ताजा अपडेट »

रातीमा सुरु भएर रातीमै सम्पन्न हुने मेलाको तिव्र तयारी

विहीबार, १७ माघ २०७५, ०५ : ०८
10 Shares

माघ १७,
सुरेन्द्र परियार
सैनामैना । रातीमा सुुरु भई रातीमै सकिने रुपन्देहीको सैनामैनामा हुने भड्छा महोत्सव आगामी आइतबारदेखि सुरु हुने भएको छ । भड्छा गाउँ समाज सैनामैना ८ रुपन्देहीले माघेऔंसीको अवसर पारेर आयोजना गरेको १०९ औ ३ दिने भड्छा महोत्सब तथा माघेऔसी मेला–२०७५ को तयारी तिव्र बनाइएको छ ।
‘हाम्रो सस्कृति हाम्रो पहिचान, संस्कृति जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूूल नारा सहित विगतका बर्षमा जस्तै यस वर्षपनि थारु समुदायको सांस्कृतिक पहिचान र स्थानिय कला संस्कृतीको जगेर्ना गर्ने उद्देश्य सहित यही माघ २०,२१ र २२ गते सैनामैना ८ भड्छामा मेलाको आयोजना गरिएकोे छ । ३ दिने मेलालाई व्यवस्थित रुपले सम्पन्न गर्नको लागि रामशरण न्यौपानेको संयोजकत्वमा मेला संचालन मूूल समिति गठन गरि तयारी बढाइएको हो । त्यस्तै मेलालाई भव्य रुपमा सम्पन्न गर्नकालागि विभिन्न उपसमितिहरु पनि बनाइएको छ ।


स्थानीय स्तरमा उत्पादित सामाग्रीहरुको प्रदर्शर्नीका साथै विभिन्न समुदायका सांस्कृतिक पहिचानहरुलाई संरक्षण गर्दैै स्थानीयस्तरका प्रतिभालाइ उजागर गर्न मेलाले महत्वपूूर्ण भूूमका खेल्ने मेला संचालन मूूल समिति संयोजक रामशरण न्यौपानेले बताए । मेला अवधीभर राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती सहित विभिन्न खेलकुद तथा विबिध सांस्कृतीक कार्यक्रम हुने सांस्कृतिक संयोजक राम बहादुर थारुले जानकारी दिए । उनका अनुुसार ३ दिने मेलामा रक्तदान, सैनामैना नगरस्तरिय वडा कप भलिबल प्रतियोतिगा, सैनामैना नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत बिद्यालयहरुबिच लोक नृत्य प्रतियोगिता, चौथो भड्छा डान्सिङ आइडल, वडा स्तरिय झुमडा नाच प्रतियोगिता तथा अन्य खेलकुदका कार्यक्रमहरु संगै थारुहरुको सांस्कृतिक नृत्य झुमडा नाच, झर्रा, मयुर नृत्य तथा कमेडी शो लगायत विबिध कार्यक्रम रहने छ ।

यो महोत्सव केवल रमाइलोका लागी मात्र नभएर स्थानीय कलाकारको प्रतिभावलाई उजागर गर्ने पेलेटफर्मको रुपमा अगाडि बढिरहेको बताउँदै डान्सिङ्ग आइडलमा भोटिङ सिस्टम नहुने सास्कृतिक संयोजक थारुले बताए। महोत्सवमा विशेष गरि विभिन्न समुदायले पकाएको परिकारका स्टलहरु तथा स्वदेशमै उत्पादित कृर्षीजन्य उत्पादनलाई प्रर्दशन गरिने छ ।३ दिन सम्म संचालन हुने मेलालाइ सम्पन्न गर्नका लागी करिब साढे ५ लाख खर्च हुने आर्थिक संयोजक बुद्धिराम चौधरीले बताए । जसका लागी सैनामैना नगरपालिकाको ३ लाख सहयोग अन्य विभिन्न निकायबाट सहकार्य गरी मेला आयोजना गरिएको उनले बताए ।


रातिमा मेलाको रौनक
जब साँझ पर्छ, भड्छा आसपासका थारू समुदाय मेलास्थल पुग्छन्। रूपन्देही मात्र नभई कपिलवस्तु, नवलपरासी, दाङसहित पश्चिमका थारू समुदाय यहाँ मेला भर्न आउँछन्। रामलीला एवं महाभारतका नाटक मञ्चन हुने मेलालाई थारूहरूले माघी औंसी मेला पनि भन्छन्। रातिको दुई बजेसम्म भड्छा गाउँ मेलाले गुन्जिन्छ ’यो मेला थारूहरूको इतिहास हो, भड्छाका अगुवा बुद्धिराम चौधरीले भने, ‘थारूहरू सयौं वर्ष पहिलेदेखि यस क्षेत्रमा बस्थे भन्ने प्रमाण भड्छा महोत्सव हो।’ भड्छाले अहिले पनि लोप हुँदै गएको थारू संस्कृतिको जगर्ना गर्दै आएको उनको दाबी छ।

अहिलेको मेलाको पनि औपचारिक उद्घाटन माघ २० गते साझ ८ बजे हुने छ । मेला गरिने स्थल खोलाले बगाएपछि अहिले निजी जमिनमा मेला हुँदै आएको छ । थारू संस्कृतिमा पनि आधुनिकता भित्रिएको छ। रातिको समयमा मात्रै भइरहेको मेलालाई दिउँसोमा पनि गर्ने गरिएको छ। परापूर्वकालमा मेघा भन्ने तालमा माछा पाल्ने र बिक्री गरेर मेला आयोजना गर्ने गरिएको किंवदन्ती छ। सोही स्थानमा एकजना ऋषिले तपस्या गरेको र हरेक माघे औसीमा मेला आयोजना गर्ने गरेको बताइन्छ। थारूहरूले यसलाई आफ्नो इतिहासका रूपमा लिँदै आएका छन्। रातिको समयमा चल्ने मेला माओवादी द्वन्द्वकालमा समेत नरोकिएको एैतिहासिक यो मेला आफूहरूको पहिचान र इतिहास भएकाले यसलाई जोगाइराख्ने अभियानमा यहाँका थारू समुदाय लागेका छन्। भड्छा मेला अहिले थारू समुदायको मात्रै नभई सबैको साझा मेला बनेको छ।


चौथो डान्सिङ्ग आइडलको अडिशन माघ १९ देखी , नो भोटिङ सिस्टम


मेलामा आयोजना गरिएको चौथो भड्छा डान्सिङ आइडलको अडिशन माघ १९ गते हुने भएको छ । अडिशन पश्चात फाइनलमा अन्तिम ५ जनाले प्रतिस्पर्धा गर्ने व्यबस्था मिलाइएको छ । आइडलको प्रथम हुनेले नगद १० हजार सहित विभिन्न पुरस्कार तथा दोस्रोले ७ हजार तथा अन्य टप ३ जनालाइ जनही २ हजार नगद ले पुरस्कृत गरिने भएको छ । आइडलमा भोटिङको व्यवस्था नभएको आयोजकले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।