ताजा अपडेट »

कपिलवस्तुको विजयनगरमा नयाँ नेपाल भजन समुहको कार्यालय

बुधबार, २८ पुस २०७८, १० : ५०
4 Shares

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा नयाँ नेपाल भजन समुहको कार्यालय उद्घाटन गरिएको छ । नेपाली समुदायको संस्कृतिलाई संरक्षण तथा संवद्र्धनका लागि गाउँपालिकाको वडा नं.२ मगरघट्टामा नयाँ नेपाल भजन समुहको कार्यालय उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका सांसद अर्जुन कुमार केसीले नयाँ नेपाल भजन समुहको कार्यालयको उद्घाटन मंगलबार गरेका हुन् ।

कार्यक्रममा बोल्दै सांसद केसीले सबै धर्म, संस्कृति, सामुदायप्रति सबैले सम्मान गर्नुपर्ने बताएका छन् । उनले संसारको सबैभन्दा पुरानो ग्रन्थ वेद भएको बताउँदै संसार चलाउने वेद एउटा बौद्धिक संस्कृति भएको बताए । वेद बौद्धिकताले भरिएको एउटा किताबसमेत रहेको जनाउँदै ज्ञान आर्जनको अथाह भण्डार भएको केसीले बताए । सांसद केसीले भने, “वेद संस्कृतिको जड हो, त्यस जडलाई उखेलेपछि संस्कृति छिन्नभिन्न हुन्छ, आस्था छिन्नभिन्न हुन्छ, संकृतिलाई जोगाई राख्नु हामी सबै दायित्व हो” । उनले संस्कृतिलाई जोगाउँदै सबैले समाजमा मेलमिलाप, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र एक–आपसमा भाइचाराको सम्बन्धलाई कायम गर्दै अगाडी बढ्दै जानुपर्नेमा जिकिरसमेत गरे । अहिले नेपाली समाजमा विदेशी सँस्कृतिहरु भित्रि रहेकोले विभिन्न विकृति, विसङ्गतीबाट सचेत हुनेपर्ने उनले बताए ।

सबै आ–आफ्नो साँस्कृतिक रितिरिवाज र परम्परालाई संरक्षण तथा संवद्र्धनमा नयाँ नेपाल भजन समुहले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे । यस्तै विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले हरेक समुदायको धर्म, संस्कृतिलाई जोगाउनका लागि गाउँपालिकाबाट हरेक वर्ष बजेट विनियोजन गर्दै आएको बताए । उनले विभिन्न जातजातिका मठ, मन्दिर, पाटीपौवा, मस्जिद, धर्मशाला, संग्रहालय, होमस्टे जस्ता विभिन्न साँस्कृतिक महत्व झल्किने कार्यमा जोड दिँदै आएको जनाए । उनले हरेक समुदायको आफ्नै धर्म, संस्कृति, रितिरिवाज, परम्परा रहेको बताउँदै अहिलेको प्रविधि, समय र आधुनिकताले गर्दा यी सबै लोप हुँदै गएको महसुस भइरहेको बताए ।

नयाँ नेपाल भजन समुहले आफ्नो संस्कार, संकृतिलाई जगेर्ना गर्न सराहनीय कार्य गरेको भन्दै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत अध्यक्ष थापाले जनाए । यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिकाकी उप–प्रमुख शिव कुमारी थारुले आफ्नो संकृतिलाई दीर्घकालिन रुपमा जोगाई राख्नका लागि आगामी दिनमा साँस्कृतिक गतिविधिलाई निरञ्तरता दिँदै जानुपर्ने बताइन् । साँस्कृतिक गतिविधि लोप हुँदै गएमा समाजमा जोडिएर रहेको नेपालीको अस्तित्वसमेत लोप हुने भन्दै अब आउने पुस्तौँपुस्तासम्म जोगाई राख्नका लागि हाम्रो महत्वपूर्ण जिम्मेवारी रहेको उनले बताइन् ।

यस्तै विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले भजन किर्तनले मानिसलाई आत्म सन्तुष्टी दिने भएकोले निरञ्तर रुपमा भजन समुहलाई अगाडी बढाउनु पर्नेमा जोड दिइन् । उनले साँस्कृतिक रितिरिवाज, परम्परालाई संरक्षित राख्न सबैलाई लाग्न अनुरोधसमेत गरिन् । कार्यक्रम नयाँ नेपाल भजन समुहका अध्यक्ष बिष्णुहरी सापकोटाको अध्यक्षता, विजयनगर व्यापार संघका अध्यक्ष गोकर्ण सापकोटा, नेकपा एमाले गाउँकमिटी अध्यक्ष थर्क बहादुर खन्गाहा, जनप्रतिनिधि, समाजसेवी बुद्धिजीवी लगायतको उपस्थितिमा भजन समुहका सचिवसन्तोष तिवारीको स्वागत मन्तव्य र दिपेन्द्र मोहराको सञ्चालनमा सम्पन्न भएको हो ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल