ताजा अपडेट »

सैनामैनामा बुधवारदेखि एन्टिजेन परीक्षण, कुन वडामा कहिले ? जानकारीसहित

मंगलबार, ०४ माघ २०७८, १६ : ५५
4 Shares

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले (कोभिड-१९) का सम्भावित बिरामीको समुदाय स्तरमा एन्टिजेन परीक्षण गर्ने भएको छ । अहिले कोरोना भाइरस र तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण बढिरहेकोले समुदाय स्तरमा संक्रमणको अवस्था कस्तो छ भनेर पत्ता लगाउन र संक्रमित व्यक्तिलाई छुट्टाएर आइसोलेसनमा राखी उपचार गर्ने प्रयोजनका लागि एन्टिजेन परीक्षण गरिने भएको हो ।

भोलि बुधबारदेखि समुदाय स्तरमा एन्टिजेन परीक्षण गरिने नगरप्रमुख चित्रबहादुर कार्कीले बताए । कोरोना भाइरसको लक्षण देखिएका व्यक्तिहरुलाई तोकिएका स्थानमा आई परिक्षण गर्न प्रमुख कार्कीले आग्रह गरेका छन् । भोलि बुधबार पहिलो दिन वडा नम्बर १ को कार्यालयमा बिहान १० बजेदेखि १२ बजेसम्म र वडा-२ को कार्यालयमा दिउँसो २ देखि ४ बजेसम्म परीक्षण गरिने भएको छ ।

त्यस्तै दोस्रो दिन माघ ६ गते पर्रोहा स्वास्थ्य चौकीमा वडा-३ का लागि बिहान १० देखि १२ बजेसम्म समय तोकिएको छ भने वडा-४ का लागि दिउँसो २ देखि ४ बजेसम्म सोही स्थानमा समय तोकिएको छ । माघ ७ गते वडा-५ को बुद्ध स्टार क्लब भवनमा बिहान १० देखि १२ बजेसम्म र वडा-६ को दुधराक्ष स्वास्थ्य चौकीमा २ देखि ४ बजेसम्म एन्टिजेन परीक्षण गरिने नगरपालिकाले जनाएको छ । माघ ९ गते वडा-७ को वडा कार्यालय देउवापार र वडा-८ को आधारभूत स्वास्थ्य सेवा केन्द्र बाँसगढीमा परीक्षण गरिने छ । माघ १० गते वडा-९ को कार्यालयमा बिहान १० देखि १२ सम्म र वडा-१० को कार्यालयमा दिउँसो २ देखि ४ बजेसम्म परीक्षण हुने भएको नगरपालिकाले जनाएको छ । त्यस्तै माघ ११ गते वडा-११ को कोटियादेवी मावि तालिमा बिहान १० देखि १२ बजेसम्म एन्टिजेन परीक्षण हुने भएको छ ।

नगरपालिकामा हालसम्म ५७ हजार बढीले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका छन् । नगरका ११ वटै वडाका गरि कूल ५७ हजार ६ सय ३९ जनाले कोरोनाविरुद्धको खोप लगाएको तथ्याङ्कमा उल्लेख छ । नगरपालिकाका अनुसार पहिलो खोप लगाउनेमा ४७ हजार ६ सय ४० जना रहेका छन् । जसमा १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका पनि छन् । त्यस्तै पहिलो खोप लगाउनेको विद्यार्थीको संख्या ९ हजार ९ सय ९९ रहेको छ । नगरमा पूर्ण खोप अर्थात् दुबै खोप लगाउनेको संख्या ४२ हजार ३ सय १२ जना रहेको पालिकाले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।