ताजा अपडेट »

पशुपतिनाथ मन्दिरमा भक्तजनलाई रोक लगाइएकोमा विरोध

बुधबार, ०५ माघ २०७८, १७ : ३३
2 Shares

काठमाडौं । कोरोना भाइरसको संक्रमण देखाएर पशुपतिनाथमा भक्तजनलाई रोक लगाइएको भन्दै विरोध भएको छ । सरकारले बुधबारदेखि पशुपतिनाथ मन्दिरमा नित्यपूजाबाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरेकोमा सरोकारवालाले विरोध जनाएका हुन् ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानले नेपालमा हिन्दुहरुलाई मात्र रोक लगाउन थालिएको टिप्पणी गरे । ‘क्रिस्चियनका चर्च र इस्लाम धर्मका मस्जिद पनि छ । तर, हिन्दु धर्मालम्बी जाने मन्दिरमा मात्र किन रोक ?’ बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले प्रश्न गरे । 

न्यौपानेले सरकारले लागू गरेका नियमअनुसार हिन्दू धर्मका कुनै पनि मन्दिरमा प्रवेश गर्न नपाइने भनिएकोमा आपत्ती जनाए । चर्चमा २५ जना मात्रले प्रार्थना नगर्ने भन्दै हजारौको संख्यामा प्रार्थना गर्ने उल्लेख गरे । हिन्दू धर्म र मन्दिरमा मात्र कोरोना लाग्ने सुन्दा बढो अनौठो लागेको उनको भनाइ थियो 

बुद्धिजीवी प्रकाश रायमाझीले राज्यले कोभिडको नाममा ब्रह्मलुट मच्चाइरहेको बताए । राज्यले पशुपतिनाथ मन्दिरमा नित्यपूजाबाहेकका क्रियाकलाप बन्द गरेर कोभिडको नाममा आतंक मच्चाइरहेको उनले टिप्पणी गरे । कोभिडलाई राजनीतिक दलहरुले राजनीति गर्ने हतियार बनाएको उनको आरोप थियो । 

‘सत्तामा बस्नेहरु हिन्दुका सबै मठ मन्दिरहरु बन्द गरिन्छ, पशुपतिमा नित्यपूजाबाहेक सबै बन्द गरिन्छ अनि कोभिड भाग्छ । अनि तिनीहरुका सभा र सम्मेलन गर्न परेमा बीसौ हजार मानिस जम्मा हुन्छन् अनि कोभिड भाग्छ । आफ्नो महाधिवेशनमा कोभिडको सूचना आए पनि फिर्ता लिइन्छ,’ उनले भने, ‘हिन्दुधर्मका पूजाआजा, स्वस्थानीका व्रत आउँछन्, तब ती महिनामा मात्र कोभिड आउँदो रहेछ । यो विचित्रको कोभिड रहेछ जसले हिन्दु धर्मलाई मात्र असर गर्छ ।’

विश्वभक्त बाबाले धार्मिक संस्थाहरुले नै धर्म र राष्ट्र भनेको नबुझेको बताए । उनले राष्ट्र भनेकै धर्म भएको भन्दै नेताहरुले नबुझेको उनले टिप्पणी गरे । राष्ट्रको सबैभन्दा ठूलो शक्ति भएको धर्म हो भन्दै उनले कोभिडको बहानामा मठमन्दिर र देवता नै बन्द गराएर दुनियाँ हँसाएकोसमेत आरोप लगाए । भक्तहरुलाई पशु्पति नाथ गएर पूजा गर्न मिल्दैन भनेर भन्नेहरुले सबै भक्तहरुको स्वास्थ्यको जिम्मा लिनुपर्नेमा उनले जोड दिए । पशुपतिनाथ मन्दिरमा २४ सै घन्टा नित्यपूजा गर्नुपर्ने बताउँदै उनले मन्दिर दशनार्थीहरुको लागि खुल्ला गरिनुपर्ने बताए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।