । आगामी फागुन २० गते १९ जना राष्ट्रियसभा सदस्यको कार्यकाल सकिने भएपछि भोली निर्वाचन हुने भएको हाे । लुम्बिनी प्रदेशमा ३ सिट खाली हुने भएपछि हुन लागेको निर्वाचन अन्तरगत दाङको घोराहीमा मतदान स्थलको निर्माण कार्य पूरा भएको छ ।

कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचनका लागि अहिले बुथ निर्माणको काम आज बेलुका सकिएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । लुुम्बिनी प्रदेशबाट कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको ४ बर्षे कार्यकाल सकिन लागेको हो । यी तीन सिटका लागि सत्ता गठबन्धन र नेकपा एमालेका उमेद्वार बिच प्रतिस्पर्धा हुने भएको छ । जस अनुसार गठबन्धनबाट नेपाली कांग्रेस बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादी बाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाको तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मा उम्मेदवार रहेको छन् ।

उता एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार उम्मेदवार रहेका छन् । लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १५ जना गरी २९६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ निर्धारण गरिएको छ । प्रदेश सांसदको मतभार तीन हजार आठ सय ८८ र स्थानिय तहका प्रमुख र उपप्रमुखको मतभार तीन हजार आठ सय ७० रहेको छ । भोली बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने छ ।

आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुने भएकाले निर्वाचन गर्न लागिएको हो । सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।