ताजा अपडेट »

शिक्षालय नै निशानामा किन ?

शुक्रबार, ०७ माघ २०७८, १७ : ३६

२४ नोभेम्बर २०२१ म अफ्रिकामा पत्तालागेको ओमिक्रोन कोभिड १९ को नयाँ भेरियन्ट हो । यो एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्ने ज्ञाताहरु बताउछन् । यसबाट जोगिन सबै सजग हुनु पर्दछ । आम नागरिकहरु स्वास्थ्य प्रति गम्भिर हुँदै सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड अपनाउनु पनि उत्तिकै अपरिहार्य छ । यसै सन्दर्भमा यहाँ एउटा महत्वपुर्ण विषय उठान गर्न खोजिएको छ ।

जब जब कोभिड १९ र यसका नयाँ भेरियन्टबाट संक्रमितहरु बढ्दै जान्छन् तबतब सरकारको ध्यान पहिला शिक्षालयमा नै किन पुग्छ ? एउटा सत्य कुरा यो हो कि विद्यालय, क्याम्पसहरुमा धेरै संख्यामा विद्यार्थिहरु अध्ययन गर्छन् । उनीहरु मार्फत रोग सर्ने सम्भावना उच्च नै रहन्छ । तर के विद्यालय मात्रै भाइरस सार्ने माध्याम हुन् त ? हैनन् भने स्कुल, क्याम्पसको तुलनामा खतरा हुने अन्य कतिपय ठाउँहरु खुलै रहँदा विद्यालय, क्याम्पसहरु किन बन्द छन् त ?

रोग नियन्त्रणका नाममा सबै तहका शिक्षालयहरु बन्द हुनु चाहिँ अत्यन्तै कमजोर धरातलमा गरिएको निर्णय हो । प्रि प्राइमेरी देखि मास्टर्स वा सोभन्दा माथि सम्म अध्यापन गराइने शैक्षिक सस्थाहरु एकै साथ बन्द हुनु कुनै पनि हिसाबले मिल्दो छैन । व्यवहारिक छैन । वैज्ञानिक छैन । साना उमेरका केटाकेटीहरु मास्क लगाउन सक्दैनन् । भौतिक रुपमा दुरी कायम गर्न सक्दैनन् । साथै अन्य सुरक्षाका मापदण्ड अपनाउन सक्दैनन् । उनीहरुबाट यो भाइरस सर्ने प्रवल सम्भावना रहन्छ ।

तर माध्यमिकदेखि क्याम्पस तहका विद्यार्थिहरु सबै स्वास्थ्य मापदण्ड अपनाउन सक्ने हुन्छन् । अझै यि विद्यार्थीहरु त हेलचेक्रयाइँ नगरेमा बिदा दिँदा भन्दा स्कुल कलेजमा बढी सुरक्षित रहन्छन् । यस्तो अवस्थामा तहगत रुपमा नगरी किन एकसाथ सबै शैक्षिक सस्था बन्द भन्ने प्रश्न उठेको छ । यसको वैज्ञानिक कारण खोजिएको छ । शिक्षालय भन्दा रोग सर्न सक्ने सम्भावित अन्य धेरै ठाउँहरु छन् । सार्वजनिक यातायात, हवाइ यातायात, होटल रेष्टुरेन्ट, सुपरमार्केट र अन्य बजारहरुमा हेरौँ त ? सार्वजनिक यातायातमा प्रत्येक पटक रोक्दा कोही न कोही नयाँ व्यक्ति प्रवेश गर्छन् । झर्छन् । देशका बिभिन्न जिल्लाका मात्रै हैन देशविदेशबाट आएका समेत त्यहाँ यात्रा गरेका हुन्छन् । बसमा चढने ओर्लने गर्दा धेरै मानिसहरु प्रत्यक्ष सम्पर्कमा आउछन् ।

त्यहाँ यात्रा गर्ने कतिपय अनपढ हुन्छन् । उनीहरुलाई स्वास्थ्य मापदण्डका त कुरै नगरौँ , भाइरसका बारेमा समेत जानकारी हुदैन । जानकारी भएपनि कतिपयले स्वास्थ्य मापदण्ड अपनाउन अस्वीकार गर्छन् । बसमा चाहेर पनि यात्रुहरुलाई भौतिक दुरी कायम राख्न सकिदैन । धेरै सानो क्षेत्रमा मानिसहरु खाँदिएर बस्नु पर्दछ । अझै काठमांडौ जस्ता शहरबजारमा त मानिसहरु बसमा पुर्व, पश्चिम दिशा मिलाइ मिलाइ फर्काएर, कोचेर कपडा पटाएझैँ गरी यात्रा गराइन्छ । त्यहाँ केको मापदण्ड ? के को भौतिक दुरी? त्यसैगरी सार्वजनिक यातायातले यात्राका क्रममा मात्रै हैन समुदायमा समेत खतरा बढाउछ ।

त्यसैगरी होटल, रेष्टुरेन्टमा मानिसहरु खान पुग्छन् । भोज भतेर गर्न जान्छन् । मास्क लगाएर केही खान मिल्दैन । जब मास्क खोलिन्छ अनि मापदण्ड पुरै निस्तेज हुन्छ । त्यसैगरी खाने कुरा मार्फत भाइरस सर्ने थप सम्भावना रहन्छ । होटल रेष्टुरेन्टमा प्रयोग गरिने प्रत्येक बस्तुहरु सेनिटाइज गरिदैन । सामान्य रुपमा धोएर पूनः प्रयोग गरिन्छ । त्यस्ता साधनहरुबाट रोग सर्ने सम्भावना अधिक रहन्छ । सुपरमार्केट र अन्य बजारहरुमा पनि शिक्षालयहरुमा भन्दा धेरै संख्यामा मानिसहरु जम्मा हुन्छन् । त्यस्ता ठाउँहरुमा कुनै मापदण्ड अपनाइदैन । यि केही प्रतिनिधि उदाहरणहरुबाट के मात्र भन्न खोजिएको हो भने विद्यालयहरु मात्रै बन्द गरिनु औचित्यपूर्ण छैन । सार्वजनिक यातायात, हवाइ यातायात, होटल र्ष्टुरेन्ट, सुपरमार्केट र अन्य बजारहरु पनि आवश्यकता हेरी मात्रै बन्द हुनुपर्छ । यहाँ केवल तुलनात्मक रुपमा हेर्नका लागि यि ठाउँहरु उल्लेख गरिएका हुन् ।

शिक्षालयमा निश्चित संख्यामा उही विद्यार्थी, शिक्षकहरु सहभागि भइ अध्ययन, अध्यापन गर्छन् । जहाँ कम्तिमा एक वर्ष वा एक सेमेष्टर उही व्यक्ति मात्र कक्षामा रहने गर्छ । नयाँ भर्ना हुन पाउदैन । नयाँ व्यक्ति कक्षामा प्रवेश नै हुदैन । उनीहरु सचेत रहन सके अन्यबाट रोग सर्ने सम्भावना त्यहाँ रहदैन । विद्यालय क्याम्पसहरुमा पढ्दै गरेका व्यक्तिहरु अन्य सामान्य नागरिकहरु भन्दा रोगका बारेमा अधिक जानकारी पाएका हुन्छन् । शैक्षिक सस्था र विद्यार्थीहरुले सावधानी मात्र अपनाउन सके कक्षा पाँच भन्दा माथिका कक्षाहरुमा पढ्नेहरुबाट रोग सर्ने सम्भावना सारै कम रहन्छ । हेलचेक्रयाइँ गरेमा त कहि कतै जतिदिन बन्द गरे पनि रोकथाम हुन सक्दैन ।

शैक्षिक सस्थाहरु मात्र बन्द गर्नु महामारी नियन्त्रणको विकल्प हैन । भिड कम हुने गरी शैक्षिक सस्था खोल्न सक्ने अनेकन विकल्पहरु छन् । सरकारले सरोकारवालाहरुसँग छलफल गरेर कक्षा छ देखि कलेज तह सम्म शिक्षालय खोल्न सक्छ । खोल्न सम्भव छ । संक्रमणबाट बच्न विभिन्न विकल्पहरु अपनाउन सकिन्छ । केही उपाएहरु अवलम्वन गर्दा आधा मात्र विद्यार्थीहरु उपस्थित हुन्छन् । जसका कारण स्वास्थ्य मापदण्ड मनिटरिङ गर्न र सामाजिक दुरी कायम गर्न प्रयाप्त सुविधा रहन्छ । यसरी कक्षा चलाउदा यातायातका साधनमा आउनेहरुलाई पनि दुरी काम गरी सिटमा बस्न सम्भव हुन्छ ।

जस्तो उमेर परिपक्वताका हिसाबले कक्षा छ भन्दा माथि मात्रै स्कुलहरु संचालन गर्ने । जोर, बिजोर कक्षा गरेर कक्षाहरु संचालन गर्ने । दुइ सिफ्टमा कक्षाहरु संचालन गर्ने । तहगत रुपमा छुट्टाएर हप्ताको एउटा तहको विद्यार्थीको कक्षाहरु मात्र संचालन गर्ने । केही कक्षा अनलाइन र केही भौतिक दुरी कायम गरी संचालन गर्ने । विहान साझका प्राथनाहरु, खेलकुद, अतिरिक्त क्रियाकलाप, पिटि आदि नगर्ने । स्वास्थ्य सम्वन्धी जनशक्ति थपेर दैनिक सामान्य चेकजाच गर्ने । यस्ता उपायहरु लागु भए नभएको स्थानीय निकायले कडा नियमन गर्ने ।

विगत दुइसाल देखि कोभिड १९ का डेल्टा, ओमिक्रोन जस्ता विभिन्न भेरियन्टले सबै क्षेत्रलाई नराम्रो सँग असर पार्दै आएको छ । शिक्षा क्षेत्र यसबाट अछुतो रहने सवाल भएन । विश्वका करीव १.७२५ विलियन विद्यार्थीहरु यसको प्रत्यक्ष परोक्ष प्रभावमा पर्दै आएका छन् । शिक्षा क्षेत्रको बन्दाबन्दीले केवल शिक्षालाई मात्र असर पारेको छैन । यसले आर्थिक, सामाजिक, अनुसन्धान लगायतका क्षेत्रमा नकारात्मक प्रभाव परेको छ । केही देशहरुमा शिक्षालयहरुलाई अवस्था हेरेर मात्र बन्द गरेको पाइन्छ । तर नेपालमा पहिला स्कुलहरु बन्द गरेर रोग नियन्त्रणका बारे सोच्न थालिन्छ । अब नेपालमा महामारीका बिच पनि स्कुल, कलेजहरु खोल्ने विकल्पका बारेमा आवश्यक निर्णय लिनु अपरिहार्य भएको छ ।

राजनीतिक परिवर्तनका काल खण्डमा पनि पहिलो शिकार शिक्षालयहरु नै बनाउने चलन थियो । शासन सत्ताका मालिक स्कुल संचालकहरुनै हुन झैँ गरी स्कुलहरु वम बारुद हानेर तहस नहस पारिन्थ्यो । बन्द आदिमा यातायात र स्कुल नै निशानामा रहन्थे । स्कुल, क्याम्पस र सार्वजनिक यातायात बन्द हुनु हडताल सफल हुनु सरह ठानिन्थ्यो । अहिले आएको कोरोनाको शिकार पनि शिक्षालयहरुलाई नै पारिएको छ । हाम्रा सरकारहरु शैक्षिक सस्था खोल्ने विकल्पका बारेमा छलफल गर्न अब तयार रहनुपर्छ । यदि विश्वभर कोरोनाका नयाँ भेरियन्टहरु देखिदै गएमा सधैंभर स्कुल, कलेजहरु बन्द गरीराख्ने ? अन्तहिन शैक्षिक सस्थाहरु मात्रै बन्द मात्र गर्ने बिकल्प पक्का सही हैन ।

तससर्थ माथि उल्लेख भएका कतिपय स्कुलभन्दा संक्रमण बढ्ने खतरा हुने स्थानहरु खुला राखेर स्कुल क्याम्पस मात्रै बन्द गर्नु न्यायोचित र रोग नियन्त्रणको उचित कदम हुन सक्दैन । त्यसैगरी अर्को पाटो शिक्षालयहरु बन्द गर्नु पुर्व जनस्वास्थ्यवीदहरु, सरेकारवालाहरु, शिक्षक, विद्यार्थी र अभिभावकहरुसँग समेत छलफल हुनु आवश्यक हुन्छ । सबैको मनोविज्ञान बुझनु आवश्यक हुन्छ । तर नेपालमा यो अपनाइएको छैन । महामारी रोक्न आवश्यक पर्दा शिक्षालय त के देश नै लकडाउन पनि गर्नु पर्छ । त्यो भोगेको पनि हो । यसमा विमति राख्नु हुदैन । तथापि समग्र क्षेत्रमा रोग सर्न सक्ने अवस्था हेरी पहिला कुन क्षेत्र बन्द गर्नु पर्ने हो त्यो चाहि छुट्टिनु हुनु जरुरी हुन्छ । तबमात्र सरकारले गर्ने निर्णयमा मतैक्य रहन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।