ताजा अपडेट »

भोलि हुने राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

मंगलबार, ११ माघ २०७८, ०८ : १५
4 Shares

काठमाण्डौं । निर्वाचन आयोगले भोलि माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । राष्ट्रिय सभामा रिक्त १९ स्थानका लागि बुधबार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदै छ । मतदानका लागि जिल्ला-जिल्लाबाट मतदाताहरू सम्बन्धित मतदान केन्द्रमा आउने क्रम सुरु भएको छ ।

आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले सातवटै प्रदेशमा तयारी पूरा भएको जानकारी दिए । आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । प्रत्येक मतदान केन्द्रमा निर्वाचन अधिकृतसहित अधिकतम १० जना कर्मचारी परिचालन गरिएको छ । आयोगले माघ ७ गते नै सबै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइसकेको सहायक प्रवक्ता धमलाले जानकारी दिए ।

सातवटा प्रदेशमा कुल दुई हजार २५ जना मतदाता छन् । यस निर्वाचनमा ५३२ प्रदेश सभा सदस्य र एक हजार ४९३ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । आयोगका अनुसार प्रदेशमा कायम रहेका मतदाता सङ्ख्याको १० प्रतिशत बढी मतपत्र पठाइएको छ ।

प्रदेश १ का मुख्य निर्वाचन अधिकृत भरत लम्सालले मतदानको तयारी पूरा भए पनि बुथ निर्माणको कार्य मङ्गलबार मात्रै हुने जानकारी दिए । प्रदेश १ को दुई मतदान स्थलमा दुईवटा मतदान केन्द्र छन् । अधिकृत लम्सालले मङ्गलबार बिहान नै निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन राजनीतिक दलका प्रतिनिधि र उम्मेदवारहरूसँग छलफल गर्ने जानकारी दिए ।

विराटनगर महानगरपालिका-१३ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालय र बाली संरक्षण प्रयोगशालाको कार्यालयलाई मतदान केन्द्र तोकेको छ । त्यसमध्ये बाली संरक्षण केन्द्रको कार्यालयको मतदान केन्द्रमा प्रदेश सभाका सांसदहरूले मतदान गर्नेछन् भने प्रदेश निर्वाचन आयोगको कार्यालयमा स्थानीय निकायका पदाधिकारीहरूले मतदान गर्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी मधेस प्रदेशमा समेत मतदानको तयारी पूरा भएको निर्वाचन कार्यालयका प्रमुख पुष्पा झाले जानकारी दिए ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा मतदान हुनेछ । आयोगले जारी गरेको स्वास्थ्य निर्देशिका बमोजिम मतदानको व्यवस्था मिलाउने र निर्वाचन कार्यालयले व्यवस्थापकीय पक्ष तयारी अवस्थामा राखेको उनले बताए । बागमती प्रदेशका निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मतदानको तयारी पूरा भएको र बुथ निर्माण मङ्गलबार साँझसम्म सकिने जानकारी दिए ।

बागमतीमा राष्ट्रिय सभा सदस्यको मतदान हेटौँडामा हुनेछ । उनले दुईवटा मतदान केन्द्रमा आठ-आठ जना गरी १६ कर्मचारी खटाइने जानकारी दिए । कर्णालीका निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले मतदानका लागि सामग्री आइसकेको र तयारीसमेत अन्तिम चरणमा रहेको बताए ।-गोरखापत्र अनलाइन

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।