ताजा अपडेट »

मकर संक्रान्ति एवम् माघी पर्व

शनिबार, ०१ माघ २०७८, ०८ : २६
46 Shares


ज्योतिषीय दृष्टिकोणमा माघ महिनाको १ गते अर्थात् सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन हुदा यो दिनलाई माघे संक्रान्ति वा मकर संक्रान्ति भनिएको हो । सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष पनि मान्ने गर्छन्, नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने बाहुन, क्षेत्री, राई,मगर , लिम्बु, नेवार, गुरुङ, मगर र थारू आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा र भिन्न भिन्न विशेषता अनुसार मनाउने गरेको पाइन्छ ।

माघे संक्रान्तिको मुख्य विशेषता हो स्नान। यस दिन बिहानै उठेर पबित्र जलाशय गएर स्नान गर्ने चलन छ । स्नान गर्नका निमित्त सम्भव भए गङ्गा नत्र तिर्थ,नदि वा जलाशयको प्रयोग गर्नु भन्ने शास्त्रीय मान्यता छ। यो पर्व नेपाल भरका विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजा गरि मनाइन्छ । स्नान संगै दान को पनि उत्तिकै महत्त्व छ यो पर्बमा ।जस्तै भनिएको पनि छः–

माघे मासि महादेव यो दद्यात् घृतकम्बलम् ।
स भुङ्क्त्वा सकलान् भोगान् अन्ते मोक्षं च विन्दति ।।

मकर संक्रान्ति का दिन घिउ र कम्बल दान गर्नाले मोक्ष प्राप्त हुन्छ । मौसम अनुसार यो समय जाडो हुनाले यसलाई सामाजिक सद्दभावको आधारमा पनि पुष्टि गर्न सकिन्छ। यो शास्त्रीय मान्यता हो। अझ यो पर्बमा तिलको विशेष महत्त्व रहेको छ । जसले यो समयमा ६ प्रकार बाट तिलको उपयोग गर्छ, त्यो ब्यक्ति कहिल्यै असफल हुदैन भन्ने शास्त्रीय मान्यता छ । जस्त्तै ः तिलले स्नान गर्नु, तिल हवन गर्नु, तिलको तेल घस्नु, पितृलाई तिल युक्त जल अर्पण गर्नु, तिल दान गर्नु र तिलयुक्त्त परिकार खुवाउनु खानु रहेको छ। माघे संक्रान्ति बाट जाडो बाहुल्यता बिस्तारै घट्दै जाने गर्मी को ताप बढ्दै जान्छ ।

प्राकृतिक रूपले मात्र नभएर धार्मिक दृस्ठिकोण पनि बाट महत्त्वपूर्ण दिन हो यो । यस दिन सूर्य दक्षिणायणबाट उत्तरायण हुने हुदा दिनहरू लामा र रात हरू बिस्तारै छोटिदै जान्छन् । उत्तरायण सुरु भएपछि विभिन्न धार्मिक कार्य सुरु हुन्छन् । बिवाह,ब्रतबन्ध,वास्तु,व्रतप्रारम्भ र व्रतउद्यापन लगायत ठूलाठूला यज्ञयज्ञादि पनि यति बेला नै सम्पन्न हुन्छन् । जेठी, माइली रकान्छी सक्रान्तिको रुपमा मनाइने माघे संक्रान्ति मेला

पाल्पा, स्याङ्जा र गुल्मीको संगमस्थल रुरु क्षेत्रमा लाग्ने गर्दछ ।
पाँचदिनसम्म महोत्सवकै रुपमा रुरु क्षेत्रमा माघे संक्रान्ति मेला लाग्ने गर्दछ । माघ १ गतेलाई जेठी , २ गतेलाई माईली र ३ गतेलाई कान्छी सक्रान्तिको रूपमा मनिन्छ । यी तीनै दिन कालीगण्डकी स्नान गरे देव ऋण, पितृ ऋण र मनुष्य ऋणबाट मुक्ति मिल्छ भन्ने मान्यता रहेको छ । नेपालकै चारधाम मध्येको एकधामको रुपमा प्रसिद्ध रुरु क्षेत्र धाममा मेलाका लागि स्नान गर्न तथा मेला हेर्नका लागि आजदेखि नै भक्तजनहरुको घूँइचो लाग्दछ ।

मेलामा गुल्मी र पाल्पा क्षेत्रमा समेत विभिन्न संघ संस्थाहरुकोे आयोजनामा महोत्सव लाग्ने गर्दछ । यस क्षेत्रको महत्त्व वराह पुराण र विष्णु पुराणमा पनि उल्लेख छ । रुरु क्षेत्रमा कालीगण्डकी उत्तर बगेका कारण पनि उत्तरबाहीनी नदीमा स्नान गर्नाले पुण्य आर्जन हुने हिन्दु परम्परा र विश्वासका आधारमा हजारौं धर्मावलम्बीहरुको घुइचो लाग्ने गर्दछ । मेलामा स्वदेश तथा विदेशका भक्तजनहरुको समेत भीड लाग्ने गर्दछ । जेठी माइली र कान्छी संक्रान्तिका रुपमा मनाइने मेला हरेक वर्ष ५ दिनसम्म मनाइन्छ । माघे संक्रान्ति मेलाको लागि दाङ्ग, बाग्लुङ्ग,प्युठान, रोल्पा,रुकुम,स्याङ्गजा, पाल्पा लगाएतका स्थानवाट बास लगायत अन्य स्थानीय उत्पादन लिएर व्यापार गर्न आउने गरेका छन् ।
मेलामा काम्लो, राडीपाखी,ओखर, घा“जी, जडीबुटी, नाङ्गलो, वा“सका सामाग्री मेलामा बिक्रीको लागि राखिएका हुन्छन् । हिजोआज पनि माघे

सक्रान्ति देश विदेश जतासुकै मनाउने प्रचलन बढ्दै गएकोछ ।
खिचडी लगायत तिलका लड्डु, चाकु, तारुल र सेलरोटी जस्ता विभिन्न परिकारको साथमा माघे सक्रान्तिको रमझम गर्ने गरेको पाइन्छ । जाडोयाममा पर्ने यो चाडमा शरीरलाई न्यानो राख्न सहयोग पुर्याउने खाद्य सामाग्रीहरुको प्रयोग गरिनु स्वास्थ्यको हिसाबले पनि लाभदायक देखिन्छ ।
शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नियन्त्रणमा पनि भूमिका खेल्छ । जाडोयाममा तिलको तेल घस्नाले, तिलयुक्त परिकार खानाले पौष्टिक तत्वको वृद्धि हुन्छ भन्ने बैज्ञानिक मान्यता छ । तसर्थ यस्ता पर्वले धार्मिक सास्कृतिक सद्भाव बढाउने, सामाजिक रीतिरिवाजको जगेर्ना गर्ने लगाएत आपसी भाइचारा कायम राख्न पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।