ताजा अपडेट »

‘संक्रमण रोकथाम र नियन्त्रणका लागि साझा प्रयास आवश्यक’

सोमबार, १० माघ २०७८, १२ : ५२
2 Shares

बुटवल । बढ्दो कोरोना संक्रमण र महामारीबाट सुरक्षित रहन र बाँच्नका लागि सबै तह र क्षेत्रको साझा प्रयास आवश्यक रहेको सरोकारवालाले बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले सोमबार आयोजना गरेको कोभिड र स्वास्थ्य क्षेत्रको अवस्था र आवश्यकता बारे बहस कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकार एक्लैले मात्रै नभई नागरिक, नागरिक समाज, प्रतिपक्ष दल, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी लगाएत सबैको साझा प्रयास आवश्यक रहेको बताए । उनले भने ‘हाल कोरोनाको नयाँ भेरियण्ट संक्रमण बढ्दो छ, यसको नियन्त्रणका लागि प्रदेश सरकारले विभिन्न तयारी गरेको छ । प्रदेशका विभिन्न अस्पतालहरुमा बेड र उपचार क्षमता बढाइएको छ । सबै सचेत र एक भई प्रयास गरेमा संक्रमण रोकथाम र यदि भइहाले पनि नियन्त्रण गर्न सहज हुन्छ ।’

कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले महामारी सम्बन्धी प्रदेश सरकार गम्भीर नभएको बताए । उनले प्रदेश सरकारले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुप्रति पूवाग्रह राखेको आरोप लगाए । ‘वर्तमान गठबन्धनको सरकार स्वास्थ्य क्षेत्र र महामारीप्रति गम्भिर नभएको देखिन्छ । विभिन्न बहानामा बजेट तथा सेवा सुविधा कटौटी गरिएको छ । त्यसैगरी महामारी रोकथाम र नियन्त्रणका लागि भएका पूर्वप्रयास र योजनाहरु कार्यान्वयनमा पनि ध्यान दिएको छैन । आफ्नो तर्फबाट नयाँ योजना र कार्यान्वयन पनि गरेको छैन ।” उनले भने पूर्व स्वास्थ्यमन्त्री श्रेष्ठले वर्तमान मन्त्री थारुप्रति लक्षित गर्दैे वर्तमान सरकारले आफूहरु, प्रतिपक्षसँग सहकार्य पनि नगरेको बताए । ‘मन्त्री बनेपछि उहाँसँग पहिलो पटक भेट भएको छ, म लगाएत हामी स्वास्थ्यको सवालमा सहकार्य गर्न तयार छौं तर, उहाँहरुले केहि भन्नु हुँदैन ।’ उनले भने ।

त्यसैगरी कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय अध्यक्ष गोविन्द खनालले पनि संक्रमण रोकथाम र नियन्त्रणमा सरकार र राजनीतिक दल गम्भीर नभएको बताए । उनले महामारी चलिरहेकै बेलामा राजनीतिक दलहरुले विभिन्न भीडभाड गर्दै आफ्ना गतिविधि सञ्चालन गर्दा संक्रमण फैलिन टेवा पुगेको बताउँदै संक्रमण नियन्त्रणमा सरकारले शसक्त कदम र योजना कार्यान्वयन नगरेको बताए । ‘कोरोना महामारीलाई राजनीतिक दलहरुले हेल्चेक्राँई गरे, महामारीकै बीच गैरजिम्मेवारीका साथ विभिन्न कार्यक्रमहरु गरे । अहिले संक्रमण तिव्र रुपमा फैलिएको छ तर, सरकारका तयारी भने सुस्त गतिमा छन् । सरकारले स्वास्थ्य क्षेत्र, नागरिक समाज लगाएत सबैसँग सहकार्य गरेर संक्रमण रोकथाम र नियन्त्रणमा अग्रसर बन्दै नागरिकको जीवन बचाउँनु पर्दछ ।

लुम्बिनी मेडिकल कलेजक पाल्पाका कार्यकारी अध्यक्ष गोपाल बहादुर पोख्रेलले सरकारले निजी क्षेत्रलाई उपेक्षा गरेको गुनासो गरे । उनले महामारीमा मुख्यतया स्वास्थ्य क्षेत्रको भूमिका रहेको बताउँदै सरकारले निजी क्षेत्रका स्वास्थ्य संस्थालाई गर्ने व्यवहार र दिने सेवा सुविधा कार्यान्वयनमा समस्या भएको बताए । उनले भने “ अघिपछि होस् वा संक्रमणमा स्वास्थ्य क्षेत्र सेवाका लागि तत्पर हुन्छन् । पहिलो र दोस्रो लहरमा निजी क्षेत्रले सक्दो प्रयास गर्दै आएका छन् र तेस्रो लहरमा पनि तयार छन् । तर, सरकारी नीति र कार्यान्वयनमा हुने समस्याले गर्दा निजी क्षेत्र धरासायी बन्दै गएका छन् । समयमा नै नसोँचे कैंयौं स्वास्थ्य संस्था बन्द हुने अवस्थामा छन् ।’

नेपाल जनस्वास्थ्यकर्मी संघकी केन्द्रिय सहकोषाध्यक्ष उमा थापाले स्वास्थ्यकर्मीहरुको मिहिनेत र समय अनुसार मूल्यांकन नभएको बताइन् । उनले भनिन् ‘ महामारी जस्तो जोखिमको समयमा पनि सबै त्यागेर अगाडि रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुलाई उनीहरुको उचित पारिश्रमिक नपाएको अवस्थामा छ । आफ्नो जिम्मेवारी निभाउँदै जे जस्तो अवस्थामा पनि स्वास्थ्यकर्मीहरुले सेवा दिँदै आएका छन् । तर, कैंयौैंले केहि पारीश्रमिक पनि समयमा नपाउने र केहिले लामो समय नपाउने समस्या रहँदै आएको छ । संक्रमणसँग लड्न स्वास्थ्यकर्मीहरुमा मनोवल जगाउने गरी व्यवहार र कार्यान्वयन गर्न आवश्यक छ ।

बहस कार्यक्रम रिपोटर्स क्लब लुम्बिनीका अध्यक्ष रामकुमार क्षेत्री र पत्रकार तेजेन्द्र केसीको सञ्चालनमा भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।