ताजा अपडेट »

नवलपुर जेसीजको पदहस्तान्तरण,‘महिला सवल र सक्षम छन्’

बुधबार, ०५ माघ २०७८, ०९ : १४
16 Shares

नवलपुर । मानिस असल र राम्रो हुनका लागि उसको व्यवहार राम्रो हुनुपर्ने गण्डकी प्रदेश सभा विधायन समितिका सभापति एवम् प्रदेश सांसद विष्णु प्रसाद लामिछानेले बताए । नवलपुर जेसीज वर्ष २०२१ ले २०२२ लाई पदहस्तान्तरण गर्ने क्रममा सांसद लामिछानेले जेसीजको सिद्धान्त र विचारमा युवाहरु जोडिनुपर्ने बताए।

महिला पनि हरेक कुरामा सवल र सक्षम छन् भन्ने कुराको पुष्टि नवलपुर जेसीजले महिलालाई अध्यक्ष जस्तो जिम्मेवारी दिनुले पनि प्रमाणित गरेको बताउँदै उनले हरेक क्षेत्रमा महिलाले नेतृत्व लिन र सक्षम महिला नेतृत्वलाई सहयोग गर्न पनि आग्रह गरे ।

पदहस्तान्तरण कार्यक्रममा शुभकामना दिँदै कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भीमलाल कंडेलले जेसीज अनुशासित युवाहरुको संस्था भएकाले कुलत र दुब्र्यसनीमा फसेका युवाहरुको जीवनशैलीलाई सुधार्न भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष विरेन्द्र पराजुलीले जेसीजले आफ्नो कार्ययोजनामा राखेको जेसीज पुस्तकालयका लागि सवैभन्दा पहिला भवन आवश्यक पर्ने हुँदा महासंघ भवन र जेसीज पुस्तकालय सँगसँगै हुँदा यसको प्रयोग र प्रभावकारिता उपयोगी हुने भएकाले महासंघ भवन तथा जेसीज पुस्तकालयको अवधारणालाई सँगसँगै अगाडी वढाउन संस्थागत रुपमा आफूले पहल गर्ने बताए ।

कार्यक्रममा नवलपुर जेसिज वर्ष २०२१ का अध्यक्ष जेसी विष्णु कंडेलले आफ्नो कार्यकालमा बनाइएका योजना कोभिडका कारण सम्पन्न गर्न नसकेकाले अवको नयाँ नेतृत्वले वाँकी कार्यभार पूरा गर्नेमा आफू बिश्वस्त रहेको बताए।

नवलपुर जेसीजले दोस्रो पटक महिला अध्यक्ष पाएको छ । नवलपुर जेसीज वर्ष २०२२ को अध्यक्षमा जेसी राधिका भुसाल निर्वाचित भएपछि दोस्रो पटक महिला अध्यक्ष पाएको हो । अध्यक्ष भुसालले पद ग्रहण पछि बोल्ने क्रममा नवलपुर जेसीजले कावासोतीमा स्वास्थ्य र शिक्षाका क्षेत्रमा पिछडिएको गाउँ पहिचान गरी एक गाउँलाई जेसीज गाउँको रुपमा स्थापित गर्दै उक्त गाउँमा स्वास्थ्य र शिक्षामा प्रमुख भूमिका निर्वाह गर्ने बताइन् । उनले यस क्षेत्रमा रहेका विभिन्न सामाजिक उदेश्यका संघसंस्थासँग सहकार्य गर्दै युवाको नेतृत्व तथा ब्यक्तित्व बिकास सहित सामाजिक क्रियाकलाप गर्ने बताइन्।

कार्यक्रममा नवलपुर जेसीजका संस्थापक अध्यक्ष जेसी बैकुण्ठप्रसाद अर्याल, नेपाल जेसीजका राष्ट्रिय महासचिव जेसी कृष्णप्रसाद सापकोटा, नारायणगढ जेसीज वर्ष २०२२ का अध्यक्ष अमृत श्रेष्ठ लगाएतले शुभकामना भनाई राखेका थिए ।

लुम्बिनी बोर्डिङ स्कूलको सभाहलमा आयोजित १२ औं पदहस्तान्तरण तथा पुरस्कार बितरण कार्यक्रममै अध्यक्षले मनोनयन गर्न पाउने तीन पद समेत पदपूर्ति गरिएको छ । अध्यक्ष भुसालले महासचिबमा जेसी लोकनाथ सिंखडा, कोषाध्यक्षमा दिपेन्द्र पौडेल र कानूनी सल्लाहकारमा ओमकार घिमिरेलाई मनोनित गरेकी छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।