ताजा अपडेट »

पाँच दिनदेखि अत्यधिक चिसो, शीतलहरले जनजीवन थप प्रभावित

विहीबार, ०६ माघ २०७८, ११ : ३१

सर्लाही । लगातारको चिसो स्याठ, हुस्सु र शीतलहरका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ । पाँच दिनदेखि घाम नलागेर हुस्सुर कुहिरो लाग्दा जिल्लामा अत्यधिक चिसो महसुस भइरहेको हो ।

पाँच दिनयता लगातार बढेको चिसो र दुई दिनदेखि सुरु भएको शीतलहरले जिल्लामा विपन्न तथा न्यानो कपडाको जोहो गर्न नसक्ने गरिब समुदाय संकटमा परेका छन् । चिसो छल्न दिनरात आगो तापे बस्नु पर्ने बाध्यता आइपरेपछि दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई थप समस्या परेका छ । 

यसरी दिनरात आगो तापेर बस्नु पर्दा दैनिक छाक टार्न सकेत समस्या परेको सर्लाहीको चन्द्रनगर-६, कामत बस्ने विन्दे माझीले गुनासो गरे । ‘परिवारमा नाैजना छौँ । हामीले दैनिक काम गरेर छाक टार्ने होे,’ उनेले भने, ‘चिसोले चार दिनदेखि बाहिर निस्कन सकेका छैनौं । कसरी पेट भर्ने ?’ उनी जस्ता यस गाउँमा दर्जनौ परिवार रहेको उनले बताए । सबै परिवारको अवस्था उस्तै रहको उनकाे भनाइ थियो । 

कठ्यांग्रिदो चिसोसँगै हुस्सु र कुहिरोले बिहानैदेखि नजिकैको दृश्यसमेत नदेखिने अवस्था छ । बिहानदेखि चिसो स्याँठसमेत चल्ने गरेको छ । बिहीबार बिहानबाट भने शीतलहर चलिरहेका कारण सर्वसाधारण थप कठ्यांग्रिएका छन् । चिसो छल्न जिल्लावासीले जसोतसो, आ-आफ्नो घर तथा चाेक बजारमा आगो बालेर तापिरहेका छन् । घाम नलागेर कठ्यांग्रिदो चिसो बढेपछि बालबालिका र वृद्धवृद्धामा धेरै प्रभावित परिरहेको छ ।

चिसोले शारीरिक रूपमा कमजोर रहेका स-साना बालबालिका, वृद्धवृद्धाहरुलाई धेरै जोखिम रहने चिकित्सकहरूको सुझाव छ । चिसोका कारण अहिले रुघाखोकी लाग्ने, घाँटी, टाउको र छाती दुख्ने, ज्वरो आउने समस्याका विरामी प्रत्येक घरका रहेका छन् । यस्ता लक्षणका कारण कोरोना संक्रमणको जोखिम आशंकाले समुदायका थप त्रास सृजना गरेको छ । अत्यधिक चिसोको समयमा यस्ता लक्षणका विरामी देखिनु सामान्य भएकाले नआत्तिन र सुरक्षितसँग विरामीको ख्याल गर्न मलंगवास्थित स्तुति सौम्य अस्पतालका चिकित्सक डा. गुणेश्वर झाले सुझाव दिए । 

जिल्लामा चिसो अत्यधिक बढेको कारण सकेसम्म घरभित्रै बस्न, बाहिर निस्कँदा शरीरमा चिसो नपस्ने गरी न्यानो कपडा लगाउन र बेलाबेलामा तातो र झोलिलाे खानेकुरा धेरै खान चिकित्सकहरूले आग्रह गरेका छन् ।  साथै चिसोमा हुने संक्रमण अहिले धेरै देखिने भएकाले कुनै स्वास्थ्य समस्या देखिए तुरुन्त स्वास्थ्य संस्था गएर उपचार गराउनसमेत सुझाव दिएका छन् ।

यता स्थानीय सरकारले चिसोबाट आफ्ना नागरिक जोगाउन कुनै व्यवस्था नगरेको गुनासो बढ्न थालेको छ । जिल्लाको केही पालिकाले चोकचोकमा दाउरा बाँड्नेबाहेक कुनै काम नगरेका स्थानीय विनोद यादवले बताए । समयमा कुनै काम नगर्ने गरेका पालिकाहरूले चिसोको कपडा गर्मी लागेपछि बाँड्ने परिपाटी  पहिलादेखिकै भएको उनले सुनाए । 

पालिका प्रमुखहरू भने भर्खर चिसो सुरु भएकाले आफूहरू तयारीमा लागेको बताउँछन् । केही पालिकाहरूको भने यस विषयमा धारणा फरक छ ।अहिले नै जाडोको सामान बाँडे भोलि थप जाडो बढ्दा थप व्यवस्था गर्नु पर्ने भएकोले ढिलो गरी एकैपटक बाँड्ने योजना उनीहरुको छ ।-न्युज कारखाना 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।