ताजा अपडेट »

‘ए’ डिभिजन लिग : खेल हेर्न खोप कार्ड अनिवार्य

विहीबार, २९ पुस २०७८, २० : ४७
8 Shares

काठमाडौँ । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा नवौँ राउन्डको खेल शुक्रबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । कोरोना भाइरसको बढ्दो संक्रमणसँगै लिगमा उपस्थित दर्शकलाई पनि स्वास्थ्य सावधानीका लागि बलियो मापदण्ड तय गरिने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

लिगका निर्देशक सन्जीव मिश्रले लिगमा उपस्थित दर्शकलाई अब अनिवार्य कोरोना भाइरसविरुद्ध खोप लगाएको कार्ड देखाउनु पर्ने प्रावधान राखिएको बताए। ‘दर्शकले अब टिकट लिँदा अनिवार्य खोप लगाएको कार्ड देखाउनुपर्नेछ । कार्डको फोटो खिचेर ल्याए पनि हुन्छ । सरकारको मापदण्ड अनुसार रंगशालाको प्यारापिटमा समेत भौतिक दूरी कायम गरिनेछ ।’

‘प्यारापिटमा दर्शकलाई एक सिट खाली राखेर अर्को सिटमा बस्ने व्यवस्था मिलाइनेछ । खाली सिटमा स्टिकर टाँसिनेछ । खेलाडी र अफिसियललाई पनि मास्क, स्यानिटाइजरलगायत सम्पूर्ण जोखिम न्यूनीकरणका मापदण्ड पूरा गरेर सहभागि गराइनेछ,’ मिश्रले भने।

मिश्रका अनुसार लिगमा सहभागी टोलीका खेलाडीलाई कोरोना संक्रमण भएमा क्लबसँगको समन्वयमा खेलाडीको उपचार लगायत सबै व्यवस्था एन्फाले गर्नेछ । लिगमा अहिले औसत दुई हजारदेखि १० हजारसम्म दर्शक आइरहेका छन् । लिगको शीर्ष टोली मच्छिन्द्र र मनाङ मस्र्याङ्दी क्लब बीचको खेलमा सर्वाधिक १० हजार दर्शक रंगशालामा उपस्थित थिए ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)को मंगलबार बसेको बैठकले रंगशाला प्रवेशका लागि कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरेको छ । लिगमा आठौँ चरण सकिँदा साविक विजेता मच्छिन्द्र २० अंक सहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको मनाङको १९ अंक छ ।

तेस्रो र चौथो स्थानमा रहेको संकटा र आर्मीको समान १४ अंक छ । पाँच अंक बनाएको च्यासल र तीन अंक बनाएको फ्रेन्ड्सले रेलिगेसन रेखा छल्न सकेको छैन । फ्रेन्ड्स जारी लिगका एउटा पनि खेल्न जित्न नसक्ने एक्लो टोली हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।