ताजा अपडेट »

विदेश निर्यात गर्ने अर्घाखाँची सिमेन्टको लक्ष्य, छिट्टै आइपिओ खोल्ने तयारी

विहीबार, २९ पुस २०७८, १८ : ३४
6 Shares

बुटवल । रुपन्देहीको सियारीस्थित अर्घाखाँची सिमेन्ट लिमिटेडले विदेशमा समेत निर्यात गर्ने लक्ष्य लिएको छ । कम्पनीले आगामी ५ वर्षभित्रमा भारतसहित भुटान र बंगलादेशमा निर्यातको लक्ष्य बनाएको छ । दुई देश बीच सरकारले स्वीकृत गरेमा पाँच वर्षभित्र ठूलो मात्रामा उत्पादन निर्यात गर्न सकिने कम्पनीका सेल्स एण्ड मार्केटिङ म्यानेजर रमेश थापाले जानकारी गराए ।

उनका अनुसार पूर्वाधार बिकासका लागि नेपालमा अघि बढीरहेका ठूला परियोजनाहरुले पनि माग बढाउने उल्लेख गरे । बुढिगण्डकी, अरुण, पश्चिम सेती लगायत ठूला परियोजना आउने क्रममा रहेकाले यि क्षेत्रमा सिमेन्टको खपत धेरै हुनेहुँदा माग बढ्ने अपेक्षा गरिएको उनले बताए । सडकदेखि राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरु आउने प्रक्रियामा रहेकाले सिमेन्टमा प्रतिस्पर्धा बढेपनि माग समेत वृद्धि हुने कम्पनीको अपेक्षा छ ।

६ महिना अघिमात्रै लिमिटेडमा गएको यस कम्पनीले आगामी आर्थिक वर्षमा प्राथमिक सेयर (आइपिओ) खुलाउने तयारी गरिहेको छ । कम्पनीका वित्तीय शाखा प्रमुख राजु पौडेलले आगामी आर्थिक वर्ष आईपिओ खुलाउने जानकारी गराए । ‘हामी ५÷६ महिना अघि मात्रै लिमिटेड कम्पनीका रुपमा गएका छौं । नियमानुसार यो वर्षको वित्तीय आधारलाई हेरेर अर्को वर्ष आइपिओ जारी गर्ने योजनामा छौं ।’–पौडेलले भने ।

अर्घाखाँची सिमेन्ट उद्योगले यो वर्ष एक करोड २५ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य लिएको छ। सेल्स एण्ड मार्केटिङ म्यानेजर थापाका अनुसार बजारमा माग र खपत बढेसँगै उत्पादन बढाउँदै लगिएको छ । हाल दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले वार्षिक एक करोड २० लाख बोरासम्म सिमेन्ट बिक्री गरिरहेको छ। यस वर्ष थप पाँच लाख बोरा सिमेन्ट बिक्री गर्ने गरी काम भइरहेको उनले जानकारी दिए।

कम्पनीले ओपिसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) र पिपिसी (पोर्टल्यान्ड पोज्जोलोना सिमेन्ट) गरी दुई प्रकारका सिमेन्ट उत्पादन गर्दै आएको छ।२०७१ सालबाट अर्घाखाँचीले बजारमा सिमेन्ट पठाउन थालेको हो। उद्योगमा मुरारका अर्गनाइजेसनसँगै सिद्धार्थ ग्रुप, केडिया अर्गनाइजेसन र भारतको उमा सिमेन्ट इन्टरनेसनलको संयुक्त लगानी छ। कम्पनीमा हालसम्म आठ अर्ब रूपैयाँभन्दा बढी लगानी पुगिसकेको बजार प्रमुख निलकण्ठ खनालले बताए।

सुरूमा ओपिसीमार्फत् कारोबार सुरू गरेको कम्पनीले ०७६ सालबाट पिपिसी उत्पादन थालेको हो।अर्घाखाँचीको सुरूआती उत्पादन क्षमता दैनिक २४ हजार बोरा मात्र थियो। बजार र प्रतिस्पर्धा बढ्दै गएपछि उत्पादन पनि बढाउँदै लगेको छ । कम्पनीले सिमेन्ट बनाउन चाहिने कच्चा पदार्थ, क्लिंकर पनि उत्पादन गरिरहेको छ। उद्योगको आफ्नै चुनढुंगा खानी छ। पहिले त्यसको गुणस्तर परीक्षण हुन्छ। अनि क्लिंकर बनाइन्छ र त्यो पनि परीक्षण गरिन्छ। त्यसबाट बनेको सिमेन्टको पनि गुणस्तर परीक्षण हुन्छ।

अर्घाखाँची ओपिसीले ४३ ग्रेडको उत्पादनका लागि इजाजत पाइसकेको छ भने नेपाल गुणस्तर तथा नापतौल विभागले ‘एनएचएस–५७२’ प्रमाणीकरण गरी कम्पनीलाई ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको छ । कम्पनीका म्यानेजर प्रोजेक्ट सेल्स इञ्जिनियर अभियान जैसवालले सिमेन्ट बजारमा दुई मुख्य समस्या रहेको बताउँछन् ।

माग–आपूर्तिको सन्तुलन र यातायातको अहिलेको समस्या हो । पहिले सिमेन्टको माग बढी हुँदा आपूर्ति कम थियो भने उद्योग बढेसँगै आपूर्ति धेरैभएपछि माग कम भएको छ । यसैगरी सिमेन्ट वितरणका गाडी संख्या नबढ्नु अर्को मुख्य समस्या भएको उनी बताउँछन्। ‘उत्पादन बढेअनुसार ढुवानीका लागि सात सय वटा गाडी थपिनुपर्ने माग छ। तर वार्षिक मुश्किलले सय वटा थपिन्छन्। यसले गर्दा भाडा महँगो परेको छ,’ उनले भने। सिमेन्टको माग अत्यधिक हुने सिजन जाडोयाम हो। दसैं–तिहार सकिएसँगै हरेक वर्ष माग बढ्छ। तर विगतको तुलनामा यस वर्ष कम भएको उनले बताए।

यसैगरी कोरोना महामारी तथा मुलुकको आर्थिक गतिविधि ठप्प हुँदा यसले बजारमा प्रत्येक्ष असर पारेको छ । सुरकारले पूँजिक खर्च गर्न नसक्दा वीत्तीय क्षेत्रमा भएको तरलता अभावसँगै उद्योगी व्यवसायीहरु मारमा परेका छन् । बैंकहरु नै पैसाविहिन हुन थालेपछि घर जग्गा बनाउने तथा विकास निर्माणका कामहरु समेत नहुँदा यसको प्रत्यक्ष असर सिमेन्ट उद्योगहरुलाई पनि परेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।