ताजा अपडेट »

नेपालमा दैनिक २० हजार संक्रमित नाघ्ने !

मंगलबार, ०४ माघ २०७८, ०९ : ५०
2 Shares

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलले नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एकै दिन २० हजार नाघ्ने प्रक्षेपण गरेका छन् । उनले अबको तीनदेखि चार हप्ताभित्र कोरोना सङ्क्रमण एकदमै उच्च बिन्दुमा पुग्ने बताए । कोरोना सङ्क्रमितमध्ये १० प्रतिशतलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउने उनले बताए ।

कुल सङ्क्रमितको पाँच प्रतिशत अस्पताल जाने सङ्ख्या हुने जानकरी दिँदै सचिव पोखरेलले अस्पताल भर्ना हुनेमध्ये तीन सयदेखि चार सय जनासम्म सिकिस्त खालका बिरामी हुने र तीनलाई आईसीयू तथा भेन्टिलेटरमा उपचार गराउनुपर्ने अवस्था आउने बताए । उनले कोरोना बढ्दै गएपछि त्यसको नियन्त्रण र उपचारका लागि सरकारले तयारी गरिरहेको बताए । “अस्पतालमा बेड थप्ने काम भइरहेको छ”, सचिव पोखरेलले भने, “अस्पतालहरूले पनि ननकोभिडलाई हटाउँदै कोभिडका बिरामी तथा थप बेडसमेत थप्दै लगेका छन् ।”

अस्पताल भर्ना हुनेको सङ्ख्या बढ्दै गएको जानकारी दिँदै उनले पहिलेको तुलनामा आईसीयू र भेन्टिलेटरमा भर्ना हुनेको सङ्ख्या कम रहेको बताए । मृत्युदर, आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने सङ्ख्या कम भए पनि सङ्क्रमित भने ह्वात्तै बढ्ने भएकाले डर भएको डा। पोखरेलको भनाइ छ । “यसले धेरैलाई सङ्क्रमित हुने भय छ”, उनले भने, “स्वास्थ्य मन्त्रालय कोरोना नियन्त्रणका लागि कटिबद्ध भएर लागिपरेको छ ।”

“सामान्य रुघाखोकी लागेर परीक्षण ग(यो, कोरोना पोजेटिभ देखाउँछ”, सचिव पोखरेलले भने, “पोजेटिभ आएपछि घर बस्नै प(यो ।” उनले युवालाई केही नभए पनि ज्येष्ठ नागरिकलाई यसले गाह्रो पार्न सक्ने बताए । लक्षण देखिएपछि कोरोना परीक्षण गराउन जान आग्रह गर्दै उनले ज्येष्ठ नागरिक र बालबालिकाको रोगप्रतिरोधात्मक शक्ति कम हुने हुँदा कोरोनाको असर उनीहरूमा देखिने बताए ।

डा। पोखरेलले सङ्क्रमितमध्ये ८५ प्रतिशतलाई सामान्य असर देखिने जानकारी दिँदै १० प्रतिशतलाई अस्पताल लैजानुपर्ने र तीमध्ये पनि पाँच प्रतिशतलाई आईसीयू तथा भेन्टिलेटर आवश्यक हुने बताए । डेल्टाभन्दा ओमिक्रोन भेरियन्ट कम घातक भएकाले अस्पताल भर्ना, आईसीयू तथा भेन्टिलेटरमा जाने सम्भावना भने कम रहेको उनले बताए । स्वास्थ्य मन्त्रालयका अनुसार हाल आठ हजार २०२ आइसोलेसन, तीन हजार ८४६ एचडीयू, दुई हजार ७९७ आईसीयू र एक हजार आठ भेन्टिलेटर बेड तयारी अवस्थामा छन् ।

पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि हुँदै गएको छ । त्रिवि शिक्षण अस्पतालका सयभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित छन् भने वीर अस्पतालका ५० जना चिकित्सक, नर्स सङ्क्रमित भइसकेका छन् । यस्तै सोमबार राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक, नर्स, प्यारामेडिक्स, प्रयोगशालाकर्मी गरी ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।-सरोज ढुङ्गेल/गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।