ताजा अपडेट »

११ बुँदे मागसहित जनमत पार्टीको भैरहवामा प्रदर्शन

शुक्रबार, ३० पुस २०७८, १७ : ०४
4 Shares

भैरहवा । बिभिन्न ११ बुँदे माग राख्दै आन्दोलन गर्दै आएको जनमत पार्टीले आज जिल्ला सदरमुकाम भैरहवामा प्रदर्शन गरेको छ ।
माग पुरा गर्न उच्च स्तरिय वार्ताटोली गठन गर्ने माग सहित अनिश्चितकालीन आन्दोलनमा होमिएको जनमतले भैरहवामा बिभिन्न कृषि सामाग्री सहित प्रदर्शन गरेको हो ।

“पैसा ले मल दे”, “कृषि मन्त्री राजीनामा दे”, “हाम्रो माग पुरा गर” लगायतका नारा सहित जनमतले अहिले पनि नगर परिक्रमा गरि रहेको छ । नगर परिक्रमा सहित आफ्नो माग बारे जिल्ला प्रशासन कार्यालय, रुपन्देही र जिल्ला प्रहरी कार्यालयमा ज्ञापन समेत बुझाउने कार्यक्रम रहेको जनमत पार्टीका जिल्ला अध्यक्ष राम बिष्णु सिंह लोधले बताए । जनमत पार्टीका केन्द्रिय सचिव भोपेन्द्र प्रसाद यादवका अनुसार किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नु पर्ने, समयमा मलखाद र बीउको व्यवस्थाको सुनिश्चितता गर्नु पर्ने, सिंचाईको व्यवस्था गर्नु पर्ने, नसके सिंचाई बिजुली निशुल्क गर्नु पर्ने, बेमौसमी हावाहुरी र वर्षाले भएको बालीनाली क्षति वापत राहत दिनु पर्ने लगायतका माग राख्दै लामो समय देखी आन्दोलन गर्दै आए पनि कुनै सुनुवाई नभएको बताए ।

यस्तै बालीको उचित समर्थन मूल्य निर्धारण गर्नु पर्ने, उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गर्नु पर्ने, किसान कार्डको व्यवस्था गर्नु पर्ने किसान कार्ड देखाएर सीमानाकाको बजारबाट मलखाद, बीउ स्कृषि औजार सहितका सामान ल्याउन पाइने सुविधा दिनु पर्ने, किसानको लागि पनि पेन्सनको व्यवस्था गर्नु पर्ने, स्वतः बालीनाली वीमा हुने सुनिश्चितता गर्नु पर्ने, किसान माथि दमन बन्द गरी झुठा मुद्दा खारेज गरिनु पर्ने र गिरफ्तार आन्दोलनकारीलाई निःशर्त रिहा गरी मुद्दा खारेज गरिनु पर्ने जनमत पार्टीले माग अगाडी सारेको छ । यी मागहरु पुरा नगरे अनिश्चितकालीन आन्दोलन जारी रहने यादवले जनाए ।

भैरहवाको बुद्धचोकबाट सुरु भएको जनमत पार्टीको ¥याली देवकोटाचोक, बैंकरोड, हुदै जिल्ला प्रहरी कार्यालय पुगेको र त्यहाँबाट जिल्ला प्रशासन कार्यालय हुदै मिलनचोक, गल्लामण्डी, हनुमान मन्दिर हुदै पुनः बुद्धचोकमा पुग्ने जनमत पार्टीका जिल्ला अध्यक्ष राम बिष्णु सिंह लोधले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।