ताजा अपडेट »

राजनीतिक स्तुतिः त्वमेव सर्वं

मंगलबार, २७ पुस २०७८, १७ : ०३
4 Shares

तिमी नै सबै हो। सरकार प्रमुखबाट ठ्याक्कै यस्तै भाव अभिव्यक्त भएको थियो। नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रीय महाधिवेशनमा ‘एकल निर्णयले मात्र आन्दोलन पूरा नहुने देखेर नै शान्ति प्रकृयामा आएको’ अभिव्यक्ति दिएका प्रचण्डलाई देउवाले भने ‘प्रचण्डको अगुवाइमा संविधानसभाबाट संविधान निर्माण भएको हो ।’ प्रजातन्त्रको पर्यावाची भनिने नेपाली कांग्रेसको सभापतिको त्यो अभिव्यक्ति वास्तवमा प्रजातन्त्रको उपहास हो।

त्यो कस्तो अभिव्यक्ति हो ? कुटनीतिक अभिव्यक्ति हो वा शकुनि शैलीको कुनीतिक अभिव्यक्ति हो वा रणनीतिक अभिव्यक्ति हो वा ठट्यौली अभिव्यक्ति हो । त्यो त्वमेव सर्वंको अभिव्यक्ति हो। प्रचण्डलाई फुरुङ्ङ पार्न र एमसीसी पारित गर्न देउवाले राजनीतिक पत्ती फ्याँक्या हो। जनता माझ चर्चा छ। तर, त्यो औचित्यहीन पत्ती हो।

किनकी एमसीसीलाई संशोधन र परिमार्जन गरेर अगाडि बढ्ने निर्णय आठौं महाधिवेशनले गरि सकेको छ।एमसीसीको बिषयमा प्रधानमन्त्रीले भने ‘एमसीसीलाई राष्ट्रघाती भन्नुभन्दा पहिले पढ्नु पर्यो। मैले कहीं राष्ट्रघात देख्दिन। म पनि नेपालको प्रधानमन्त्री हुँ। नेपाल राष्ट्रको खिलाफमा जाँउला मैले। के राष्ट्रघात गरूँला मैले। यो नेपालको हितमा छ। सित्तैँमा आएको पैसा हो यो हेर्नुस्। सित्तैँमा आएको पैसा चाहिन्न भन्छ । एमसीसीले नेपालको कानून मान्छु भन्छ तैपनि मान्दैन । राम्रोसंग बुझ्नुपर्यो क्या ।’ प्रधानमन्त्रीको अवैज्ञानिक एवम् अत्यन्त फितलो अभिव्यक्ति श्रवण गर्नेहरू चकित छन् क्या।

अभिव्यक्ति जुनसुकै विषयसंग सम्बन्धित भएतापनि त्यो अभिव्यक्ति सरकार प्रमुखको पद प्रतिष्ठा सुहाउँदो,पार्टी सभापतिको गरिमा सुहाउदो,पार्टी तथा सम्पूर्ण नेता कार्यकर्ता र समर्थकहरूको शिर ठाडो हुने खालको हुनु पर्थ्यो। तर त्यस्तो रहेन। एमसीसी बिषयमा सरकार प्रमुख तथा पार्टी सभापतिको अभिव्यक्तिले नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रीय महाधिवेशनमा हँसाउने ग्यासको (laughing Gas ) काम गरेको सर्वत्र चर्चा छ।

नेपाली कांग्रेसमा आन्तरिक रस्साकसी tug या war आउँदा दिनहरूमा निकै चल्ने छ। देउवासंग टक्कर ठोक्ने नेताहरू पार्टी भित्र निकै सक्रिय छन् तापनि सभापतिले तिनीहरूको गणना गर्नु हुन्न। चासो राख्न आवश्यक पनि ठान्नु हुन्न। पार्टी भित्र आफ्नो स्वार्थ राख्ने हरू ठुलो संख्यामा छन्।ती सबैलाई खर्ल्याप्प आफ्नो झोलामा राख्न देउवा सक्षम हुनुहुन्छ। किनकी अहिलेको अवस्थामा पार्टी भित्र वहाँको दरिलो पकड छ।

ऐमाले अध्यक्ष ओलीलाई तह लगाउने, किनार लगाउने र मनोवैज्ञानिक राजनीतिक तनाव दिने गठबन्धन सरकारको सहयात्री मुलतः वामपंथी नेताहरूको मुख्य ध्येय हो। यस्को लागि गठबन्धन सरकारलाई आगामी निर्वाचनसम्म निरन्तरता दिन चाहान्छन्। देउवा पनि तयार छन्। गठबन्धन सरकार टुट्यो वा देउवा हट्यो भने वामपंथी नेताहरूको मूल मकसद माथि तुषारपात हुनेछ।यस बिषयमा देउवा बेखबर छैन्। त्यसैले देउवाले कुनै कुराको वास्ता गर्नु हुन्न् ।आफ्नो अभिव्यक्ति जे जस्तो होस्, जनताले जेसुकै ठानुन,गिल्लाको हाँसो हाँस्नेहरू जतिसुकै हाँसुन मतलब छैन्।

तर नेपाली कांग्रेसलाई सभापतिको यस्तो ऐटिट्यूड (attitude) ले राजनीतिक लाभ हुन्छ हुँदैन त्यो महत्वपूर्ण बिषय हो।
आगामी निर्वाचनसम्म गठबन्धनले निरन्तरता पायो भने गठबन्धनमा सामेल वामपक्षी दलहरू र ऐमाले बीच कडा प्रतिष्पर्धा हुनेछ । ‘वामपंथी लड्डु आपसमा खुब ठोकिए चिनी जति आफ्नो भाँडोमा’ भन्ने भ्रममा नेका रहे जस्तो छ। आगामी निर्वाचन सोचें जस्तो सहज हुनेछैन । वामपंथी दलहरू बीच पुनः एकताको गन्ध आउन थालेको छ। नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रीय महाधिवेशनमा ऐमाले महासचिव शंकर पोख्रेलले भने ‘नेकपा गठन ऐतिहासिक आवश्यकता थियो। तर, त्यसलाई हामीले जोगाउन नसकेकोमा मलाई पछुतो छ। त्यस अर्थमा हामी हिडँने बाटो के हो भन्ने कुरा इतिहासको शिक्षाको रूपमा ग्रहण गर्नु जरूरी छ ।’

गठबन्धन नेपाली कांग्रेसको आवश्यकता थिएन,होइन पनि। त्यो त बामपन्थीहरूको जालो हो। गठबन्धनरूपी माकुरो जालमा नेका फसेको हो। जस्ले गर्दा नेकाको छवि खस्कँदो छ। जनआधार घट्दो छ। गठबन्धनको गति कस्तो छ। कछुवाको चाल जस्तो वा खरायो जस्तो वा कुम्भकर्ण जस्तो। छर्लङ्ग छ। वामपन्थीहरू बीचको घनचक्करको भेलमा नेपाली कांग्रेस सुरक्षित रहने सोच्नु गलत हुनेछ।

तसर्थ नेताहरूले आफ्नो हरेक पाइलाको,हरेक अभिव्यक्तिको आत्म समीक्षा गर्नु जरूरी छ। सोही अनुसार समयानुकूल परिचालित हुनु पर्दछ। त्यसो गर्नु भनेको आगामी निर्वाचनको नतिजालाई आफ्नो पक्षमा सुनिश्चित गर्ने परिणाम उन्मुख प्रयास हुनेछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।