ताजा अपडेट »

काठमाडौं उपत्यकामा माघ मसान्तसम्म आमसभा, जुलुसमा रोक, सरकार भन्छ- लकडाउन हुन्न

मंगलबार, ०४ माघ २०७८, १६ : २८
4 Shares

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म आमसभा, जुलुस, भेला, गोष्ठीलगायतमा रोक लगाएका छन् । तीनै जिल्लाले मंगलबार दिउँसो एकै प्रकृतिको आदेश जारी गर्दै नरम खालको लकडाउनको निर्णय गरेका हुन् ।

‘सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलापमा माघ मसान्तसम्म सञ्चालन नगर्ने’, काठमाडौं जिल्ला प्रशासनले मंगलबार जारी गरेको २७ बुँदे आदेशमा भनिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले कोरोनाको लक्षण देखिए पाँच दिन क्वारेन्टाइनमा बस्नसमेत आग्रह गरेको छ। उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाइएको छ । मन्दिर दर्शन र पूजाआजामा अस्थायी रोक लगाइएको छ ।

भौतिक रूपमा उपस्थित गर्नुपर्ने कार्यका लागि २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम लागू गरिएको छ ।यसैबीच सरकारले लकडाउन नगर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले लकडाउनको पक्षमा सरकार नरहेको स्पष्ट पारेको छ । संसद्‍को शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा स्वास्थ्य सचिव रोशन पोखरेलले यस्तो बताएका हुन् । ‘हामी लडकडाउनको पक्षमा छैनौं । भीड नियन्त्रण होस् । स्वास्थ्य मन्त्रालय लडकडाउनको विरुद्धमा छ,’ उनले भने।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।